Thursday, April 2, 2026

लघुकथा (अङ्क ३३ मा प्रकाशित)


बिहेको महिना दिन नपुग्दै रमेशले हातमा राहदानी र काँधमा ऋणको भारी बोकेर वैदेशिक रोजगारी को क्रममा साउदी अरब उड्नुपर्‍यो। भर्खरै गृह प्रवेश गरेकी दुलही रमिताका आँखा ओभानो हुन नपाउँदै रमेशले 'घर व्यवहार चलाउन र सुखी भविष्यको सपना’ बुन्दै परदेशको बाटो रोज्यो ।

सुरुका केही समय त दुईबिच मोबाइलबाट बाक्लै कुराकानी हुन्थ्यो– मिठा नमिठा, अभाव र प्रेमका । रमेशले मरुभूमिको रापमा रगत पसिना एक गरेर रेमिट्यान्स पठाइरह्यो । यता रमिता अध्ययनको सिलसिलामा शहरको कोठामा एक्लै बस्थिन् । श्रीमान्‌को अभाव, घरको एक्लोपना र भख्खर जवानीले छोएको उमेरको आवेगले भित्रभित्रै पिरोल्दै थियो । समय, परिस्थिति आफ्नो अनुकूल नहुँदा अनि फेसबुकको सञ्जालमा जोडिएको एक अपरिचित मित्रले रमिताको मन यसरी तान्यो कि उ विस्तारै अर्को पुरुषतिर आकर्षित हुँदै गइन् । रमेश उता मरुभूमिमा उमेर र सपना गलाउँदै थियो भने यता रमिता आफ्नै संसारमा भड्किइन् ।

पाँच वर्षपछि घर फर्कँदा रमेशको हातमा प्लाष्टिकले लेमिनेटेड गरेको एउटा ठूलो सुटकेस र मनमा सुखद् भविष्यको सपना थियो । तर, घर पुग्दा त्यहाँ न त स्वागत गर्ने श्रीमती थिइन्, न त स्नेह । रमिताले त उल्टै सम्बन्ध विच्छेदको कागज तयार पारेर बसेकी रहिछन् । रमेश छाँगाबाट खसेजस्तै भयो । उसले हतास हुँदै सोध्यो, "मैले के कम गरेँ र रमिता?’’

रमिताले भावहीन हुँदै भनिन्, "तिमीले पैसा त पठायौ रमेश, तर मेरो आवश्यकता यो रेमिट्यान्सले मात्र पूरा गर्न सकेनन् ।’’ रमिताको निष्ठुरीपूर्ण व्यवहार र जीवनभरको कमाइ स्वाहा भएको देख्दा रमेश अन्ततः डिप्रेसनको सिकार भयो ।

यो रमेश र रमिताको मात्र कथा होइन, हजारौँ युवाको नियति हो । राज्यले रेमिट्यान्स बटुलिरहँदा गाउँ–गाउँमा परिवारहरू भत्किरहेका छन् । यदि सरकारले स्वदेशमै उचित रोजगारी र उद्यमको वातावरण नमिलाउने हो भने, वैदेशिक रोजगारले देशको ढुकुटी त भर्ला, तर समाजलाई भने चरित्रहीन र सम्बन्धविहीन मरुभूमि बनाउने निश्चित छ । सरकारको आँखा कहिले खुल्ने?

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment