Sunday, September 13, 2026

व्यक्तित्व (अङ्क ३८ मा प्रकाशित)


आधुनिक नेपाली कथा–परम्पराको 'नवचेतनाको युग’ (सं. २०२०–३९) मा कथाकार इन्दिरा प्रसाई (सं. २०१४) देखा परेकी हुन् । उनको पहिलो कथा हो 'अस्वीकृत पात्र’ (सं. २०३०) जुन विराटनगरबाट प्रकाशित भएको सामयिक सङ्कलन 'प्रेरणा’ मा अधुरी शर्माको छद्म नामबाट प्रकाशित भएको थियो । व्यवस्थापन विषयमा स्नातकोत्तर उपाधि प्राप्त गरेकी उनी प्राध्यापन कार्य गर्दछिन् । सम्पादन तथा अनुवाद कार्यमा समेत उनी अभिरुचि राख्दछिन् । 

साहित्यिक पत्रकारितामा गहिरो दक्खल भएकी उनी विभिन्न साहित्यिक सङ्घ–संस्थाहरूसँग आबद्ध छिन् । उनी 'राष्ट्रिय युवा वर्ष मोती पुरस्कार’ (सं. २०५१), 'मैनाली कथा पुरस्कार’ (सं. २०५३), 'राष्ट्रिय प्रतिभा पुरस्कार’ (सं. २०५३), 'गद्दी आरोहणरजत महोत्सव पदक’ (सं. २०५३), 'राष्ट्रिय गौरव युवा सम्मान’ (सं. २०५३), 'प्रबल गोरखा दक्षिण बाहु’ (सं. २०५८), 'वीरेन्द्र ऐश्वर्य सेवा पदक’ (सं. २०५८), 'भानुभक्त सम्मान’ (सं. २०६२), 'भद्रकुमारी घले पुरस्कार’ (सं. २०६४), 'दीपज्योति सम्मान’ (सं. २०६७), 'देरुनीख पुरस्कार’ (सं. २०६७) आदिद्वारा सम्मानित भइसकेकी छिन् । उनका प्रकाशित कथासङ्ग्रहहरू हुन् :

१. मन सायद उघ्रँदैन (सं. २०५१),
२. बयान (सं. २०५५ : लघुकथासङ्ग्रह) र
३. दोस्रो सत्ता (सं. २०६२) ।

इन्दिरा प्रसाई उपन्यास, कविता, जीवनी, पत्र साहित्य र निबन्ध विधाकी पनि स्रष्टा हुन् ।

इन्दिरा प्रसाई जीवनका विसङ्गतिहरू उद्घाटन गर्ने लघुकथाकी नारी कथा–स्रष्टा हुन् । उनले जीवनका प्रतिकूल क्षणहरू तथा दुर्नियतिहरू देखेकी छिन् । उनी के देख्दछिन् भने मिस्त्रीहरू अरूका लागि सुन्दर घरहरू निर्माण गरिदिएर आफू खुसी हुनुका साथै अरूबाट पनि प्रशंसित हुन पुग्दछन्, तर उसको आफू बस्ने घर भने अविरल वर्षाका कारणले भत्केको मात्र हुँदैन, घरले किचेर उसको परिवारका मानिसहरू सबै मरेका हुन्छन् ('निर्माणकला’ कथा)। मान्छेले कस्तोसम्म नियतिको भोग गर्न बाध्य हुनुपर्दछ भने बिरामी छोराको शीघ्र स्वास्थ्य लाभका लागि धूप–बत्ती बाली देवतासँग प्राथना गर्नुपर्दछ भने त्यही छोरो मरेमा फेरि त्यसरी नै मृत आत्माको चिरशान्तिका लागि धूप–बत्ती बालेर उनै देवतासँग कामना गर्नुपर्दछ ('आस्था’ कथा) । यसै सन्दर्भमा उनको ’बयान’ कथाको यो अंश हेरौं :

आज अदालतमा अन्तिम बयानको दिन थियो । एकातिर त्यो आइमाई एक्लै उभिएकी थिई भने अर्कातिर उसैले जन्माएका तीन भाइ छोरा, उसको लोग्ने र उसका अरू परिवारसमेत थिए ।
अन्ततोगत्वा विपक्षी उसको पति, पुत्रहरू र उनीहरूका अन्य सम्बन्धीसमेतले उसलाई चरित्रहीन घोषित गरेर सम्बन्ध विच्छेद गरिपाउन न्यायाधीशसमक्ष निवेदन गरे ।
न्यायाधीशले उनीहरूको कुरा सुनिसकेपछि स्त्रीलाई आफ्ना कुरा बोल्ने मौका दिए । स्त्रीले केही बेर आफ्ना छोराहरूमा आँखा पुर्‍याई त्यसपछि उसको लोग्नेलाई हेरिरही । उसको लोग्ने स्वास्नीलाई सार्वजनिक रूपमा चरित्रहीन घोषित गराउने प्रयत्नमा दम्भित थियो ।
'श्रीमान् ! मेरा पति पुत्रहरूले मलाई लगाएको अभियोग सत्य हो । म चरित्रहीन हुँ । तर आज अर्को एउटा सत्य पनि खोल्न मलाई मन लागेको छ । यी तीनै जना मेरा पुत्रहरूका पिता मेरा पति होइनन् ।’
स्त्री आफ्नो बयान सकेपछि अदालतबाट सरासर बाहिरिएकी थिई ।
न्यायालय मौन थियो ।

अरूलाई फसाउन खोज्दा आफैँ फस्नुपर्ने वा अरूलाई भुट्टो साबित गर्न खोज्दा आफैँ झुट्टो ठहरिने नियतिको सिकार बनेका मान्छेको विसङ्गत जीवनको चित्रण यस कथामा छ । एक प्रकारले यो व्यङ्ग्य पनि हो र हास्यास्पद पनि हो – जीवन जस्तै भन्ने धारणा कथाकार प्रसाईंको रहेको पाइन्छ । यसै सन्दर्भमा उनी के देख्दछिन् भने मान्छेले जुन कुरोलाई ठिक भन्ने गर्दछ, त्यो भ्रम मात्र हुन्छ र त्यसले दुष्परिणामलाई निम्त्याउँदछ । ’सावित्री सत्यवान्‌’ कथा) । यो कथा यस्तो छ :

'तिम्रो मुखले मेरी पत्नीको नाम उच्चारण गरेको मलाई राम्रो लाग्दैन, ऊ तिमी जस्ती होइन, पतिव्रता नारी हो ।’ सावित्रीलाई आफ्नो अँगालाबाट बाहिर फाल्दै सत्यवान्ले भन्यो ।

'मेरो पतिको पनि तिमीसँग तुलना गर्दा मलाई पाप लाग्छ, ऊ जस्तो पत्नीव्रत लोग्ने पाउन ठुलै तपस्या गर्नुपर्छ ।’ सावित्रीले पनि सत्यवान्‌लाई पन्छाएर आक्रोशित हुँदै भनेकी थिई ।

भोलिपल्टको अखबारमा सावित्रीका पतिको र सत्यवान्‌की पत्नीको समाचार छापिएको थियो । दुवैलाई प्रहरीको गस्तीले आपत्तिजनक स्थितिमा फेला पारेको थियो ।

त्यसपछिका भेटमा सावित्री र सत्यवान्‌को शिर निहुरिएको थियो ।

विश्वास र आस्थाको भ्रमद्वारा पोषित मानव जीवनका दुर्घटनालाई यस लघुकथाको मूल विषयवस्तु बनाइएको छ । मान्छेले सामना गर्नुपर्ने यस्तो विसङ्गतिबाट के कुरा स्पष्ट हुन आउँदछ भने जीवन आफैंमा भ्रम र छलकपट मात्र हो । कथा–स्रष्टा इन्दिरा प्रसाईंले आफ्नो 'प्लास्टिकको जङ्गल’ कथामा पनि भ्रममा पीडित जीवनका अनुभूति र संवेगहरूलाई यसरी स्पष्ट पारेकी छिन् :

जङ्गल सुनसान थियो । स्यालको आवाज उसकै कानमा फर्केको थियो । स्याल केही बेर पर्खिबस्यो तर कोही आएन। ऊ बिहानदेखि भोको पनि थियो । त्यसैले भोक मेट्न छेवैका रुखमा फालेका सुन्तला टोक्न लाग्यो । तर सुन्तला टोक्नासाथ त्यसवाट रसको सट्टा सुक्खा, खस्रो र खर्‍याकखर्‍याक आवाज मात्र आयो । उसले बिग्रेको सुन्तला भन्ठानेर त्यो फाल्दै अर्को टिप्यो । त्यो पनि त्यस्तै सुन्तलाको बोट उस्तो भन्ठानेर नजिकैको केराका घारीमा पसेर पाकेको केराको घारीमा ऊ झम्ट्यो । तर केराको स्वाद पनि अगिको सुन्तला जस्तै ।

त्यसपछि उसको भोक हरायो र ऊ डराएर त्यस जङ्गलबाट सुइँकुच्चा ठोक्यो ।

यस अन्योक्ति (Allegory) मा विसङ्गति बोधको अभिव्यक्ति छ, किनभने भोको स्यालको भ्रमले सुख र आनन्द वा हर्ष होइन, पीडा मात्र सिर्जना गरेको छ। यस कथामा जीवनका मरीचिकाहरूबाट सिर्जित विसङ्गत स्थितिको चित्रण गरिएको छ ।

'बहुला’, 'सहपीडा’, 'ज्युनार’, 'व्यङ्ग्य’, 'मोहत्याग’, 'मात’, 'विश्वास’, 'कुसन्तान’, 'अहङ्कार’, 'अन्तरेको फलिफाप’, 'मङ्गलीॅ, 'एउटा क्षीण सङ्कल्प’, 'शान्तिमार्ग’, 'मण्डले खोइ मण्डले’ लघुकथाहरूमा विसङ्गत जीवनका विविध पक्षहरू प्रस्तुत गरिएका छन् । कथाकार इन्दिरा प्रसाईंको विचारमा मान्छे अरूप्रति आत्मीय र समर्पित बन्दछ, तर सट्टामा विश्वासघात र निराशाको क्षण मात्र पाउँदछ ('बहुला’ कथा), मान्छेलाई एक्लोपनको अनुभूतिले भित्र हृदयमा चिमोट्दछ र अरूलाई हेरेर आफूलाई हतभागी सम्झन्छ ('व्यङ्ग्य’ कथा) र मान्छे सधैँ विश्वासको सङ्कटमा परी दुःखी जीवनलाई आजीवन स्वीकार गर्न बाध्य छ ('विश्वास’ कथा) । यसरी निराशा, उदासीनता र अविश्वासद्वारा आक्रान्त मान्छेको विसङ्गत जीवनको चित्रण गर्दै कथाकारले दुर्नियतिको सिकार बनेको मान्छेको छविलाई 'सहपीडा’ कथामा यसरी उतारेकी छिन् :

दुलहीले टाउको निहुर्‍याएर पनि आफ्ना नवविवाहित पति प्रवेशद्वारमा आइपुगेको देखेकी थिई । उसले एकनास आफ्ना पतिको पाउमै दृष्टि गाडिरहेकी थिई। सुहागरात सजाउन कोठाभरि गुलाफका फूलहरू छरिएका थिए । उसका पतिका पाउले एकएक गर्दै ऊसम्म आइपुग्ने दूरीका सबैजसो गुलाफका फूलहरू कुल्चिसकेका थिए ।

बिहान आँखा खुलेपछि सबैभन्दा पहिले तिनै कुल्चिएका गुलाफका फूलहरूमा उसको आँखा पर्‍यो ।

ऊ अकमक्क परी । त्यस बेला ती गुलाफका फूलहरूमा एकाकार आफूलाई उसले अलग्गै पार्न सकिन ।

जीवनको विडम्बना नै भनौँ । दुलहीले आफूलाई दुलाहाद्वारा कुल्चिएको गुलाफको फूलहरूसँग एकाकार भएको पाउँदछे । त्यसरी एकाकार हुनुमा आनन्द छैन, हर्ष पटक्कै छैन, मात्र छ वेदना र पीडा जुन विसङ्गत जीवनका नियतिबाहेक अरू केही होइनन् । कथाकार प्रसाईंले 'भात’ कथामा पनि मान्छेको मोहभङ्गको स्थितिलाई यसरी स्पष्ट पारेकी छिन् :

गएराति उनीहरू चारै जनाले धेरै नै पिएका थिए। उनीहरूले भट्टीबाट सडकसम्म आएको सम्झन खोजे । सडकमा एउटी आइमाई, रमाइलो र उसका प्रतिवादको ससाना चीत्कारबाहेक उनीहरूलाई केही सम्झना छैन ।

बिहान सडकका किनारामा मानिसहरू अर्धनग्न बौलाहीको लास घेरेर उभिएका थिए । प्रहरी निरीक्षक रमेशचन्द्र पनि त्यहाँ आइपुगेको थियो । हबलदारले मानिसहरूलाई लासबाट पर हटाएको थियो । रमेशचन्द्र अब लासनजिक पुगिसकेको थियो ।

रमेशचन्द्रलाई यतिखेर अचम्म लाग्यो, बौलाहीको शरीर र लुगाहरूबाट खपिनसक्नुको दुर्गन्ध आइरहेको थियो । उसलाई हिजो रातिको कुरा सम्झना भएर आयो, रक्सीको नशाले हो कि किन होला हिजो राति यो बौलाही पटक्कै गनाएकी थिइन, यति फोहोरी छ जस्तो पनि उसलाई लागेको थिएन ।

यसरी नै मान्छे एकपछि अर्को गर्दै उदाङ्गिदै जान्छ र अन्तमा खोक्रो आकारमा मात्र रूपान्तरण हुन्छ । जीवनको मूल सार भनेको नै खोक्रोमा रूपान्तरण हुनु हो भन्ने विसङ्गतिवादी चिन्तनको एउटा रूप यस कथामा भेट्टिन्छ । कथाकार इन्दिरा प्रसाईंले 'अहङ्कार’ नामक लघुकथामा पनि यसै विषयलाई यसरी अन्योक्तिमूलक शैलीमा प्रस्तुत गरेकी छिन् :

सबैभन्दा ठुलो र सर्वपूज्य म नै हुँ, तिमी किन म हुँदाहुँदै अरूको आराधना गछ्यौ ? आकाशले अहङ्कारपूर्ण लवजमा आफ्नी पत्नीलाई भने ।

'त्यसो भन्नु हुन्न स्वामी । जसले अरूको अर्काको आदर गर्न सक्छ, त्यही मात्र अर्काका लागि आदरणीय हुन सक्छ । हामीले सदा अरूको आदर गर्न सक्नुपर्छ ।’ पृथ्वीले शान्त भएर पतिलाई सझाउन खोजिन् ।

’तिमीले चाहिँ किन मेरो अनादर गरेकी ? आज तिमीलाई म कति ठुलो छु भन्ने प्रमाण देखाइदिन्छु, नपत्याए लौ हेर ।’ आकाश आक्रोशित भएर चिच्च्याउँदै फैलिन लागे । पृथ्वी पनि आफ्ना पतिलाई समाल्ने मनसायले पतिसँगसँगै लागिन् । जब आकाश अनन्तसम्म फैलिइसके, त्यस बेलासम्म उनको रिस पनि शान्त भइसकेको थियो । आकाशले गर्वका साथ आफूसँगसँगै आएकी पृथ्वीलाई अँगालोमा राख्न खोजे तर त्यसै क्षण उनी पृथ्वीभन्दा धेरै टाढा पुगिसकेको थाहा पाए । आकाश अत्तालिएर आफ्नो पूर्वरूपमा फर्कन खोजे, तर उनको यो प्रयास व्यर्थ भएको थियो । पृथ्वी पतिवियोगमा रोइरछिन् जसले गर्दा समुद्र, नदी, नाला, झरना बने … ।

तर आकाश त्यस बेलादेखि एक्लै छ । उनी आक्रोशले गर्जन्छन्, पीडाले छटपटिन्छन्, यताउति बादल भएर मडारिन्छन् । कहिले रुन्छन् र वर्षा भएर बर्सिन्छन्, कहिले पछुताएर शीत हुँदै खस्छन् ।

दम्भका कारण आकाशले भोग्नुपरिरहेको एक्लोपनको नियतिले निम्त्याएका रुवाइ र पछुतो वास्तवमा जीवनको विसङ्गतिकै परिणाम हुन् ।

यसरी कथाकार इन्दिरा प्रसाईंले समग्रमा जीवनको उल्टो नियति, विभ्रम र विघटित मूल्यहरूका कारण सिर्जित विडम्बनाहरूको चित्रण गरेर आफूलाई विसङ्गतिवादी लघुकथाकी स्रष्टाका रूपमा उभ्याएकी छिन् । उनले पारिवारक र सामाजिक जीवनभित्रको जटिलताहरूलाई पनि आफ्नो यही विसङ्गतिवादी दृष्टिबाट हेरेकी छिन् ।

इन्दिरा प्रसाईंले मान्छेभित्र पोषित पूर्वाग्रही संस्कारलाई पनि उद्घाटन गर्ने काम गरेकी छिन् । उनी के देख्दछिन् भने समाजमा चल्दै आएको जातभात प्रथाबारे मान्छे अन्ततः सङ्कीर्णवादी नै हुन्छ ('जात’ कथा) र मान्छे अरूको राम्रो कुरामा डाहा र ईर्ष्या गर्दछ ('अञ्जलीका बुवा’ कथा) । यसै सन्दर्भमा उनको 'डाहा’ शीर्षकको यो लघुकथा हेरौं :

रामलाई अगुल्टाले झोसेपछि श्यामले कठै ! भनेर सहानुभूति दर्सायो । त्यस बेला श्यामका आँखा भने हाँसिरहेका थिए ।

केही बेरपछि रामले पनि श्यामलाई अगुल्टाले झोस्यो । यस बेला श्यामको मुटुमै डाहा भयो। त्यसपछि श्यामका आँखाबाट पीडाका आँसुहरू बगिरहे ।

रामलाई भने श्यामको डाहाले पनि सताइरह्यो ।

परस्परको पीडाबाट एकअर्कामा डाहा हुनु मानिसको जन्मजात प्रवृत्ति वा संस्कार नै हो, किनभने कोही पनि मानिस सहनशील र आदर्शवादी देवता हुनै सक्तैन । 'अन्तरेको फलिफाप’ कथाले पनि यस कुराको पुष्टि गर्दछ । इन्दिरा प्रसाईंले आफ्नो 'प्रेमको पराजय’ कथामा यस्तो डाहा वा ईर्ष्याको अर्को रूपलाई यसरी स्पष्ट पारेकी छिन् :

'प्रेम र ईर्ष्या दुबै चर्काचर्की छलफलमा थिए । म तिमीलाई मन पराउँदिनँ भन्ने तिमीलाई थाहा छ । तर पनि किन तिमी मेरो घरमा आउँछौ ? खोइ, मैले त तिम्रो घर पनि देखेको छैन ।’ प्रेम आक्रोशित भएर बोलेको थियो ।

'तिमीले भनेको साँचो हो, तिमीले आजसम्म मेरो घर टेकेका छैनौ, मेरा घरमा तिमीलाई मैले कहिल्यै बोलाएको नै पनि छैन । तर प्रेम ! म तिम्रा घरमा तिमीले नबोलाई कहिले आएको छु र ? जबजब तिम्रो अस्तित्व सङ्कटमा पर्दछ तिमीले मलाई डाकेका छौ । मलाई तिमी नभएर केही फरक पर्दैन, तर साथी ! म नभए तिम्रो अस्तित्व शङ्कास्पद हुन्छ ।’ ईर्ष्याले हाँसेर भनेको थियो ।

वास्तवमा अब प्रेमसँग ईर्ष्याको जवाफ थिएन ।

त्यसछि प्रेमले हारेको थियो ।

प्रेमबाट स्वतः ईर्ष्यानिसृत हुनु मान्छेको भित्री संस्कारको परिणाम हो । कथाकार इन्दिरा प्रसाईंको विचारमा डाहा मात्र होइन अरूको गुणमाथि शङ्का गर्नु पनि मान्छेको पूर्वाग्रही संस्कार नै हो ('देवी र रन्डी’ कथा)। यसका साथै मान्छे–मान्छेमा भेदभाव गर्नु वा पक्षपातपूर्ण व्यबहार गर्नु पनि मान्छेभित्रको अर्को बर्बर संस्कार हो भन्ने कुरा उनले ’फूल’ शीर्षकको लघुकथामा यसरी स्पष्ट पारेकी छिन् :

'हजुर ! आज बुढियाले सत्यनारायणको पूजा लाउँछु भनेकी छ, अलिकति फूल लगूँ कि ?’ मालीले दुलही बज्यैसँग नम्र निवेदन गर्‍यो ।

'कस्तो कुरा गर्छ यो माली अब यत्रो खर्च लाएर रोपेका फूल पनि त्यसरी पूजाआजा भनेर टिप्न थाल्यो भने निमिट्यान्न हुँदैन ? बाबुसाहेबलाई एउटा पनि फूल टिपेको मन पर्दैन … ।’

त्यसको निकै बेरपछि गाह्रो मानीमानी दुलही बज्यैले ओइलाएका सुक्न लागेका अलिकित फूल टिपेर मालीलाई दिएकी थिइन् ।

+ + + 

दुलही बज्यै ! दुलही बज्यै । माली अत्तालिएर झन्नै चिच्च्याउँदै मूल ढोकामा पुगेको थियो ।

'के भयो ? किन त्यसरी चिच्च्याएर मरेको’ दुलही बज्यैले झर्केर सोधेकी थिइन् ।

'फूल जम्मै लुछेको छ, बोटै निमिट्यान्न पारेर हाँगा लछारपछार पार्दै कुन चोरले सब फूलबारीकै सर्वनाश गरेको रैछ । 'मालीले स्याँस्याँ हुँदै भन्यो ।

'के भन्छ यो, हिजो मैयाँसाहेबको स्कुलमा फेरवेल पार्टी रहेछ ।’ केको चोरले फूल लान्छ, मैयाँसाहेबका साथी र मैयाँसाहेवले टिपेका थिए ।

मालीलाई तल्लो स्तरको पराई मान्छे ठानेर पूजाका लागि पनि फूल दिन बनावटी बहाना गर्नु, तर आफ्नै छोरीलाई भने स्कुलमा बिदाइ कार्यक्रमका लागि भने सबै फूलहरू दिँदा हर्ष मान्नु वास्तवमा मान्छेको पूर्वाग्रही संस्कार हो। प्रत्येक मान्छेमा पराई र आफन्तका बिचको भेदभाव वा पक्षपातपूर्ण भावना हुन्छ । यसरी कथाकार इन्दिरा प्रसाईंले मान्छेभित्रको संस्कार उद्घाटन गर्ने सन्दर्भमा के पनि देखाएकी छिन् भने पढेलेखेका आफ्ना पतिले आफूलाई शारीरिक यातना दिने गरेको देखेर पीडित पत्नीले आफ्नी छोरीलाई नपढाई राख्ने सोच राख्छे, किनभने पढेपछि छोरीले ज्वाइँलाई त्यसरी नै शारीरिक यातना दिन्छे भन्ने उनको पूर्वाग्रही सोच बन्न जान्छ ('आफ्नो मरदलाई’ कथा)।

इन्दिरा प्रसाईंका केही लघुकथाहरू एउटा निश्चित विचारको संवाहक बनेका छन् । उनको विचारमा संसारमा युद्ध हुनुमा स्वयम् मान्छे मात्र जिम्मेदार छ ('युद्ध’ कथा), वैज्ञानिकहरूले गरेका अनेकौँ चामत्कारिक आविष्कारहरूले गर्दा नै वास्तवमा मानिसहरूले शान्ति प्राप्त गरेका हुन् ।   ('ईश्वर लोप भए’ कथा) र यो संसार अनेकौँ विकृति र विसङ्गतिहरूको कारणले प्रदूषित भई जताततै अशान्ति र अव्यवस्थाको साम्राज्य फैलिएको छ ('अकथा’ कथा)। उनी समाजमा जताततै धर्मको पराजय र अनाचारको विजय भएको देख्दछिन् ('मेरो गोरुको बाह्रै टक्का’ कथा) र त्यसरी नै संसारमा सत्यको पराजय भई असत्यको विजय भएको देख्दछिन् ('सत्यअसत्य’ कथा)। विचार संवहनकै क्रममा उनले मान्छेभित्रको अतृप्तिको भोकबारे 'अचुक औषधि’ भन्ने कथामा प्रश्न उठाउँदै त्यसको सटीक जवाफ 'अनमोल पारिश्रमिक’ भन्ने कथामा यसरी दिएकी छिन् :

'डाक्टर बाबू ! तपाईंका लागि घरबाट केही न केही लिएर आउने इच्छा थियो, त्यसैले घरभरि खोजें केही भेटिनँ । आखिर एक घोगो सुकेको मकै भेटें र त्यही मकै भुटेर तपाईंका लागि ल्याएकी छु ।’ ती महिलाले आफ्नो मटमौली पटुकाका पोल्टाबाट दुई मुठी भुटेको मकै झिकेर डाक्टरलाई दिइन् ।

डा. उप्रेतीले आफ्ना दुवै हातलाई अँजुली पारेर मकै थापे । धेरैजसो ठेट्ना भएको त्यो मकै हातमा पर्नासाथ डा. उप्रेतीलाई अचाक्ली भोक लागेर आयो । कमकर्‍याम उनी मकै खान लागे । आफूले ल्याएको मकै डाक्टरले त्यसरी स्वाद लिएर खाइदिँदा ती महिलाको अनुहारमा तृप्तिको दीप्ति फैलिएको थियो ।

उता डाक्टरका लागि पनि आजसम्म बिरामी जाँचेर पाएको पारिश्रमिकमध्येको यो अनमोल पारिश्रमिक थियो । यस पारिश्रमिकको आनन्दातिरेकले डा. उप्रेती जीवनमा पहिलो पटक आफ्नो डाक्टरी पेसाबाट परमतृप्त भएको महसुस गरिरहेका थिए ।

अतृप्तिको भोक आत्मीयता वा प्रेमले मेटाउँदछ भन्ने कुरामा विश्वास गर्ने इन्दिरा प्रसाईंले, त्यसैले आफ्नो 'प्रेमार्थी’ भन्ने कथामा यसरी जातीय विभेदको उपेक्षा गर्दै मात्र मानवीय प्रेममा आफ्नो आस्था प्रकट गरेकी छिन् :

… मैले प्रेमपूर्णभावमा उसका हात समातेर प्रश्न गरेकी थिएँ, 'र तिम्रो जात के हो नि ?’

निकै बेरको अन्योललाई तोकेर उसले भन्यो, ॅमेरो जात मान्छे हो … मात्र मान्छे ।’

+ + + 

’युद्धमा सम्पूर्ण सहर ध्वस्त भएको बेला पाँच–छ वर्षको बालक र तीन–चार वर्षकी बालिकाको भेट भएको थियो । ती दुवै थुप्रै घाइते र अन्य थुप्रै व्यक्तिहरूका साथ लागेर अर्को देशमा शरणार्थी हुन पुगे । पछि उनीहरू नै मेरा बाबुआमा भए । उनीहरूले आफ्नो प्रेमको अर्थस्वरूप मेरा नाम प्रेमार्थी राखे । नरसंहारमा आफन्त सबै सखाप भएका मेरा बाआमाले एकअर्काको जात देखेनन्, केवल प्रेम देखे र प्रेममा नै बाँचे । त्यस्तै म पनि प्रेममा मात्र विश्वास गर्छु । माफ गर, मलाई मान्छेको जात थाहा छैन, म मान्छेलाई मात्र चिन्छु उसको जात बुझ्दिनँ । मलाई मात्र प्रेममा विश्वास छ ।’

यसरी कथाकार इन्दिरा प्रसाईंले आफ्ना केही लघुकथाहरूमा समसामयिक महत्वका विषयहरूका साथै शाश्वत मानवीय मूल्यहरूका बारेमा आफ्ना गहन विचारहरूलाई आख्यानीकरण गरेकी छिन् ।

अन्योक्ति र मिथकको अर्थपूर्ण प्रयोगमा इन्दिरा प्रसाईंका लघुकथाहरू सशक्त छन् । उनका कथा सिर्जनामा देखिएको समस्याको के हो भने 'सहपीडा’, 'डाहा’ र 'विश्वास’ ले गद्यमा कविता (Poem in Prose) को बान्की लिएका छन् भने 'कुमारित्व’ र 'महत्व’ ले ठट्यौली (Jokes) को स्वरूप लिएका छन् तापनि समग्रमा उनले लघुकथाको शक्ति र स्वरूपलाई भने चिन्न सकेकी नै छन् ।

निष्कर्षमा के भन्न सकिन्छ भने इन्दिरा प्रसाईंका विसङ्गतिवादी दृष्टि अत्यन्त तीक्ष्ण छ । उनले मान्छेभित्रको पूर्वाग्रही संस्कारका गतिविधिहरूलाई आफ्ना लघुकथाहरूमा प्रस्तुत गरेकी छिन् । उनी विचारलाई आख्यानको रूप दिन निपुण छिन् ।

--------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment