Tuesday, March 3, 2026

लघुकथा (अङ्क ३२ मा प्रकाशित)


कोठा छिर्ने बित्तिकै मलाई गमलम्म अँगाल्यो । अनि भक्कानिएर रुन थाल्यो ।

म उसको व्यवहार हेरेर अक्क न बक्क भए । उसलाई बेडमा बसाए । उसको टाउको छातीमा टाँसेर कपाल सुमसुमाउँदै शान्त पार्ने प्रयास गर्दै थिए । 

“तिमीजस्ती आइमाईसँग म एकछिन बस्न चाहन्न, मेरो सामान झोलामा हाल ।’’ 

“किन जानुहुन्छ घर छोडेर । यो दुईटा बच्चाहरूलाई कसरी पाल्नु म?’’ मैले बिन्ती बिसाएँ ।

“मलाई थाहा छैन ।’’ मुखै जवाफ फर्काएको थियो ।

“घर नछोड्नु घर छोडेपछि बाहिर कतै शान्ति पाउनुहुन्न, यतै समस्याको समाधान गर्नु’’ आग्रह गर्दै सम्झाउने अथक प्रयास गरेकी थिएँ । तर “विनाशकाल विपरीत बुद्धि’’ मेरो रति सुनेनन् । म रुँदै थिए । ऊ झोला उठाएर निस्किसक्यो । न त मेरो वास्ता गर्‍यो, न दुइटा बच्चालाई । म गेटमा बसेर घन्टौं रोएकी थिएँ । त्यो दिन न त प्रेम थियो न पश्चाताप । क्रोध र म प्रतिको घृणा मात्र देखिन्थ्यो । तर आज किन यति बदलेको छ, म मनमनै सोचिरहेकी थिए ।

तत्क्षण उसको हिक्कहिक्क बन्द भएको आभास भयो । उसले आफ्नो आँसु पुछ्यो । मलाई ओछ्यानमा बसायो । दुइटै पैताला हातले समातेर आफ्नो निधार राख्दै भन्यो ।

“मलाई माफ गरिदेऊ !’’ म तिम्रो माया बुझ्न नसकेर ठूलो पाप गरे । अब तिमीलाई छोडेर काहिँ पनि जान्न मेरी प्रियसी…..!’’

“यो के भन्नुहुन्छ?’’  मैले आतिँदै सोधेँ ।
“हो ! जसको लागि तिमीलाई छोडेको थिएँ । आज त्यसले मलाई छोडेर गई……!’’

-राजविराज –७ (खर्साल टोल)

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


No comments:

Post a Comment