वेगिलो मन असाध्यै व्यथित बन्छ घरिघरि शान्तिको ! कमाउन परदेशिएका श्रीमान् बेपत्ता छन् । विधवा अथवा सधवा कुन अवस्थामा जीवन तर्नु ? यही अमीमांसित मनोद्वन्द्वले खाएको दशक हुनलाग्यो । छोराहरू सानै छन् । मायाको तौल नाप्नसक्ने क्षमता छैन शान्तिको ! मायामा छोराहरूको तर्क चर्को बन्दा बिहानको एक झमट काम सकेर बलेसीमा टुसुक्क बसेकी आमा शान्ति, शान्त बन्दै भन्छिन्, – 'एकक्षण । मलाई कसले धेरै माया गर्छ, अहिले थाहा लाग्छ ।’
आमाले साडीको एक किनारामा हरियो काँचको फुटेको चुरोको टुक्रो पाँच–छ पत्रमा बेरिन् र दुवै छोरातिर हेरेर भनिन्, – 'यो दाहिने पटि ठुलेको र देब्रे पटि कान्छोको । म, यसलाई आँखा चिम्लेर भाँच्छु । जसको पटि लामो भाँच्चिन्छ, उसले धेरै माया गर्छ ।’
छोराहरू आतुरताका साथ उभिएर टुलुटुलु हेरिरहेछन् ।
'लु ! समान समान भाँच्चिएछ !’ भिज्दै गरेका परेली पुछ्दै आमा चिच्याइन् । छोराहरू आमालाई बेस्सरि अँगाल्छन् । मानौँ खडेरी परेको धरतीमा वर्षाको झरीले पुनः हरियाली छाउने छ ।
-नाग्रिजुली, असम


No comments:
Post a Comment