Saturday, August 15, 2026

लघुकथा (अङ्क ३७ मा प्रकाशित)


"रामप्रसाद, यू आर लक्की ! अब जीवित रोबोटको प्रयोग गर्नको निम्ति तिमीलाई छानेको छ । यो कामबाट तिमी विश्वप्रख्यात हुने पहिलो जीवित रोबोट हुनेछ….. , पैसा पनि हुन्छ, नाम पनि ।  आउने हप्तामा यो प्रयोग शुरु हुन्छ… ।” म काम गरिरहेको अन्तर्राष्ट्रिय विज्ञान अनुसन्धान तथा विकास केन्द्रको सिइओले मलाई बोलाएर सुनायो ।

सिइओ साहेबको कुरा सुनेदेखि न निद्रा लाग्यो, न मन नै हलुका भयो । प्रत्येक क्षण छटपटिएँ म ! मनमा अनेक कुरा खेल्न लाग्योे – यो कामले म संसारमा प्रख्यात हुन्छु, पैसा पनि पाइन्छ, तर म यान्त्रिक मानवलाई पैसा के गर्नलाई ? नाम पनि के को लागि ? यो प्रश्नको उत्तर खोज्दै असामञ्जस्यतामा नै दिन बित्दै गयो ।

आज प्रयोग गरी हेर्ने दिन ! अपरेशन गरेर यन्त्र र चिप्स शरीरमा राख्ने दिन । यो यन्त्रले मेरो दिमाग र मनलाई कण्ट्रोल गर्छ, दिमागले वैज्ञानिकहरूको आदेश बाहेक अरु सोच्न सक्दैन, मनले आफ्नैे किसिमले केही पनि महसुस गर्न सक्दैन । एउटा मात्र विकल्प के छ भने गर्ने/नगर्ने वा जाने/नजाने विचार गर्न सकिन्छ, तर कुनै पनि सोचलाई कार्यान्वयन गर्नको लागि वैज्ञानिकहरूसँग स्वीकृति लिनु आवश्यक छ, अर्कोे अर्थमा म जीवित भएपनि यन्त्र ! जीवित यन्त्रमानव !

मलाई लगेर अपरेशन टेबुलमा सुतायो । मेरो शरीरको ठाउँठाउँमा तार जोडियो, यो समयमा मलाई बेहोस भने पारेको छैन । खाटमा सुताइराखेको ममा अनेक शंका, आशंकाका लहर ओहर–दोहर गर्न शुरु भयो – अबसम्म म रामप्रसाद, एकछिन पछि म ‘म’ नभएर सिर्फ जीवित रोबोट ०१ मेरो नाम हुन्छ । रामप्रसाद त हराएर जान्छ, रामप्रसादको अस्तित्व हराएर जान्छ । म को ? मैले आफूले केही पनि गर्न पाउँदैन, म यन्त्र, रिमोटबाट सञ्चालन हुने सिर्फ यन्त्र ! मेरो आफ्नो वर्तमान हुँदैन, न स्वतन्त्रता हुन्छ, न मेरो भविष्य ! ……केही क्षणपछि म मनै नहुने विचारले जिउभरि पसिना आएझैँ प्रतीत भयो ।

अचानक म भित्र अस्तित्वबोधको चेतनाको तरङ्ग उठन थाल्यो – म ‘म’ हो, म ‘म’ भएर बाँच्नुपर्छ …बाँच्छु । यो विचारसँगै मभित्र एउटा अजिव ऊर्जा, दृढता हुर्किंदै आयो । 

शरीरमा जोडिएको तार, यन्त्र सबै चुँडालेर म टेबुलबाट जुरुक्क उठें । वैज्ञानिकहरूले ए… ए… भनिरहे । कसैलाई पनि वास्ता नगरी मैले खुट्टा ढोकातिर बढाए ।

“म रामप्रसाद भएरै बाँच्छु । म ‘म’ भएर बाँच्छु, म स्वतन्त्र, स्वतन्त्र भएरै बाँच्छु । …” भनेर म बाहिर निस्किएँ ।

बाहिर झलमल्ल घाम लागिरह्यो, घामको प्रकाशमा मेरो पाइला अगाडि बढ्यो रामप्रसाद नै भएर बाँच्ने दृढतासाथ ।

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment