Thursday, April 2, 2026

लघुकथा (अङ्क ३३ मा प्रकाशित)


ठूलो शहरमा एउटा सम्पन्न परिवार थियो । राधा र हरि दम्पत्ति र उनका एक मात्र छोरा, आदित्य ।

उनीहरूले आदित्यलाई राम्रो विद्यालयमा पढाउँथे, महँगा लत्ता–कपडा, पुस्तक र सुख–सुविधाका सबै सामग्री उपलब्ध गराउँथे । तर व्यापारको व्यस्तता र मोबाइलमा समय बिताउने कारणले, आदित्यसँग खेल्ने वा कुरा सुन्ने समय कहिल्यै पाएनन् ।

“हामी त सधैँ उसकै भविष्यका लागि खटिरहेका छौँ ।” उनीहरू आफैँलाई सम्झाउँथे । तर आदित्यलाई केवल भौतिक आवश्यकता पूर्ति पर्याप्त थिएन । गल्ती गरेमा गाली हुन्थ्यो, तर माया गरेर बुझाउने समय थिएन । भित्रभित्रै आदित्य दुःखी हुन्थ्यो ।

एकदिन विद्यालयबाट फोन आयो— आदित्यले साथीहरूसँग झगडा गरेको रहेछ । राधा र हरि छोराको कारण लज्जित भए र रिसाए । तर कारण बुझ्ने प्रयास गरेनन् । त्यो साँझ आदित्य झ्याल छेउ एक्लै बसेको देखेर हरिले सोधे –  “हामीले त सबै दिएकै छौँ, तिम्रो सबै जरुरत पूरा गरेका छ, तिमी किन बिग्रियौ ?”  आदित्यले आँखाभरि आँसु लिएर पहिलो पटक भन्यो –  “मलाई सबै चिज होइन, कहिलेकाहीँ तपाईंहरूको साथ चाहिएको थियो ।”

यो वाक्यले राधा र हरिको मन चिरेर गयो । उनीहरूले बुझ्न थाले— सन्तानको लागि केवल भौतिक सुविधा होइन, समय, संवाद र माया पनि आवश्यक रहेछ । अभिभावक हुनु भनेको अगाडि बाटो देखाउनु मात्र होइन, पछाडि उभिएर भरोसा दिनु पनि हो ।

त्यस दिनदेखि उनीहरूले मोबाइल थन्काए, व्यापारको कामबाट अलि समय निकाल्न थाले, घर चाँडै फर्किन थाले। आदित्यसँग खेल्न थाले, उसको कुरा सुन्ने, आफ्ना कुरा सुनाउने अभ्यास गरे । गल्तीमा गाली गर्न छाडेर, मायालु तरिकाले सम्झाउन थाले । बिस्तारै आदित्य बदलिन थाल्यो । उसले एक्लोपन र डर होइन, आफ्नो छेउमा आमाबुबाको माया र साथ पाएको अनुभूति गर्‍यो । 

अन्ततः राधा र हरिले बुझे — सन्तानलाई माया, समय र संवादको वातावरणमा हुर्काउन सके मात्र सुरक्षित, खुशी र आत्मविश्वासी बालबालिका हुर्कन्छन् ।

–रमेश विकल प्रतिष्ठान मार्ग, आरुबारी, काठमाडौँ

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment