२० वर्ष पुरा भएछ रामप्रसादले शिक्षण पेशा थालेको ।
घरबाट विद्यालयको दुरी १० किलोमिटर पर छ । २० वर्षदेखि एउटै बाटो मोटरसाईकलमा आउने जाने गर्दै छन रामप्रसाद ।
शुरूका दिनमा बाटोमा पर्ने कलात्मक ढुङ्गेधारा र धारा छेउमा उभिएको सुन्दर धर्मशालाले उनको ध्यान तानिरहन्थ्यो । त्यति सुन्दर धर्मशाला उनले हेर्दाहेर्दै बुढो र कुरूप देखिन थाल्यो । छतका टायलहरू हावाहुरीले झर्दै गए । कोठामा बिच्छ्याइएको खानेपानीको पाईप र मार्वल टायलहरू हराउँदै गए । एकदिन रामप्रसाद धर्मशालामा उत्रिए । ढुङ्गेधाराको चिसो पानी पिएर धर्मशालाभित्र छिरे । सबै सामान चोरिएको देखेर रन्थनिए रामप्रसाद । कस्ता खालका मानिस होलान सार्वजनिक सम्पत्ति पनि चोर्न सक्ने ? यस्तालाई त सामाजिक बहिष्कार गर्नु पर्छ । दुःखी मन लिएर घर फर्किए । सार्वजनिक सम्पत्तिको दुरुपयोग र चोरीको कहानी श्रीमतीलाई सुनाए । अर्को दिन विद्यालय जाँदा उनको आँखा धर्मशालामा पर्यो झ्यालको खापा नै देखेनन् । राति कसैले उडाई सकेछ । उनी एक्लै बर्बराउँदै विद्यालय पुगे । एकछिन आराम गरी ठण्डा दिमागले सोच्न थाले । यत्रो सामान हराउँदा पनि कसैलाई वास्ता मतलबै छैन । धर्मशालामा अब एउटा शौचालयमा राखिएको ऐना मात्रै बाँकी छ । त्यो पनि आज राति कसैले उडाउँछ । उनको मन अचानक बदलियो । अरूले धर्मशालाको सामान लैजानु हुन्छ भने मैले किन लैजानु नहुने ? विद्यालयबाट फर्किदा शौचालयबाट ऐना निकालेर मोटरसाईकलमा राखि रामप्रसाद सर घर जाँदै गरेको दृश्य देखियो ।
-हेटौंडा, मकवानपुर


No comments:
Post a Comment