"मेरो भिझेको मनजस्तै कस्तो एकनाशले झमझम पानी परिरहेको रहेछ ?’’ रुपाले झ्यालबाट चियाउँदै एक्लै वैराग्य स्वरमा गुनगुनाइन् ।
साउनको महिना थियो । हरियो वातावरणमा हरियो पहिरनमा महिलाहरू बिहानै मन्दिर जाँदै गरेको दृश्य उनले झ्यालबाटै हेरिरहिन् । उनी एकोहोरो भएर सोच्न थालिन् ।
"ए रुपा, ५ बजिसक्यो । मन्दिर जान ढिलो भएन ?’’ उनका श्रीमान्ले झक्झकाएका थिए ।
उनी नुहाएर तयार भएकी थिइन् । कार्यालय पुग्न ढिला होला भनेर दुई जोईपोइ हतार गरेर शिवालय पुगेका थिए । मन्दिरमा पूजाआजा सकेर छेउमा लागेको हरियाली बजारमा गए ।
"साउन महिनामा महिलाको लागि हरियो पहिरन सगुन हो नि !’’ भन्दै चुरा, पोते, लुगा उनका श्रीमान्ले किनिदिएका थिए । अनायस उनका आँखा चिसिन थाले । मुटु भक्कानियो । तीन वर्षपछि आज उनी पूजाकोठामा गइन् । प्रभुसँग गुनासो गरिन्, "आखिर किन मेरो रमणलाई खोस्यौ ? म एक्लीलाई मात्र किन बचायौ प्रभु ? जबकी त्यो दिन म पनि बाइक दुर्घटना हुँदा सँगै थिए ।’’
शिवको मूर्तिमा उनले रमणको आकृति देखिन् । उनले हाँसेर भने, "मृत्यु विधिको विधान हो, प्यारी ! एउटा कुरा भन्छु मान ल !’’
उनले लाडिएर भनिन्, "भन न !’’
उनले भने, "मैले त्यो दिन किनिदिएको हरियो पहिरनमा मन्दिर जाऊ र मेरो चिरशान्तिको लागि मन्दिर गएर प्रार्थना गर ल !’’
उनले प्रतिवाद गरिन्, "समाजले मलाई कसरी स्वीकार्छ र ?’’
उनले भने, "धत् लाटी ! रातो रङ पो समाजलाई आपत्ति हुन्छ फेरि मेरो लागि समाजको सबै बन्धन तोड्न सक्दिनौ ?’’
–तीनकुने, काठमाडौँ


No comments:
Post a Comment