Monday, September 14, 2026

लघुकथा (अङ्क ३८ मा प्रकाशित)


प्रतिष्ठित राष्ट्रिय साहित्य पुरस्कारको घोषणा समारोहमा सभाहल तालीले गुञ्जियो । निर्णायकले प्रथम पुरस्कारको नाम घोषणा गरे—समीर ।

समीर मञ्चमा पुग्यो । क्यामेराका फ्ल्यास चम्किए । सम्मानपत्र र ट्रफी समाउँदै ऊ मुस्कुरायो । सबैले उसको सफलताको प्रशंसा गरे ।

पछिल्लो पङ्क्तिमा बसेको निरज भने चुपचाप उठ्यो । उसको मौलिक पाण्डुलिपि निर्णायकसम्म पुग्नुअघि नै हराइएको थियो, र त्यसका विचारहरू समीरको रचनामा सजिएका थिए । उसले विरोध गरेन, केवल यति भन्यो, “सत्यलाई ठूलो आवाज चाहिँदैन ।’’

कार्यक्रम सकियो । मानिसहरू समीरलाई बधाई दिन वरिपरि झुम्मिए । निरज भने भीडबाट बाहिर निस्कियो ।

राति समीरले ट्रफीलाई सिरानीछेउ राख्यो । बाहिर संसारले उसको जितको चर्चा गरिरहेको थियो, तर भित्रभित्रै ऊ आत्मग्लानीले थिचिँदै थियो ।

उसले आँखा चिम्लियो । निद्रा आएन । मौनभित्र एउटा आवाज गुञ्जिरह्यो— “तिमीले पुरस्कार त जित्यौ, तर आफ्नो आत्मसम्मान हार्‍यौ ।’’

त्यो रात उसले पहिलोपटक महसुस गर्‍यो— अपराधबोधको एउटा यस्तो सुरुङ हुँदोरहेछ, जहाँ प्रवेश गरेपछि बाहिरको उज्यालो पनि अँध्यारो लाग्दोरहेछ ।

टेबलमा ट्रफी चम्किरहेको थियो, तर समीर आफैँ आफ्नै अन्तरआत्माको कठघरामा उभिएको थियो ।

– रमेश विकल प्रतिष्ठान मार्ग आरुबारी

--------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment