प्रतिष्ठित राष्ट्रिय साहित्य पुरस्कारको घोषणा समारोहमा सभाहल तालीले गुञ्जियो । निर्णायकले प्रथम पुरस्कारको नाम घोषणा गरे—समीर ।
समीर मञ्चमा पुग्यो । क्यामेराका फ्ल्यास चम्किए । सम्मानपत्र र ट्रफी समाउँदै ऊ मुस्कुरायो । सबैले उसको सफलताको प्रशंसा गरे ।
पछिल्लो पङ्क्तिमा बसेको निरज भने चुपचाप उठ्यो । उसको मौलिक पाण्डुलिपि निर्णायकसम्म पुग्नुअघि नै हराइएको थियो, र त्यसका विचारहरू समीरको रचनामा सजिएका थिए । उसले विरोध गरेन, केवल यति भन्यो, “सत्यलाई ठूलो आवाज चाहिँदैन ।’’
कार्यक्रम सकियो । मानिसहरू समीरलाई बधाई दिन वरिपरि झुम्मिए । निरज भने भीडबाट बाहिर निस्कियो ।
राति समीरले ट्रफीलाई सिरानीछेउ राख्यो । बाहिर संसारले उसको जितको चर्चा गरिरहेको थियो, तर भित्रभित्रै ऊ आत्मग्लानीले थिचिँदै थियो ।
उसले आँखा चिम्लियो । निद्रा आएन । मौनभित्र एउटा आवाज गुञ्जिरह्यो— “तिमीले पुरस्कार त जित्यौ, तर आफ्नो आत्मसम्मान हार्यौ ।’’
त्यो रात उसले पहिलोपटक महसुस गर्यो— अपराधबोधको एउटा यस्तो सुरुङ हुँदोरहेछ, जहाँ प्रवेश गरेपछि बाहिरको उज्यालो पनि अँध्यारो लाग्दोरहेछ ।
टेबलमा ट्रफी चम्किरहेको थियो, तर समीर आफैँ आफ्नै अन्तरआत्माको कठघरामा उभिएको थियो ।
– रमेश विकल प्रतिष्ठान मार्ग आरुबारी


No comments:
Post a Comment