Sunday, December 29, 2024

साभार लघुकथा (अङ्क १९ मा प्रकाशित)

एक स्वतन्त्रता

- खेमराज पोखरेल   


त्यसो त मान्छे मलाई भन्थे – तपाईंको जस्तो स्वतन्त्रतापूर्वक जीवनयापन गर्न पाए पो जिन्दगी !

आज असी बर्से जन्मदिन मनाइरहेका बखत मेरा दिमागमा एउटा कुरा आयो कि के मैले स्वतन्त्र भएर जीवनयापन गरेँ ?

किनभने स्वतन्त्रताप्रेमी भएर, जीवनभरि स्वतन्त्रताको नारा बोकेर तथा स्वतन्त्रताको कुरा पुस्तकका पाना घोकेर बिते मेरा दिन । तर यथार्थमा मैले घरसँग, आमाबाबुसँग, भगवान्‌सँग, जागिरसँग, भविष्यसँग, जीवनसँग, मृत्यसँग, सरकारसँग, गुन्डासँग, धर्मसँग, प्रेयसीसँग मात्र होइन, अनावश्यक कुरामा पनि डराएर जीवन बिताएँ ।

किनभने म केटाकेटी नै छँदा मेरो जिद्दी स्वभावलाई काबुमा राख्न मेरा साँप्रामा सिर्कनामाथि सिर्कना लगाउँदै 'अरूसँग त डराइनस् डराइनस् पाजी ! आफ्नै भविष्यसँग त डर मान् । भगवान्‌सँग र समाजसँग त डर मान् मुर्ख ।'  भन्दै कड्किएका थिए मेरा बा ।

पाजी र मुर्ख उपमा पाएपछिको त्यो दिन म पनि जिद्दी के कम आकाशतिर हेरेर बेस्सरी कड्किएको थिएँ,  'ए भविष्य ! ए भगवान् ! ए समाज ! खोइ मेरो स्वतन्त्रता ?'


---------------------------------------

.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment