आँखामा आँसु ओठमा हासो सायद रुन्चे हाँसो थियो त्यो ।
एकोहोरो बर्बराइरहेकी थिइन् उनी । म उनको नजिक पुगे । जिङ्ग्रिङ्ग कपाल, आँखा वरीपरी बसेका निला धर्सा, मुजा परेका निधार, ओठमा कलेटी, बेरङ्गी गाला । अन्जान नै भए पनि मलाई उनको हालत देख्दा असैह्य भयो । आमा तपाईंलाई सन्चो छैन हो ? मैले सोधेँ ।
उनले आँखामा बलियो बाँध लगाउँदै भनिन्, "सन्चै छु बाबु । मलाई बिसन्चो बनाएर बन्दुकको नाललाई हाईसन्चो भएको छ । त्यसैले म सन्चै छु ।’’
उनको कुराले कता कता मेरो मन चसक्क छोयो ।
सार कुरा भने बुझ्न सकिन ।
मैले फेरि मलिन स्वरमा सोधेँ, "अनि तपाईंका सन्तान ?’’
मेरा सन्तान मेरा हुन सकेनन् देशका भए । उनले अलिअलि ओठ कमाउँदै भनिन् । म अझै अर्धनिद्रामा छु झैँ लागिरहेको थियो । उनको बोली हाउभाउ हेर्दा मैले उनको पीडा महसुस गरे तर बुज्न सकिन ।
चिन्ता नलिनुस् आमा तपाईंका साहसी सन्तान देश बनाएर फर्कनेछन् । मैले भनेँ ।
उनले मेरो आँखामा ऐना हेरिन् । भत्किए उनको आँखाको बाँध । गालाबाट कानलाई छुँदै बगेका कुलो घाँटीमा माला बने । उनले पोल्टोबाट सेतोमा रातो रगतले जेन–जी लेखेको एउटा जुत्ता निकालेर भनिन्, "बाबू खबर आयो । उनीहरू आएनन् । अब कहिल्यै आउँदैनन् ।’’
कुरा सुनेर म निःशब्द भएँ । उनका आँसु पुछ्न सलबलाइरहेका मेरा हातहरू अघि बढ्न सकेनन् । मेरो मुखबाट फुत्त निस्कियो, धिक्कार ! मेरो देश । उनले मुटु छाम्दै भनिन्, ॅॅदेशलाई गाली नगर्नुस् बाबू यहाँ दुख्छ । यो स्वर्गको टुक्रालाई हामीहरूले नै मसानघाट बनाएका हौँ । विकासको नाममा विनाश गरेर परिवर्तन खोज्नु हाम्रो मूर्खता हो ।’’ हजारौँ सपना बोकेर हिँडेका मेरा आँखाले आमाको हृदय र जेन–जी जुत्तामा यथार्थ देखेँ ।
-काभ्रे


No comments:
Post a Comment