ऊ सँग मूल गेटमा जम्काभेट भयो ।
‘कता जान लाग्यौ ?’ उसले सोध्यो ।
‘माथि ।’ गेटभित्रको ठूलो भवनको माथिल्लो तलातिर देखाउँदै मैले भनेँ ।
‘किन ?’ उसले फेरि प्रश्न तेर्स्यायो ।
‘म सत्ता भेट्न हिँडेको ।’ मैले मेरो भित्र जानुको उद्देश्य बताएँ ।
‘किन? के तिमी मान्छे होइनौ र ?’ उसले आधा व्यङ्ग्य र आधा आक्रोश मिश्रित शैलीमा सोध्यो ।
‘के तिमीलाई म मान्छे जस्तो लागेन ? कि तिमी मान्छे र अरु प्राणी चिन्न छोड्यौ ?’ मैले पनि अलिकति व्यङ्ग्य मिश्रित प्रश्न नै तेर्स्याएर उसलाई उत्तर दिएँ ।
‘तिमी मान्छे हौ भने माथि नजाऊ ।’ उसले आधा चेतावनी र आधा अनुरोधको भाषामा भन्यो ।
‘किन ?’ मैले उसमाथि फेरि प्रश्न तेर्स्याएँ ।
‘तिमी मान्छे परेछौ । सत्ताले मान्छे चिन्दैन, दास मात्र चिन्छ । म पनि भर्खर माथि गएर आएको । तर उसले मलाई चिनेन ।’ यसपटक उसले अलि गम्भीर भएर भन्यो ।
मैले भवनको माथिल्लो तलातिर हेरेँ ।
एकजना राजर्षी ठाँटमा अग्लो कुर्सीमा गजधम्म बसेको थियो, जसको आँखा नै थिएन ।
अरु केही भने कुर्सीमा बस्नेको दर्शनका लागि लामवद्ध थिए, उनीहरूको त झन टाउको नै थिएन ।


No comments:
Post a Comment