अनुगञ्ज घरको छेउमा एउटा सानो बाँसको टोड्को थियो । त्यही टोड्को भित्र वर्षौं देखि एउटा परेवा–जोडीले आफ्नो संसार बुनेका थिए । बिहान उनीहरूको गुञ्जनले आँगन ब्यूँझिन्थ्यो, साँझ उनीहरू एकअर्काको पखेटामा दिनको थकान बिसाउँथे । हरेक ऋतुमा पोथीले दुईवटा सेता 'फुल’ फुलाउँथी । ती फुलहरू उनीहरूको भविष्य थिए । तर हरेक पटक, कुनै न कुनै बिहान, ती फुल टोड्को मुनि चकनाचुर भेटिन्थे । कहिले हावालाई दोष दिए, कहिले बाँसको डोलाइलाई, कहिले आफ्नै भाग्यलाई । आँखा रसाउँथे, तर अर्को ऋतु आउँदा उनीहरू फेरि त्यही सपनाको खेती गर्थे ।
वर्षौं बिते । असफलताले उनीहरूलाई हार्न होइन, सोच्न सिकायो । एक दिन भाले परेवाले टोड्कोको छेउमा कालो प्वाँखको एउटा सानो टुक्रा भेट्टायो । त्यसपछि उसले धेरै दिनसम्म केही बोलेन । ऊ केवल हेरिरह्यो—वरिपरि, माथि, रुखका हाँगाहरू र छिमेकका छानाहरू ।
अन्ततः रहस्य खुल्यो । टोड्को माथिको सिमलको हाँगामा एउटा काग सधैँ उनीहरूको अनुपस्थितिको प्रतीक्षा गर्दोरहेछ । उनीहरू दाना खोज्न उडेपछि ऊ चुपचाप ओर्लिन्थ्यो । अण्डा खान होइन—पहिले भुइँमा खसाल्थ्यो, त्यसपछि फुटेका टुक्रामध्ये आफ्नो भाग खोज्थ्यो । यसपालि उनीहरूले निर्णय गरे । अब देखि एउटा परेवा कहिल्यै गुँड खाली छोड्ने छैन ।
ऋतु फेरियो । फेरि दुईवटा सेता फुल पारे । काग फेरि आयो । ऊ टोड्कोको मुखसम्म झर्यो । भित्र आँखा जुधे । एकछिन दुवै निस्पन्द रहे । अचानक काग पछाडि हट्यो । उसले पहिलोपटक त्यो गुँड छुन सकेन । र, धेरै वर्षपछि, टोड्को भित्रबाट अण्डा फुटेको आवाज आयो । त्यो केवल चल्लाको जन्म थिएन । त्यो विश्वासको पुनर्जन्म थियो । किनकि संसारमा सबैभन्दा धेरै सपना भाग्यले होइन, हामीले नचिनेका कागहरूले फुटाइरहेका हुन्छन् ।
- चाबहिल, काठमाडौँ


No comments:
Post a Comment