Monday, March 2, 2026

लघुकथा (अङ्क ३२ मा प्रकाशित)


"नेपाल दुई ढुङ्गा बीचको तरूल हो ।’’ मेरो  कानमा आवाज गुञ्जियो । 

पल्याकपुलुक चारैतिर नियालेँ । कोही थिएन । आफू भने सिँहासनमा विराजमान थिएँ । राष्ट्रनिर्मातालाई सम्झेर प्रणाम गरेँ । मनमा विचार आयो,  "आजका सत्तासिनहरूले यो उपदेशलाई आत्मसात गरेको भए यसरी नेपाल आमाले पीडा बोक्नु पर्ने थियो र ?’’ 

– अचानक बादल गर्जियो । पृथ्वीभर बत्तीको चहकिलो प्रकाश फैलियो ।  ठूलो प्रलयको आशङ्कमा म थरथरी काप्न थालेँ ।

– "ए हजुर, बिहानको साढे सात बजिसक्यो । चिया ल्याएँ । उठ्नु त !’’ श्रीमतीको आवाजले म ब्युझिएँ । 

– "कस्तो भयानक सपना देखेँ ।’’ भन्दै आँखा मिच्न थालेँ । हातमा चिया थमाएर उनी बाहिरिन् । 

– चियाको चुस्की लिँदै एक्लै बर्बराएँ,  "वाइयात ! बकवास ! आजको राजनीति !’’

– सोचको गहिराइमा डुब्दै गर्दा विद्यार्थीमा पढेको राजनीतिक इतिहास  सम्झिएँ । बि.सं १८२५, १९०३, २००७, २०१७, २०३६ साल सबै सम्झिएँ  । 

– वीरताका गाथा, शासक र शासन व्यवस्था, सहिदहरू, राजनेता र जननेता पनि सम्झिएँ । २०४६ सालको जन आन्दोलन र २०६३ सालको माओवादी आन्दोलनको यात्रामा भोगेका सबै सबै घटनाहरू चलचित्रमा रिल घुमेझैँ मष्तिष्कमा घुम्न थाले ।

– रिसले मुर्मिरिएर आफैँसँग सोधेँ,  "नेपाल आमाको वैभवताको रक्षा र सन्ततिको सपना पूरा गर्न के गर्नु ?’’

– देववाणीको आभाष भयो, ’’मुखुण्डोधारी देशप्रेमी गद्धारहरूको समूल नाश !’’

–तीनकुने, काठमाडौँ

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment