लघुकथाकार शोभा अधिकारीको आमाको आँखा नामक लघुकथा सङ्ग्रह पहिलो कृतिको रुपमा २०८२ सालमा प्रकाशित भएको छ । यसभित्र उनले लेखेका मृत्यु, शङ्का, मेरो राजा, बच्चा, मातृभूमि, थर, उपहार ४२ वटा लघुकथा राखिएका छन् । मृत्यु शीर्षकको पहिलो लघुकथामा हाम्रो विद्याले पनि काम गरेन । आज पनि म बारबार हजुरबाको उही प्रश्न सम्झिरहन्छु धन ठुलो कि विद्या ठुलो ? भनेर प्रश्न गरिएको छ । शङ्का शीर्षकको लघुकथामा उनीलाई एक्लै कोठामा छोडेर हिँडेको पनि दुई दिन भइसकेको थियो । रातिको ड्युटी एमआरपी पासपोर्ट बनाउन नेपाली दुतावास जानै पर्ने बाध्यता थियो । उनी पढ्छु त भन्थिन् तर चौबिसै घण्टा फेसबुक, ट्विटर, इमो, भाइबर र म्यासेन्जरमा देखिन्थिन् । तैपनि मलाई सम्पर्क गरिनन् भनेर शोभाले लेखेकी छिन् ।
यो लघुकथाको आकार सानो भए पनि विचार र सन्देश प्रवाहमा फराकिलो दृष्टिकोण हुने लघुकथाको सामर्थ्यले नै पाठकलाई प्रभावमा पारेको छ । लघुकथाको विषय, सन्दर्भ, उठान, द्वन्द्व, उत्कर्ष, परिणाम जति प्रभावकारी बनाउन सक्यो, उति नै लघुकथा शक्तिशाली बन्दछ । लघुकथाकारले भाषिक मिठास सहित सानो आकारमा कथावस्तुको सूक्ष्म प्रस्तुति, न्यून व्याख्यान र चरित्र चित्रण, व्यङ्ग्यात्मक समापन सहितको मुक्तकीय झड्का दिनसक्दा लघुकथा शक्तिशाली हुन्छ ।
मेरो राजा शीर्षकको लघुकथामा बिहेको दिन जोनले कानमा खुसुक्क भन्यो । लाजले भुतुक्क भएँ । राजासँग गला मिलाएर जग्गेमा बस्न पाएको भए झन् कति राम्रो देखिन्थे होला ? मेरो बेहुला राजा मनमनै भनेँ । बच्चा शीर्षकको लघुकथामा एकाएक जीवन हरायो । दुई दिनसम्म भाउजूले मलाई कोठाभित्र थुनी । भोकले रनथनिन्थे, भित्ता कोपार्थे, पेट मिच्थे, उफ्रन्थे, कराउँथे । कोही आउँदैन थिए । बाबु बाबु भन्थे । ऊ पनि मेरो आँसु पुछ्न आएन भनेर लेखिएको छ ।
मातृभूमि शीर्षकको लघुकथामा व्यवस्था नै परिवर्तन गर्न सक्ने सम्भावना त देख्दिनँ तर जनताको दलप्रति जागेको वितृष्णा, निराशा हेर्दा केही नयाँ सम्भावना त देख्दिनँ तर जनताको दलप्रति जागेको वितृष्णा, निराशा हेर्दा केही नयाँ दुर्घटना निम्तिन्छ कि जस्तो लागेको छ भनेर लेखिएको छ ।
उपहार शीर्षकको लघुकथामा सबै कुरा मैले नै गर्नुपर्ने । उसको भूमिका, दायित्व केही थाहा छैन । घाटमा मान्छे कुरेको जस्तै हुने यो पेसा । पर्यटकीय क्षेत्र पोखरा भए पनि व्यापार पटक्कै छैन भनेर कथाकारले लेखेकी छिन् । राजनीतिक शक्तिका आडमा हुने गरेका बेथिति, सांस्कृतिक विकृति र विचलनमाथि व्यङ्ग्य गरेका यस सङ्ग्रहभित्रका लघुकथाहरू चोटिला बनेका छन् ।
धोका शीर्षकको लघुकथामा श्रीमती ल्यापटप चलाउँदै सुन्ने मात्र काम गर्थिन् । रवीनलाई पत्रिकाको सभाचारले भन्दा जागिरको विज्ञापनले आकर्षित गरेको छ । म्याडमलाई लिएर जागिरका लागि आवेदन दिन कार्यालय धाउन थालेपछि बिरामी श्रीमतीलाई समेत अस्पताल जचाउँन जान भ्याएन भनिएको छ । कथाकार शोभाले आफूले देखे, भोगेका र अनुभव गरेका तीता टर्रा अनुभूतिजन्य घटनालाई विविध शीर्षक दिएर कथामा उनेकी छिन् ।
भाइ शीर्षकको लघुकथामा भाइले भन्न खोजेको कुरा सुजितले सुझ्दैनथ्यो । एक दशकपछि सुजित नेपाल फर्कियो र परिवारसहित घरतिर लाग्यो । सुजितलाई अंशबाट बञ्चित गर्ने भित्री योजना भैसकेको रहेछ ।
नेपाली समाजमा देखिएका र नदेखिएका नारीपुरुषको सम्बन्धलाई उतार्ने काम लघुकथाहरूमा भएको छ । समाजको यथार्थलाई उतारेर विकृति र विसङ्गतिको विरोध गर्दै समाज सुधारको अपेक्षा पनि लघुकथाकार शोभाले गरेकी छिन् । निर्वासित जीवन शीर्षकको लघुकथामा श्रीमान्ले पठाएको चिठ्ठी पाएपछि उहाँ सञ्चै हुनुहुन्छ भन्ने थाहा पाएपछि घर छाड्ने निर्णय गरे । लामो समय भारतमा हामीले निर्वासन जीवन वितायौ भनेर लेखिएको छ ।
कथा आफैमा पूर्ण भएजस्तै लघुकथा पनि स्वयम्मा पूर्ण हुन्छ । अर्थात् लघुकथा कथाको संक्षेपीकरण होइन । लघुकथा आख्यानको लघुतम वा सूक्ष्मम विधा हो । लघुकथा छोटो हुन्छ तर पूर्ण हुन्छ । छोटो आयाममा जीवन र जगत्लाई समेट्नु लघुकथाको विशेषता हो ।
कृतिः आमाको आँखा (लघुकथासङ्ग्रह)
लघुकथाकारः शोभा अधिकार
प्रकाशकः बुद्ध पब्लिकेशन प्रा.लि.
संस्करणः वि.सं. २०८२ पहिलो
मूूल्यः रु. २७५/–, पृष्ठः ८८
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


No comments:
Post a Comment