Showing posts with label रमेश ज्ञवाली. Show all posts
Showing posts with label रमेश ज्ञवाली. Show all posts

Monday, September 14, 2026

लघुकथा (अङ्क ३८ मा प्रकाशित)


वर्ग सङ्घर्ष र समाजवादका ठूला–ठूला भाषण गर्दै बामपन्थी दलमा किनाराबाट बिचतिर हेलिँदा फुले मठ्याहा मात्रै थियो । विचार संगठन र रणनीतिमा कौशलतामात्रै मठ्याहाबाट ठ्याहा तिरको यात्राको लागि पर्याप्त थिएन दलमा । मानिएका सर्वोच्च नेताका अघिपछि लाग्ने, हो मा हो मिलाउने र नेताको सबै पाइला र चालको पक्षमा चट्टानसरी खडाहुने कला आवश्यक थियो । त्यसैले त उ हनुमान र झोले उपनामसँगै ठ्याहा वर्गमा पर्न सकेको थियो । त्यसको लागि उसले के के गरेन ! इमान स्वाभिमान विचार र आत्मसम्मान समेत बेच्यो वा बन्धकी राख्यो । 

फुलेलाई मठ्याहाबाट ठ्याहा बनाउने नेताजी आफै ठ्याहाबाट मठ्याहामा रुपान्तरण भइसकेका थिए । देशको कलकारखाना बेच्न, नदीनाला बेच्न र प्रभुहरूको सपनालाई सफलिभुत पार्न निमित्तको जिम्मेवारी पाई मठ्याहाबाट ठ्याहामा वर्ग चढेका नेताजीको पनि उपयोगिता सकिएको थियो । फुले नेताजीको ठ्याहा वर्गको इमान्दार हनुमान भएपनि प्रभुको ठ्याहा वर्गबाट भने टाढा थियो । नेताजीलाई गलहत्याएर आफुलाइ खेल्ने सजिलो मैदान तयार पार्न प्रभुले नेताजीलाई रिङबाट बाहिर र फुलेलाई भित्र गरेको थियो । 

देश तहस नहस र रक्ताम्य भएपछि फुले केही समयको लागि प्रभुको ठ्याहा भइरहन सफल भयो । तर उसलाई के थाहा ठ्याहा र मठ्याहाको खेल सर्प र भर्‍याङ्गको खेल जस्तै हो भनेर । जुन खेलको शिकार उ बन्यो जब ठ्याहा वर्गको भर्‍याङ्ग चढ्दै ऊ उनान्सयसम्म पुगी पुन दुईमा झरेको थियो । अदृष्य प्रभुका अनगिन्ती चाल । प्रभुलाई अब ठ्याहा मठ्याहाको खेलमा कुनै रुचीनै थिएन । उसले अब तदर्थ पात्र खोजिरहेको थियो । प्रभुले बजारमा त्यस्तो पात्रको खोजीमा विज्ञापन गर्दा देशै प्रभुको चरणमा सुम्पिन सक्ने पात्र उपलब्ध भयो । त्यसपछि किन चाहियो त फुले ! वा अरु कुनै आशिर्वाद लिएर मठ्याहाबाट ठ्याहामा उक्लिन चाहने पात्र । अब फुलेको मठ्याहिकरण वा अवसान अपमान र घृणाले भरिएको बन्यो ।

– बर्दघाट न.पा.– ०७, नवलपरासी

--------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।