सार : प्रस्तुत लेखमा नेपाली साहित्यमा पछिल्लो चरणमा अत्यन्त लोकप्रिय रूपमा विकसित भइरहेको आख्यान साहित्यको एक लघुतम उपविधा लघुकथाको परिचयात्मक स्वरूपलाई सटिक सर्वेक्षण गरिएको छ । यसको साथै आख्यानका भेदहरूको तुलनात्मक सम्बन्धान्तरको चर्चा एवम् लघुकथाका विशेषताले पनि स्थान ओगटेको छ । लघुकथाको परिचय, आख्यानको विधागत सम्बन्ध र विशेषताकै सैद्धान्तिक पर्याधारमा नेपाली भाषाको समकालीन साहित्यमा नेपाली लघुकथाको प्रभाव, महत्व र थप सुधारका कार्यको सङ्केतलाई समेत सटिक रूपमा दर्साउने प्रयत्न गरिएको छ । प्रस्तुत लेखमा लेख्य विषयवस्तुलाई गुणात्मक विधिबाट प्रस्तुत गरिएको छ भने पुस्तकालय कार्यअन्तर्गत रही द्वितीयक अध्ययन सामग्रीहरू प्रयोग गरिएका छन् ।
मुख्य शब्द : लघुकथा, अन्योक्ति, अन्त्योत्कर्ष, लघुकृत, लघुतमीकृत, व्यङ्ग्यात्मक, अभिव्यञ्जना, विष्फोटक, अणु सामर्थ्य Abstract : The article presented has developed a very popular form in the last phase of Nepali literature, the narrative of the story is a scientific survey of literature as an introductory form of short stories. With this, the difference of the narrative is that the comparative relationship is discussed and the specialty of the short story. Efforts have been made to introduce short stories, legislative relations to narratives and theoretical aspects of the theoretical basis of the specialty, including the impact of Nepali short stories in contemporary literature, the importance and the work of improving the story. Key words: short story, interaction, end-of-action, miniaturized, miniaturized, subjective, expressive, explosive, nuclear power.
१. विषय परिचय गद्य साहित्यका विभन्न विधाहरूमध्ये आख्यान एउटा सशक्त विधा हो । आख्यान साहित्यअन्तर्गतको लघुत्तम आयाममा संरचित आफैमा पूर्ण आख्यानात्मक संरचना लघुकथा हो । आख्यान विधाको लघुत्तम प्रभेद हो । लघुत्तम संरचनामा नै जीवन र जगत्का प्रकीर्ण विषयहरूमा केन्द्रित भई लेख्न सकिने विशेषता लघुकथामा हुन्छ । युगीन यथार्थको सटिक एवम् चोटिलो व्यङ्ग्यात्मक शैलीमा प्रकटीकरण हुनु लघुकथाको मुख्य विशेषता हो । लघुकथाको विषयको उठान बैठानसँगै संरचनात्मक सुगठन खिरिलो बाटिएको रसीजस्तै हुनुपर्दछ । शिथिल संरचनाको अपेक्षा लघुकथामा हुँदैन । लघुकथाभित्रको लघुताले सम्पूर्ण रूपविन्यास textureलाई ठोस compact धरातल प्रदान गरेको हुन्छ (श्रेष्ठ, २०७२ : ७) । अझै भन्ने हो भने कौतुहलमूलक स्वल्प घटनाको प्रयोग, सूत्रात्मकता र गम्भीर अनुभूतिको तीव्रता व्यङ्ग्यात्मकता, प्रतीकात्मकता, ध्वन्यात्मक अभिव्यञ्जना तीव्र एवम् क्षिप्र प्रस्तुति र लघुत्तम संरचना लघुकथाका निजी विशेषताहरू हुन् । लघुकथामा आख्यानको उद्देश्यात्मक प्रकरणका भाषिक संघटकहरूभन्दा विधेयात्मक भाषिक संघटक (वाक्य)हरू उत्तरोत्तर कथाको उद्देश्योन्मुख र पटाक्षेपमूलक हुन सकेनन् भने त्यो लघुकथाको मूल मर्म शिथिल भैसक्छ । लघुकथाको संरचनामा क्रमश : आउने पछिल्ला वाक्यहरू कौतुहलतासहितको अन्त्योत्कर्षोन्मुख हुन्छन् । लघुकथाकारले नाटकीय शैलीमा अथवा अचानक चातुर्यपूर्ण तरिका (नाटकीय शैली)ले कथा समापन (twist ending) गर्दछ । १९औँ सदीमा अमेरिकी कथाकार एडगर एलेन पो, रसियन कथाकार निकोलाई गोगल र जर्मनीका हाफ्टम्यान विल्हेम ग्रिम जस्ता कथाकारहरूको कथाबाट आधुनिक कथाको उठान भएको पाइन्छ । एडगर एलेन पोले नै कथा (short story)को परिभाषा दिएका छन् । उनले परिभाषाको क्रममा यस विधाका सङ्क्षिप्तता, प्रभावात्मकता, समाख्यानात्मकता, स्वयंमा पूर्णता र कलात्मकतामाथि प्रभाव पारेको छ (शर्मा, २०६७ :१४) । आधुनिक कथा विधाको सैद्धान्तिक मूल्य निरूपण भएको पाइन्छ । कथा विधाकै प्रविधाको रूपमा लघुकथा (short short story) ले कथाको समीचीन साक्ष्यमा आफ्नो पृथक पहिचानका साथ लघुत्तम विधागत स्वत्व प्राप्त गरिसकेको छ । अहिले नेपाली साहित्यमा मात्र होइन विश्वसाहित्यमा आफ्नो पृथक उपविधागत मूल्य प्राप्त गरिसकेको छ ।
यसरी पच्छिमेली आख्यान साहित्यको चिन्तनबाट उपन्यास, कथा र लघुकथाजस्ता विधा तथा प्रविधाहरूको सैद्धान्तिक एवम् साहित्यिक उठान भएको हो । नेपाली भाषामा आख्यान साहित्यको लघुत्तम विधाको रूपमा स्थापित भइसकेको लघुकथा अङ्ग्रेजी साहित्यमा प्रचलित short short story को नेपाली रूपान्तरण हो । निश्चय नै आधुनिक सन्दर्भमा चित्रकारी कलाको क्षेत्रमा देखा परेको : miniature को अर्थात् Small is beautiful को प्रस्ट प्रभाव भाषासाहित्यको क्षेत्रमा आख्यान विधाको न्युनतम आयामयुक्त भेद लघुकथा सरल, सानो र प्रभावकारी अभिव्यक्ति क्षणभरमै दिने नवीनतम् संरचनात्मक कृतिको रूपमा देखा परेको पाइन्छ (पोख्रेल, २०६५ : ७)। लघुकथालाई फुच्चे कथा, अति छोटाकथा, कर्नर स्टोरी, माइक्रो स्टोरी, मिनी स्टोरी, चिप्स स्टोरी, मसिना कथा, सूत्रकथा, सूक्ष्मकथा, पूरककथा आदि नाम दिएको पाइन्छ तापनि अहिले लघुकथाकै नामले ख्याति प्राप्त गरेको छ । संरचनात्मक आयाममा सानो /लघुत्तम भएपनि आफैमा विचार र उद्देश्यले पूर्ण हुन्छ लघुकथा । समयका दृष्टिले सामान्यत : कम्तीमा पाँच सेकेन्डदेखि बढीमा पाँचमिनेटमा पढिसकिने कथा नै लघुकथा हुन् । उपन्यासलाई सङ्क्षेपीकरण गरेर कथा नभएझैँ कथालाई सङ्क्षेपीकरण गरी लघुकथा हुँदैन । वरिष्ठ कथाविश्लेषक दयाराम श्रेष्ठले भनेझैँ– आकारगत लघुता मात्र लघुकथाको तात्विक पहिचान होइन मुख्य कुरो त यसमा क्षणभरमै विचार र भावको प्रभावकारी विस्फोटन हुन सक्ने भित्री अणुसामर्थ्य हुनुपर्दछ (श्रेष्ठ, २०५६ : १३) । हो, लघुकथा संरचनात्मक आयाममा मात्र लघु नभई यसमा लघुकथाकारले जीवन र जगत्का कुनै एक क्षण विशेषका सूक्ष्म अंश, पक्ष तथा कतिपय सन्दर्भमा त्यति महत्व नदिइएका तर विशेष प्रसङ्गादिको चोटिलो अनुभव/अनुभूति बोकेका घटना वा प्रसङ्गादिलाई कथानक (कथ्यको आधार) बनाई निश्चित उद्देश्यार्थ/प्रयोजनार्थ चयन गरिएका स्वल्प तर खास घटनाहरूको कार्यकारण शृङ्खलामा कौतुक एवम् क्षिप्र प्रस्तुतिका साथ लघुकथाको बनोट र बुनोट निर्माण गरिएको हुन्छ । व्यङ्ग्यात्मकताका साथै विद्युतीय झिल्का (spark)/झड्का स्वरूप प्रभाव दिनसक्ने गुण लघुकथामा हुन्छ र हुनुपर्छ । लघुकथाको मुख्य घटक सारवस्तु/मूल कथ्य समग्र लघुकथाको केन्द्रीय शक्ति हो । समग्रमा साहित्यका प्रमुख विधाहरूमा कविताको न्यूनतम आयाममा संरचित उपविधा मुक्तक, रूपक विधाको लघुत्तम विधा लघु नाटिका र निबन्धको लघुत्तम विधा टिपोट भएजस्तै आख्यानको लघुकथा हो । आख्यानको उपविधागत वर्गीकरण गर्दा न्यूनतम/ लघुत्तम रूप लघुकथा, मझौला रूप कथा र बृहत् रूप उपन्यास भन्न पनि सकिन्छ भने अर्कोतर्फ आख्यानको बृहत् रूप उपन्यास, लघु रूप कथा अनि कथा विधाको लघुत्तम भेद/प्रभेदात्मक रूप लघुकथा हो पनि भन्न सकिन्छ । समय सापेक्ष लघुकथाको आफ्नै स्वायत्ताको अभिलक्षण हो । औद्योगीकरण र उत्तरआधुनिकतावादी चिन्तनको व्यस्त प्रभावले पनि साहित्यको उपविधागत वर्गीकरणमा अप्रत्यक्ष भूमिका खेलेको हुन्छ (पोख्रेल, २०६०ः १४) । यस भनाइको प्रभाव लघुकथामा प्रस्ट परेको छ । लघुकथाको वाक्यात्मक तहमा वा शब्दगत तहमा सङ्क्षिप्तता/लघुता कति हुने ? यसको कुनै मापदण्ड छैन । यस सन्दर्भमा विनय कसजू लेख्छन् “लघुकथा कति छोटो हुन्छ भन्ने कुनै सीमा छैन । कति शब्द हुने ? वा कति वाक्य हुने ? यस सन्दर्भमा कुनै निर्धारित शब्द/वाक्यको स्पष्ट धारणा छैन र हुनु पनि हुँदैन । किनकि साहित्य विशिष्ट विचार, रागात्मक अनुभव र अनुभूतिको कलात्मक भाषिक सम्प्रेषण भएकाले आवश्यक्तानुसार लचिलो लघु संरचना हुनु नै राम्रो मानिन्छ । एक वाक्यका लघुकथा पनि लेखिएका छन् । अर्नेष्ट हेमिङ्गवेले अहिलेसम्मको सबैभन्दा छोटो लघुकथा लेखेका छन् जसमा केवल छ शब्द छन् । कथा यस्तो छ : for sale : baby shoes, never worn । (बिक्रीमा शिशुका जुत्ता, कहिल्यै नफाट्ने) (कसजू, २०६५ :३५) । नेपाली भाषामा यस्तै सर्वाधिक थोरै पाँच शब्दमा प्रा.डा कपिलदेव लामिछानेको बोन्साई (२०६८) लघुकथा सङ्ग्रहको अन्तिम पृष्ठको सानो बुढो शीर्षकको कथा रहेको छ जुन यसप्रकार छ : सानो बुढो थियो । सानैमा मर्यो (लामिछाने, २०६८ : ९६) । नेपाली भाषा साहित्यमा लघुकथाको उठान संस्कृत भाषामा रचित पञ्चतन्त्र र हितोपदेशका नीति कथा, उपदेशात्मक कथाको नेपाली अनुवाद अनि वि.स १८००तिर गोर्खावंशावली नामक सानो ग्रन्थमा रहेका सतसँगको वर्णन भयाको कथाहा (पृ.१८), राजा, प्रपञ्चैको व्यहोराको एउटा खिस्सा (पृ. ९७–९८), जे.ए. एटनको व्याकरण (१८७७) पुस्तकमा लेखिएका मुन्सीका तीन आहानहरू १८७६ त्यस्तै नेपाली भाषाका लोकप्रिय कथाकार विश्वेश्वरप्रसाद कोइरालाले हिन्दी भाषामा भारतको वनारसबाट प्रकाशित हुने हंस पत्रिकामा पथिक (१९८७), आफैले झैँ (१९८८), भैयादाइ (१९८८) शीर्षकमा लघुकथा लेखेको पाइन्छ । उल्लिखित लघुकथाहरूको पृष्ठभूमिमा पूर्णप्रसाद ब्राह्मणले आधुिनक लघुकथाहरूका सङ्ग्रहरूका रूपमा झिल्का वि.स. २००७ र लोग्ने २००८ सालमा प्रकाशित गरेको पाइन्छ । त्यसपछि जयनारायण गिरीको कसिङ्गर २००८, शशिकला शर्माको उनको सुरुवाल २०१९ आदि हुँदै २०३०को दशकपछि गोजी पत्रिका, हवाई पत्रिका अनि विभिन्न विषय प्रसङ्गहरूलाई समेट्दै अन्य धेरै लघुकथाकारहरूका लघुकथात्मक रचनाहरूले विद्यमान समयसम्मको यात्रामा मूर्तरूप लिइरहेका छन् । अब नेपाली भाषामा लघुकथा सिर्जनाको तहमा मात्र सीमित नरही आख्यानको एउटा समालोचना र अनुसन्धेय स्वतन्त्र विधाको रूपमा स्थापित भएको छ । अब लघुकथा बालशिक्षाको तहका पाठ्यक्रमदेखि लिएर माध्यमिक तह र विश्वविद्यालयका पाठ्यक्रममा साहित्यिक विधाकै रुमा मान्यता पाउन थालेको देखिन्छ ।२. आख्यान विधाका उपविधाहरू बीचको अन्तर मूल विधा आख्यानका उपविधाका रूपमा लघुकथा, कथा र उपन्यास स्थापित भइसकेका छन् । आख्यानका सबै विधा उपविधाहरूको रचनाविधानका तङ्खवहरू घटना (विषयवस्तु/कथानक), पात्र, परिवेश, भाषाशैली, आयाम, दृष्टिविन्दु, उद्देश्य आदि समान भएपनि प्रस्तुति, आवश्यक्ता, औचित्यता र प्रयोजनको आधार हेरीकन हरेक विधामा यी तङ्खवहरूको उपयोग फरकफरक ढङ्गबाट गरिन्छन् जसरी एउटै खाद्यवस्तु गहुँको पिठोका अनेक परिकार । लघुकथा लघुतमीकृत आख्यानको प्रतिफलन हो भने कथा लघुकृत आख्यानको प्रतिफलन हो । लघुकृत आख्यानका रूपमा जसरी कथा स्वतः पूर्ण र स्वनिष्ठ हुन्छ त्यसै गरी लघुतमीकृत रूपमा लघुकथा पनि स्वतः पूर्ण र स्वनिष्ठ हुन्छ (शर्मा, २०६६ः १७९) भनेर मोहनराज शर्माले लघुकथाको स्वायत्ततामाथि प्रष्ट पारेका छन् । लघुकथा, कथा र उपन्यासजस्ता विधाहरूको संरचनात्मक निजात्मकतामा केही फरक भिन्नताहरू देखिन्छन् । यहाँ लघुकथा र कथा विधाको बीचमा अझै पनि स्पष्ट रेखाङ्कनको अभावले लेखक तथा पाठकमा सन्देह पैदा गरेको छ । उपन्यासमा यो समस्या छैन । यस परिप्रेक्ष्यमा लघुकथा र कथाको स्पष्ट रेखाङ्कन प्रस्तुत गरिएको छ । जसरी उपन्यास सङ्क्षेप कथा होइन त्यसरी नै कथाको सङ्क्षेप लघुकथा पनि होइन । संरचनागत आकार मात्र लघुकथाको पहिचान नभई विषयवस्तु/घटनाको आयाम, पात्र, मूल कथ्य/सार वस्तु परिवेश, समासात्मक/आलङ्कारिक रूपविन्यास (भाषाशैली) र कथानक गति पनि लघुकथाको मूल मर्म र धर्मलाई चिनाउने परिचायक पक्ष वा घटकहरू हुन् । यस आधारमा लघुकथा, कथा र उपन्यासको पृथकता र समानताको स्पष्ट विधातात्विक निर्धारण गर्न सकिन्छ । लघुकथा र कथामा आख्यान तत्वका आधारमा वस्तुपरक विवरणमा नभई परिणाममूलक र आयाममूलक अन्तर हुन्छ ।
लघुकथा कथा
१. आख्यानको लघुत्तम विधा/कथाको प्रविधा । दृष्टान्तबाट हेर्दा विरुवामा बोन्साइ रूप ।
२. जीवन र जगत्को सानो अर्थात् तत्क्षणको चित्रण, सामान्य/सूक्ष्म र महङ्खव नदिइएको तर विशेष अर्थ बोकेका सन्दर्भहरूको उठान लघुकथामा हुने ।
३. आख्यानको सूक्ष्म अणुमय तीव्र प्रभाव वा पानीको बुँदजस्तै सुन्दर र आफैमा पूर्ण हुने ।
४. लघुकथामा रहेको कथात्मकता पाठक तथा स्रोतालाई पार्ने प्रभाव इन्जेक्सनजस्तो हुन्छ ।
५. लघुकथाको कथानकमा बढीमा दुई घटनाको परिफेरिमा कथानक अन्त्य हुनु श्रेयस्कर हुन्छ । प्रयोजनका कारण स्वल्प घटनाको प्रयोग ।
६. लघुकथाको प्रभाव चमत्कारिक भाव, विचार, तीव्र आनन्द, तीव्र बोध, अन्योक्तिपरक सङ्केतीत जगाउने, अचानक ठेस लागेजस्तो, सुइले घोँचेजस्तो व्यङ्ग्यात्मक प्रस्तुति र एकै स्वासमा सुगन्ध लिएजस्तो अनि गहिरो विचार प्रक्षेपण गर्ने लघुत्तम संरचनाको सुगठित/कसिलो प्रारूपमा लघुकथाले स्वत्व प्राप्त गरेको हुन्छ ।
७. कौतुहलताको उत्कर्ष, मुक्तकीय चोटिलो झड्का, तीव्र सम्प्रेषणात्मक मूल्यमा संरचित हुने ।
कथा
१. आख्यानको मझौला विधा । विरुवामा सामान्य मध्यमाकारको रुख ।
२. जीवन र जगत्को कुनै एक खण्ड वा पक्षविशेषका घटनादिको मध्यम आयमको विस्तारमा जीवन्त रहने आख्यानात्मक विधा ।
३. आख्यानको खण्डीय तर मूर्तस्वरूप, मध्यम तीव्रतामा गतिशील, पानीको झरना वा लहरवत्/तरङ्गवत् स्वरूप हुने ।
४. कथामा रहेको कथात्मकता एलोपेथिक दबाइको प्रभावजस्तो हुन्छ ।
५. कथाको कथानकमा एउटै सन्दर्भका बढीमा ४–६ घटनाको शृङ्खलामा विकास भई अन्त्य भएमा राम्रो मानिन्छ । खण्डित वा आंशिक घटनाहरूको प्रयोग ।
६. पाठकमा पर्ने कथाको प्रभाव एक्सप्रेस रेलजस्तै भएपनि यसले प्रस्तुत गर्ने विषय, विचार र उद्देश्य लघुकथाको सापेक्षमा केही विस्तृत तर शिथिल, फितलो, झर्को लाग्दो र खण्डीय /मध्यम आयमको हुन्छ ।
७. कौतुहलता र द्वन्द्वात्मक उत्कर्षताको समान्य एवम् सरल सम्प्रेषणात्मक प्रस्तुति ।
उपन्यास
१. आख्यानको बृहत्/बृहत्तम् गद्य विधा । विरुवामा विशाल बटवृक्ष
२. जीवन र जगत्को सानो अर्थात् तत्क्षणको चित्रण ।
३. आख्यानको भीमकाय/विराट स्वरूप, जीवन र जगत्को सकल पक्षको लम्बेतान चित्रण वा पानीको समुद्रजस्तै विशाल हुने ।
४. उपन्यासमा कथात्मकता आयुर्वेदिक औषधीजस्तो सुस्त तर सुदीर्घ सुमधुर आनन्दसहित प्रभाव पार्ने खालको हुन्छ ।
५. उपन्यासको कथानकमा बहुल सन्दर्भ, परिवेश, बहुल घटना र बहुल प्रकरणमा विस्तार भई मूल कथानकभित्र तमाम पतका र प्रकरी कथानकहरू आउनु राम्रो मानिन्छ । बहुल घटनाहरूको प्रयोग ।
६. उपन्यासले पाठकमा पार्ने प्रभावमा तीव्रता पाइँदैन । यो लामो दूरीको लोकल रेलको यात्राजस्तै हो । यसमा अनेकौँ घटना लिएर आएका पात्रहरूको कथाव्यथा र सन्दर्भहरू अटाउन सक्ने विशेषता बोकेको बहुल उद्देश्यसहित निकै पट्यार लाग्दो यात्रा गरेको विशाल आयाममा आधारित हुन्छ ।
७. आख्यानात्मक कौतुहलता र द्वन्द्वात्मक उत्कर्ष ढिलो गतिमा विकसित भई बहुल बैचारिक सम्प्रेषणमा आधारित हुने ।
३. लघुकथाका रचनाविधानगत विशेषताहरू लघुकथा कथा नै भएर पनि सामान्य कथाभन्दा भिन्न विशेषता र मूल्यमा स्थापित हुनु नै लघुकथाको मुख्य विशेषता हो । माथि उल्लेख गरिएझैँ कौतुहलमूलक स्वल्प घटनाको प्रयोग, सूत्रात्मकता गम्भीर अनुभूतिको तीव्रता, व्यङ्ग्यात्मकता, तीव्र एवम् क्षिप्र प्रस्तुति र लघुत्तम सङ्क्षिप्तता संरचना लघुकथाका निजी विशेषताहरू हुन् । रचनाविधानका दृष्टिबाट हेर्दा लघुकथाका अभिलक्षणहरूको निरूपण गर्ने आधारहरू संरचनात्मक आयाम तथा बनोट–बुनोट, भाषिक रूपविन्यास (बिम्ब, प्रतीक, व्याङ्ग्यात्मकता, रुचिक्षेत्र (विषयवस्तुको छनोट), रोचकता/कौतुहलता र लेखनशैली एवम् भावानुकूल वाचन शैली आदि रहेका छन् । यी कुराहरूलाई आधार मान्दा–
* आख्यानको लघुत्तम विधा लघुकथामा छोटो दिक्कालिक आयाममा जीवनजगत् (प्रकृति, समाज, मानव जीवन र यसका अनेकौँ समय सन्दर्भका परिवर्तित अवस्थाहरू) का साना साना घटनाहरूलाई लिएर प्रस्तुत गरिने कथात्मक कसिलो एवम् रसिलो तात्क्षणिक चित्रण हुन्छ ।
* आख्यानझैँ लघुकथा पनि साहित्यिक सम्प्रेषणयुक्त सङ्कथन हो ।
* लघुकथा कुँदीकुँदी निमार्ण गरिएको मूर्तिजस्तो आख्यानको कृत्रिम सूक्ष्म तथा सुन्दर निर्मिति हो ।
* लघुकथाको बनोट र बुनोटमा क्षिप्र प्रस्तुतिको निरन्तर अपेक्षा गरिएको हुन्छ ।
* लघुकथामा पृष्ठभूमिको चित्रण, वर्णन, व्याख्या र विराट पक्षको विरोध गरी सटिक, बढी गहिराइसहितको अन्योक्तिपरक कथ्यको संश्लेषण लघुकथामा हुन्छ ।
* लघुकथाको समापन तीव्र, आकस्मिक, चमत्कारिक एवम् शक्तिशाली प्रकृतिको हुन्छ र हुनुपर्दछ ।
* आरम्भमा प्रच्छन्न भाषिक अभिव्यक्तिबाट विकास भई एकाएक मूलकथ्यको आकर्षक अनावरणमा प्रस्तुत गर्नु लघुकथाको जीवन्त आन्तरिक सौन्दर्य हो ।
* लघुकथामा सूत्रात्मकता र यसको अभिव्यक्ति वाच्यार्थमा भन्दा लक्ष्यार्थ र व्यङ्ग्य/ व्यञ्जनार्थप्रधान हुन्छ र हुनुपर्दछ ।
* लघुकथाको लेखनमा नवीन कौतुकका साथ सुरु नहुँदै अन्त्यको यात्रा तय गरिसकेको हुन्छ ।
* जति सक्यो लघुत्तम आयाममा लेखिनु नै लघुकथाको धर्म हो तथापि कम्तीमा दुई घटनाको चित्रणमा ५ शब्ददेखि बढीमा १५० शब्दभित्र लघुकथा लेखिनु राम्रो मानिन्छ ।
यी विशेषताहरूलाई मनन गरी कथाकारहरूले लघुकथा लेखेमा आदर्श लघुकथाको उदाहरण बन्न सक्छ ।
४. समसामयिक सन्दर्भमा लघुकथाको प्रभाव/महत्व समसायमयिक र समकालीन शब्दले समय सीमाको बोध गराउने सन्दर्भमा हालसालैको/अहिलेको /वर्तमानको भन्ने अर्थ प्रदान गर्दछन् । समसामयिक कालका कथा वा लघुकथा भनेको अहिलेको अवधिमा लेखिएका कथा वा लघुकथा नै हुन् । यहाँ चर्चाको विषय लघुकथा नै हो । समसामयिक कालमा लेखिएका लघुकथा भएपनि जीवन्त रूपमा समयानुकूल विषयवस्तु/कथानकको प्रयोग, समाज चित्रण, जीवन शैली, प्रविधि, शिक्षा, ज्ञान, मनोविज्ञान, कथाको जीवनदृष्टि तथा केन्द्रीय सारवस्तुको प्रस्तुति समयसापेक्ष नभई परम्परागत भएमा ती समसामयिक लघुकथाको परिसीमामा पर्दैनन् । समग्र नेपाली साहित्यको इतिहास परम्पराको अध्ययन गर्दा समसामयिक कालकाबारेमा केही मतविभाजन पाइन्छ । कतिपय विद्वान् तथा समालोचकले २०३० पछि (कवितामा), कतिपयले २०४० पछि (कथामा), २०३६ पछि (उपन्यास, नाटक तथा निबन्धमा) र कतिपयले २०५२ पछि (लघुकथामा) समकालीन /समसामयिक युग आरम्भ भएको भनेर समालोचकीय अभिमत रखेको पाइन्छ । यी सबै समयबिन्दुलाई हेर्दा उल्लिखित विभिन्न साहित्यिक विधाहरूमा आएका रचना विधान, नवीन प्रवृत्ति र जीवनदृष्टिका आधारमा गरिएको समकालिकताको निरूपण सापेक्षतामा गरिनु सामान्यत : उपयुक्त मान्न सकिन्छ तथापि नेपाली साहित्यको उच्च शिक्षाको शैक्षिक पाठ्यक्रमले समकालीनताको बारेमा हरेक मूल विधा र तिनका उपविधाहरूको अध्ययन गरी संश्लेषणात्मक रूपमा २०३६ पछिको नेपाली साहित्य समकालीन साहित्य हो । यसलाई उत्तरवर्ती/परवर्ती काल भनेर स्पष्ट निर्धारण गरेको छ । अब रह्यो विश्लेष्य विषय लघुकथाको समकालिकता र यसको समग्र समकालीन साहित्यमा रहेको अवस्था र प्रभावको चर्चा । लघुकथा पनि साहित्यकै एक प्रकार भएकाले समग्र साहित्यको समकालिकताबाट पृथक हुन सक्दैन । तर लघुकथाको विकासप्रक्रियाको गहिरो अध्ययन गर्दा लघुकथा लेखन परम्पराको प्रारम्भिक चरणदेखि निरन्तर सशक्त नभएको कारण लघुकथामा नवीन प्रवृत्तिको द्योतन अरू विधाको तुलनामा सामान्यतः ढिलो भएको पाइन्छ । यस सन्दर्भमा मेरो विचारमा २०४० को दशकभित्र २०४५ पछिका लघुकथाकारहरूले सचेत विधागत प्रयासका साथ बदलिएको राजनीतिक परिस्थिति र त्यसको प्रभावमा जन्मिएका मनोविज्ञान, पृथकपृथक जीवनशैली, विश्वदृष्टि, बहुल विचार, अनेकन विषय र व्यापकरूपमा नेपालकै अनेक क्षेत्रका तथा विश्व सन्दर्भका युगीन पक्षहरूको प्रकीर्णतालाई स्पर्शलाई लघुकथाहरूमा स्थान दिइएको छ साथै यस अवधिमा समीक्षा, विशेषाङ्कआदिको प्रकाशन गरी अनेक भाव र व्यङ्ग्यात्मक शैलीका लघुकथाहरू तथा लघुकथाका सङ्ग्रहहरू प्रशस्त लेखिएकाले २०४५ पछि नै नेपाली लघुकथाको समकालीनता आरम्भ हुन्छ । सँगसँगै समीक्षा लेखन, विशेषाङ्कआदिको प्रकाशन, लघुकथा गोष्ठी, कार्यपत्रलेखन, लघुकथा समाज स्थापना लगायतका तमाम कार्यहरू भइरहेका छन् ।
अहिलेका समकालीन नेपाली लघुकथाहरूले समसामयिक चेतनालाई, अहिलेको युगीन जनजीवनका सुखदुःख, जीवनका नवनव विचार, आस्था, आरोहअवरोह, सामाजिक, आर्थिक, सांस्कृति, भाषिक, राजनीतिक, ज्ञान, विज्ञान, प्रविधि, सञ्चार, नवनव बहुलवादी चिन्तन, शैली र अधुनातन विश्वव्यापी प्रभावलाई साहित्यिक मूल्यका साथ चित्रण गरी लेखिएका छन् । आजको न्यानो टेक्नोलोजीको युगमा विज्ञान तथा प्रविधिले हरेक कुरा छोटो, मिठो, छरितो, सुकिलो, आनन्ददायी, सुविधाजनक, स्मरणीय अनि सङ्ग्रहणीय बनाउनमा ध्यान दिएको छ र बनाएको पनि छ । यसैमा सबैको ध्यानाकर्षण भएको छ । कम्प्युटर, मोबाइल, क्यामेरा, यस्तै अनेकौँ विद्युतीय उपकरणहरूमा प्रयुक्त माइक्रो चिप्स जसरी बहुआयामिक प्रयोजनमा उपयोगी सिद्ध भएको छ ठिक त्यस्तै साहित्यमा पनि अब पुरानो लम्बेतान महाआख्यानको रुचिमा विश्राम भई नेपाली कविता भाग ४ मा रहेको माधव घिमिरेको काली गण्डकी कवितामा मेरो शिल्पी, यस शकलमा स्वस्थ आकार देऊ । यौटै सानो सरल कृतिमा पूर्ण संसार देऊ । (पृ.२५२) भनिएझैँ साहित्य पनि यस किसिमको सोचबाट अभिप्रेरित नभएको होइन । थोरै अभिव्यक्तिमा धेरै तथा गहिरो विचार प्रदान गर्ने उद्दश्यले तथा स्रष्टाको नवीन प्रयोगमूलक रुचि/इच्छाशक्तिका कारण हरेक मूल साहित्यिक विधाहरूमा लघुत्तम उपविधाहरूको समयानुकूल उद्भव, विकास तथा विस्तारसमेत भएको छ फलस्वरूप आख्यान साहित्यमा लघुकथाको सर्जकले सानो सरल लघुकथामा गहिरो सारपूर्ण सन्देश दिन सक्छ र पाठकले लिन पनि । वर्तमान परिप्रेक्षमा आख्यान साहित्यको छोटो आयामिक संरचनाको प्रकारको रूपमा स्थापित लघुकथा लेखन मानिसको समयसापेक्ष रुचि, चाहना र आवश्यक्ताको उपज पनि बन्न पुगेको छ । औद्योगिक र व्यवसायिक पूँजीवादको पृष्ठभूमिमा विकास भएको यो उत्तरआधुनिक युगमा बेफुर्सदिला मानिसका बहुल विचारका, रङ्गीन चित्रका प्रिज्महरूलाई अनेकौँ कोणबाट आजका लघुकथाहरूले चित्रण गरेको पाइन्छ । व्यस्त समयमा पनि आख्यानमा रुचि राख्ने पाठकको सटिक चाहना निश्चय नै लघुकथाले पुरा गरेको हुन्छ तथापि यो व्यस्तताको उपज मात्र लघुकथा होइन बरु मानिसको छोटोमा मिठो कथा भन्ने र लेख्ने रुचिको परिणाम हो भन्नु वांछनीय देखिन्छ । यस सन्दर्भमा मोहनराज शर्माको भनाइ सान्दर्भिक छ । यो (लघुकथा) व्यस्त समयको सिर्जना नभएर व्यस्त समय सुहाउँदो रचना हो । छोटो छरितो अभिव्यक्ति गर्ने इच्छापूर्तिको परिणाम हो (शर्मा, २०७२ : ४३) । आजका मानिस जति व्यस्त भएपनि उपन्यास, कथा, आत्मकथा/संस्मरण, नियात्राजस्ता विधाहरूप्रति पनि पाठकहरूको आकर्षण घटेको छैन तथापि यी विधाभन्दा लघुकथा लोकप्रिय अवश्य छ । आजको उत्तरआधुनिक प्रविधियुक्त बहुलवादी समाजको छोटोमिठो गद्य आख्यानको शैलीमा यथार्थको कलात्मक एवम् व्यङ्ग्यात्मक चित्रण गर्ने साहित्यको प्रकार लघुकथा हो । विश्वव्यापीकरणको चरम प्रभाव, महानगरीय सभ्यताउन्मुख समाज, सञ्चारको तीव्र प्रभाव, र गुगल ज्ञानको व्यापकताबाट परिचेष्टित विश्व मानव समाजलाई युगबोध गराउने सटिक साहित्य बनेको छ लघुकथा । यसकारण यस विधाको महत्व विश्वका हरेक भाषाहरूमा बढिरहेको पाइन्छ । नेपाली भाषा साहित्यको क्षेत्रमा खासगरी वि.स. २०००को पहिलो दशकदेखि विशेष गरी पूर्णप्रसाद ब्राह्मणका लघुकथाले सामाजिक आदर्श र यथार्थ अनि जयनारायण गिरीका लघुकथाले मनोवैज्ञानिक यथार्थवादी रीतिको साथै आधुनिक लघुकथा लेखनको स्वत्वको स्थापनामा महत्वपूर्ण भूमिका निरूपण गरेको पाइन्छ । श्रीओम श्रेष्ठले नेपाली साहित्यमा सबैभन्दा कान्छो विधा लघुकथा हो भन्दै वि.स. २००७ सालमा प्रकाशित भएको पूर्णप्रसाद ब्राह्मणको ‘झिल्का’ लघुकथा सङ्ग्रहलाई नेपालीसाहित्यको पहिलो लघुकथा सङ्ग्रह भनेका छन् (श्रेष्ठ, २०५६ : १०९) । यसै कृतिले लघुकथाको इतिहासमा प्रथम आधुनिक लघुकथाकार पनि पूर्णप्रसाद ब्राह्मण नै भएको पुष्टिसमेत गर्दछ । यसरी पूर्ववर्ती चरणमा यस विधाले एउटा स्पष्ट पहिचान कायम गरेपछि परवर्ती अर्थात् २०४०को दशक/२०४५ पछिका समकालीन लघुकथाहरूले परिवर्तनोन्मुख नेपालीहरूका मनका विविधताको साथै बदलिँदो समाज, संस्कृति, राजनीतिका विषमताहरू, आर्थिक अनियमितता, अराजक चिन्तनको विकास, विदेशी परसंस्कृतिको अन्धानुकरण, बौद्धिक पलायन, डायस्पोरिक जीवनका उहापोह, साइबर संस्कृतिका समविषम पक्ष, वैदेशिक रोजगारीका सबलता र दुर्बलता, शिक्षाको व्यापार, मानवताको ह्रास, सीमान्तीकृतको आवाज, राजनीतिक आतङ्क, हिंसात्मक द्वन्द्व, जातीय, क्षेत्रीय साम्प्रदायको आवाज, प्रयोगशीलता, विसङ्गति, विकृति, व्यङ्ग्य आदि विषयात्मक प्रवृत्तिलाई जीवन्त रूपमा प्रस्तुत गरेको पाइन्छ । हुन त प्रायः सबै लघुकथाकारहरूका लघुकथामा उस्तै–उस्तै खालका प्रवृत्ति पाइन्छन् तथापि केही प्रधानवृत्तिका आधारमा सर्वेक्षण गर्दा बौद्धिक, वैचारिक, साहित्यिक, प्रगतिवाद, अस्तित्व, विसङ्गतिवाद, उत्तरआधनिक छाताभित्रका अनेक वाद वा चिन्तन, सैद्धान्तिक विचार लगायतका मूल्यमान्यता बोकेका लघुकथाहरू लेख्ने लघुकथाकारहरूमा कपिल लामिछाने, हरिप्रसाद भण्डारी, श्रीओम श्रेष्ठ, इन्दिरा प्रसाईं, वनमाली निराकार, विजय सागर, अशेष मल्ल, किशोर पहाडी, नवराज रिजाल, गोविन्द गिरी, रवीन्द्र समीर, पुष्करराज भट्ट, दुर्लभलाल सिंह, आदि रहेका छन् । प्रयोगशीलता, डायस्पोरिक चेतनाप्रधान, द्वन्द्व/अभिघातमूलक, व्यङ्ग्यात्मक, प्रतीकात्मक, सामाजिक तथा राजनीतिक विकृतिउन्मुख, नीति कथामूलक लगायतका तमाम विषय प्रवृत्तिमा आधारित भएर लेख्ने लघुकथाकारहरूमा माथि उल्लिखत लघुकथाकारका अतिरिक्त विनय कसजू, प्रदीप प्रधान, जगदीश घिमिरे, ध्रुव मधिकर्मी, नवराज रिजाल, सुमन सौरभ, आमोददेव भट्टराई, किशोर पहाडी, किशन थापा अधिर, कृष्णशाह यात्री, तुलसीहरि कोइराला, सरुभक्त, अतीत लिङ्देल, विश्वराज अधिकारी, तुलसी राई….लगायत तमाम नवनवप्रतिभाहरू देखा परेका छन् । बदलिँदो परिस्थितिलाई आत्मबोध गरी आजको मान्छेका मूल प्रवृत्ति र प्रविधिले सञ्चारको क्षेत्रमा आमूल परिवर्तन ल्याइदिँदा विज्ञ, विद्वान्को स्थान गुगलले ओगटेको अनि विश्व अब हत्केलामा आएको सन्दर्भले ग्लोबल अर्थात् विश्व नै एउटा सानो गाउँ/ समाजको रूपमा विकसित भएको अवस्था छ । यस अवस्थामा बहुल, विराट सन्दर्भहरूलाई समेटेका नेपाली लघुकथाहरू आजभोलिको समकालीन साहित्यमा प्रतिबिम्बित भएका छन् । समयसापेक्ष यसको विकास मनोरञ्जन र आनन्दको विषय मात्र नभएर शिक्षा तथा आजका मानिसहरूको जीवनशैली, सामाजिक विकास र विविध क्षेत्रका युगीन यथार्थको उद्घाटन गर्नसक्ने खालका लघुकथा लेखिएका छन् । यसैकारण त यो विधा आजको नेपाली साहित्यमा मात्र होइन विश्व साहित्यमा नै निकै लोकप्रिय एवम् रुचिको साहित्यिक विषय बनेको छ । आजको समयमा लघुकथा सहरका विशेष शिक्षित विद्वान्, समीक्षक, पाठक र लेखकहरूको मात्र रुचिको विधा नबनेर शिक्षालयका विद्यार्थी भाइबहिनीहरूका आख्यानात्मक भावना सम्प्रेषण गर्ने राम्रो चौतारी बनेको छ । यसरी नै ग्रामीण तहका सामान्य पाठक, गृहिणी, पत्रकारिताको क्षेत्रका लेखकहरूको सिर्जना गर्ने सुन्दर आधार बनेको छ । सटिक प्रस्तुतिमा जीवनका गम्भीर पक्षको उद्घाटन गर्ने गुण लघुकथामा हुने भएकाले आजभोलि शैक्षिक पाठ्यक्रममा पठनपाठनका निम्ति लघुकथाहरूले स्थान पाउन थालेका छन् । यसप्रकार वर्तमान समयमा लघुकथाको प्रभाव सामान्य जनस्तरका पाठक, राजनीतिज्ञ, महिला, गृहिणी, विद्यार्थी, शिक्षक, प्राध्यापक, प्राज्ञ, कर्मचारी, डाक्टर, वकिल, नेता, अभिनेता, कलाकार सबैसबै क्षेत्रका मानिसहरूको मनमस्तिष्कमा चोटिलो प्रभाव पार्ने सुरम्य विधा बनेको छ । आजका पत्रपत्रिका र लघुकथा सङ्ग्रहहरूमा, सामाजिक सञ्जालका पेजहरूमा यत्रतत्र प्रकाशित हुने र लेखिने लघुकथाहरूको पछिल्लो सघन तरङ्ग/मात्रात्मक बाढीले गर्दा लघुकथाको उज्यालो र उच्च आशालाग्दो प्रभाव नेपाली साहित्यमा अवश्य नै देखिन्छ तरपनि साहित्यको फराकिलो फाँटमा आएका कतिपय लघुकथा पढ्दा मर्मरहित लघु मात्र छन् । फेसनको रूपमा लघुकथा भनिएको मात्र छ । गुणात्मकता कम छ । निश्चय पनि लघुकथाको सैद्धान्तिक आधार र विचारको तीव्रतालाई बोध गर्दै लघुकथा लेख्नु आजको टड्कारो आवश्यक्ता छ । लघुकथा (short short story) र छोटो कथा (short story) को पृथक् रेखाङ्कन बुझी लेख्नुपर्दछ । यसका लागि लघुकथा लेखन प्रशिक्षणका कार्यशाला गोष्ठीको समेत आवश्यक्ता देखिन्छ । स्रष्टापरक दृष्टिबाट हेर्दा अब एउटा लघुकथा सर्जकले प्रकीर्ण विषयमा मिश्रित प्रवृत्ति अङ्गालेर लघुकथा लेख्नु भन्दा अब लम्बीय प्रवृत्तिमा विशिष्ट रुचिक्षेत्रको परिधिमा लघुकथा लेख्नु पनि एउटा विशेषज्ञताको आधार बन्न सक्छ । यी कुराहरू आजका सामयिक लघुकथागत सन्दर्भहरू हुन् । अनि नेपाली लघुकथा नेपाली भाषामा मात्र सीमित नराखी राष्ट्रिय अन्तर्राष्ट्रिय भाषामा अनुवाद गरी विश्वमानव समाजमा पुर्याउनु पनि आजको आवश्यक्ता रहेको छ ।
५. निष्कर्ष लेखक र पाठकको रुचिअनुसार समयसापेक्ष युगीन यथार्थको चित्रण गर्न अत्यन्त सजिलो विधा लघुकथा हो । सरलता, सङ्क्षिप्तता, रोचकता, प्रतीकात्मक, व्यङ्ग्यात्मक, कलात्मक अभिव्यक्ति, चमत्कारिक अन्त्य र नाटकीय शैलीको साथमा साहित्यिक भाव सम्प्रेषण गर्ने आख्यान साहित्यको एक लघुत्तम भेद लघुकथाको प्रभाव अहिलेको समकालीन नेपाली साहित्यमा, विशेषगरी वि.स २०६०को दशक पछि निकै लोकप्रिय र सशक्त रहेको पाइन्छ । नेपाली लघुकथाको उन्नयनमा भएका महङ्खवपूर्ण कार्यहरू (लघुकथा समाजको स्थापना २०६५, गोपाल अश्कको लघुकथा प्रक्रिया र पाठ (२०६५) पुस्तक प्रकाशन, विनय कसजूको सम्पादनमा प्रतिनिधि नेपाली लघुकथाहरू (२०६५) नामक पुस्तक प्रकाशन, अन्तर्राष्ट्रिय लघुकथा गोष्ठीको आयोजना २०६६, २०६९मा लघुकथा सम्मानको सुरुवात, नेपाली लघुकथानामक पत्रिकाको प्रकाशन २०६९, लघुकथा मञ्चन २०७०, सामाजिक सञ्जालमा लघुकथा सञ्चालन, लघुकथा संसार, आधुनिक लघुकथा (Modern Micro Story) लघुकथा कुनोको सञ्चालन, लघुकथा पाठशालाको सञ्चालन, समयसमयमा हुने लघुकथा गोष्ठी, लघुकथा लेखन तथा प्रशिक्षण कार्यक्रम प्रशिक्षण, २०५६मा र २०७२मा मधुपर्क पत्रिकामा लघुकथा विशेषाङ्क प्रकाशन, समीक्षा, प्रतिनिधिमूलक लघुकथा प्रकाशन भएका विभिन्न तथ्यहरू जीवन्त छन् । यसका साथै विश्वविद्यालय स्तरमा स्नातकोत्तर तहमा ईश्वरीप्रसाद पोख्रेलको, दर्शनाचार्यमा हरिप्रसाद भण्डारीको र विद्यावारिधिमा डा. पुष्करराज भट्टका शोधखोजमूलक अनुसन्धानको विशिष्ट अर्थ रहेको छ ।) ले समसामयिक सन्दर्भमा लघुकथा बलियो रूपमा स्थापित भएको औचित्य पुष्टि हुन्छ । यसका साथै लघुकथामा हुने यस्ता अनुसन्धानहरूले यस विधाको उन्नयनमा बलिया सैद्धान्तिक एवम् व्यवहारिक महङ्खव स्थापित गरी विकासको गरिमालाई थप उचाइ प्रदान गर्दछन् । यी उल्लिखित सन्दर्भका धेरैजसो कार्यको सफतामा सम्पूर्ण सर्जक र विभिन्न विद्वान् समीक्षकहरूको आ–आफ्नो ठाउँबाट योगदान त छँदै छ त्यसैमा पनि मलाई लाग्छ सबैभन्दा बढी योगदान लघुकथाकार, कुशल सम्पादक, समीक्षक, नियात्राकार, संयोजनकारी नेतृत्व लिई लघुकथाको समुच्चय विकासमा सबैलाई प्रेरणा दिने, हौस्याउने, सामग्रीहरू उपलब्ध गराएर यथोचित सहयोग गर्ने, समन्वयकारी व्यक्तित्व, मृदुभाषी, बहुआयामिक प्रेरणाका धनी व्यक्तिप्रतिभा श्रीओम श्रेष्ठको योगदान आधुनिक नेपाली लघुकथाको संस्थागत उत्थानमा अविस्मरणीय रहेको छ र रहनेछ । कथा साहित्य शिक्षणको सन्दर्भमा विद्यालय तथा विश्वविद्यालयको पाठ्यक्रमहरूमा पहिले लघुकथाको नाम तथा प्रसङ्ग पनि उठ्दैनथ्यो । लोककथा, बालकथा, नीतिकथा र अहिले प्रचलित शिष्ट साहित्यका कथाहरूका बारेमा पठनपाठन गरेको पाइन्थ्यो । तर आजको समयमा प्रचलित लघुकथाले आख्यान साहित्यमा स्वतन्त्र विधागत मूल्य प्राप्त गरिसकेको अवस्थामा पनि शैक्षणिक मूल्य पाएको थिएन । तथापि अहिले भने आधारभूत तहका नेपाली विषयका पाठ्यक्रममा बालकथा, नीतिकथा र छोटाकथा/लघुकथाको माध्यमबाट समाजका विविधताको ज्ञान गराउनुका साथै सुनाइ, बोलाइ, पढाइ र लेखाइ सीप विकासको लागि उपयुक्त अध्ययन सामग्री बनेका छन् । कक्षा ९ देखि १२ सम्म त पठनबोध सामग्रीका रूपमा, साहित्यिक सिर्जनाकै स्वरूपमा लघुकथा समावेश गरेको छ । स्नातक तथा स्नातकोत्तर तहमा कथाको सैद्धान्तिक परिचय र आख्यानका प्रकारहरूको अध्ययन अध्यापन गराउने क्रममा स्पष्टतः लघुकथाको अवधारणाको विश्लेषण गरिन्छ । अहिले विभिन्न क्याम्पसमा लघुकथाकारहरूका लघुकथात्मक रचना–सङ्ग्रहलाई लिएर स्नातकोत्तर तहमा शोधकार्यको एउटा फराकिलो क्षेत्र बनिरहेको छ । यसरी समसामयिक नेपाली भाषा–साहित्यको सन्दर्भमा समग्र नेपाल र प्रवासमा नेपाली लघुकथा लेखन, पठन एवम् विश्लेषणको तहमा सैद्धान्तिक, प्राज्ञिक र व्यावहारिक अध्ययनको क्षेत्रमा अत्यन्त रुचिको लोकप्रिय विधा बनेको छ ।
सन्दर्भसामग्री सूची
– कसजू , विनय, ‘लघुकथा : गल्पदेखि झल्याँस्ससम्म,’ (२०६५), प्रतिनिधि नेपाली लघुकथाहरू (सम्पा.), काठमाडौँ : विवेक सिर्जनशील प्रकाशन प्रा. लि. ।
– त्रिपाठी, वासुदेव र अन्य (सम्पा.) (२०५४), नेपाली कविता भाग ४ (तेस्रो संस्क.), ललितपुर : साझा प्रकाशन ।
– पोख्रेल, ईश्वरीप्रसाद, ‘नेपाली लघुकथा : एक अध्ययन,’ (२०६५), प्रतिनिधि नेपाली लघुकथाहरू (सम्पा.) विनय सजू, काठमाडौँ : विवेक सिर्जनशील प्रकाशन प्रा. लि. ।
– पोख्रेल, ईश्वरीप्रसाद (२०६०) ‘लघुकथा आख्यान विधाको एक सशक्त उपविधा’ मधुपर्क, पूर्णाङ्क ४१३, वर्ष ३६, अङ्क ६, कात्तिक ।
– लामिछाने, कपिल (२०६८), बोन्साई, काठमाडौँ : विवेक सिर्जनशील प्रकाशन प्रा. लि. ।
– शर्मा, मोहनराज ( २०६६), आधुनिक तथा उत्तरआधुनिक पाठकमैत्री समालोचना, काठमाडौँ : क्वेस्ट पब्लिकेसन कीर्तिपुर ।
– शर्मा, मोहनराज ( २०७२), ‘समकालीन लघुकथा बहुलवादी प्रवृत्तिउन्मुख देखिन्छ’ –ध्रुव मधिकर्मीसितको अन्तवार्ता, मधुपर्क, पूर्णाङ्क ५५५, वर्ष ४८, अङ्क ४, भदौ ।
– शर्मा, हरिप्रसाद (२०६७), कथाको सिद्धान्त र विवेचन, ललितपुर : साझा प्रकाशन ।
– श्रेष्ठ, दयाराम (२०५६), ‘नेपाली लघुकथाको ऐतिहासिक पृष्ठभूमि तथा स्वरूप,’ मधुपर्क, पूर्णाङ्क ३६२ : भदौ । – श्रेष्ठ, दयाराम (२०७२), ‘लघुकथाको आयामिक सौष्ठुव,’ मधुपर्क, पूर्णाङ्क ५५५, वर्ष ४८, अङ्क ४, भदौ ।
– श्रेष्ठ, श्रीओम (२०५६), ‘लघुकथा र यसका प्रकाशन,’ मधुपर्क, पूर्णाङ्क ३६२, भदौ ।


No comments:
Post a Comment