Showing posts with label आस्था आशिष. Show all posts
Showing posts with label आस्था आशिष. Show all posts

Saturday, October 10, 2026

लेख (अङ्क ३९ मा प्रकाशित)


---आस्था आशिष---

मानिसले कथा भन्न थालेको इतिहास मानव सभ्यताको इतिहाससँगै जोडिएको छ । अक्षरको आविष्कार हुनुभन्दा धेरै अघिदेखि मानिसले आफ्ना अनुभव, विश्वास, भय, आशा र जीवनबोधलाई कथाका रूपमा एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्दै आएको थियो । कहिले आगोको वरिपरि बसेर कथा सुनाइन्थ्यो, कहिले धार्मिक आख्यानका रूपमा, कहिले नीति र शिक्षाका रूपमा त कहिले मनोरञ्जनका रूपमा। तीमध्ये धेरै कथा निकै छोटा हुन्थे । त्यसैले आज हामीले ‘लघुकथा’ भनेर चिन्ने साहित्यिक विधाको जरा आधुनिक कालमा मात्र नभई मानवको प्राचीन कथन परम्परासम्म पुग्छ ।

यद्यपि प्राचीन छोटा कथा र आजको आधुनिक लघुकथालाई एउटै विधा मान्नु उचित हुँदैन । प्राचीन कथा प्रायः नीति, धर्म, लोकविश्वास वा शिक्षासँग जोडिएका थिए भने आधुनिक लघुकथाले जीवनको एउटा तीक्ष्ण क्षण, मनोवैज्ञानिक अवस्था, सामाजिक विडम्बना, सम्बन्धको जटिलता वा कुनै गहिरो अनुभूतिलाई अत्यन्त कम शब्दमा कलात्मक ढंगले प्रस्तुत गर्ने लक्ष्य राख्छ । त्यसैले लघुकथाको इतिहासलाई हेर्दा ‘छोटो कथा’को प्राचीन परम्परा र ‘आधुनिक लघुकथा’को साहित्यिक विकासलाई छुट्टाछुट्टै बुझ्नु आवश्यक हुन्छ ।


प्राचीन सभ्यताका छोटा आख्यान

विश्व साहित्यमा छोटा आख्यानको परम्परा अत्यन्त पुरानो छ । पश्चिमी परम्परामा इसपका नीति–कथाहरू यसको चर्चित उदाहरण हुन् । जनावर वा सामान्य पात्रमार्फत मानवीय व्यवहार, कमजोरी र नैतिक शिक्षालाई छोटो घटनामा प्रस्तुत गर्ने यी कथाहरूले छोटो आख्यानको प्रभावकारिता देखाउँछन् । पूर्वीय परम्परामा भारतका पञ्चतन्त्र र जातक कथाहरू पनि छोटा आख्यानको समृद्ध परम्पराका उदाहरण हुन् । यस्ता कथाहरूमा मनोरञ्जनसँगै नीति, व्यवहार र जीवनबोध जोडिएको पाइन्छ । 

त्यसैगरी विभिन्न सभ्यताका लोककथा, दृष्टान्त, धार्मिक आख्यान, जेनका छोटा दृष्टान्त तथा नसरुद्दिनका कथाहरूमा पनि थोरै शब्दमा एउटा घटना, विचार वा जीवनबोध प्रस्तुत गर्ने परम्परा देखिन्छ । प्राचीन भारतीय कथासाहित्यमा त कथा भित्र कथा राख्ने परम्परा पनि निकै विकसित थियो । संस्कृत साहित्यको कथासरित्सागर जस्ता विशाल कथासङ्ग्रहले भारतीय आख्यान परम्पराको व्यापकता देखाउँछन् ।

तर यी सबैलाई आधुनिक अर्थमा ‘लघुकथा’ भन्नु ऐतिहासिक रूपमा सावधानीपूर्वक गर्नुपर्ने कुरा हो । ती आधुनिक लघुकथाका पूर्वरूप वा स्रोतपरम्परा हुन् ।


लघुकथातर्फको आधुनिक यात्रा

छोटो आख्यानको आधुनिक साहित्यिक रूप विस्तारै विकसित हुँदै गयो । छापाखानाको विकास, पत्रपत्रिकाको विस्तार र नयाँ पाठक वर्गको उदयसँगै छोटो कथा लेखनले नयाँ स्वरूप लिन थाल्यो । विशेषगरी उन्नाइसौँ र बीसौँ शताब्दीमा छोटो गद्यकथाले साहित्यमा बलियो स्थान बनाउँदै जाँदा अझ संक्षिप्त कथात्मक रचनाका सम्भावनाहरू पनि खोजिन थाले ।

अमेरिकी साहित्यमा उन्नाइसौँ शताब्दीमै वाल्ट ह्विटम्यान, एम्ब्रोस बियर्स र केट चोपिनजस्ता लेखकका केही अत्यन्त छोटा रचनालाई आजको ‘फ्ल्यास फिक्सन’सँग जोडेर चर्चा गरिन्छ । बीसौँ शताब्दीको प्रारम्भतिर यस्ता रचनालाई 'short–short story' अर्थात् अत्यन्त छोटो कथा भन्ने चलन बढ्यो । सन् १९२० को दशकमा अमेरिकी पत्रिका Cosmopolitan लगायतका प्रकाशनहरूमा यस्तो छोटो कथा लोकप्रिय भएको उल्लेख पाइन्छ ।

यसले के देखाउँछ भने आधुनिक लघुकथा अचानक जन्मिएको विधा होइन । छोटो कथाको प्रयोग साहित्यमा पहिलेदेखि हुँदै आएको थियो; समयसँगै त्यसले आफ्नै शिल्प, संरचना र पहिचान विकास गर्दै गयो ।

Sunday, September 13, 2026

लेख (अङ्क ३८ मा प्रकाशित)


---आस्था आशिष---

समयसँगै साहित्यका माध्यम र पाठकको रुचि पनि बदलिँदै जान्छ । कुनै समय साहित्य पढ्नका लागि पुस्तक, पत्रपत्रिका वा साहित्यिक गोष्ठी नै प्रमुख माध्यम थिए । अहिले हातमा रहेको मोबाइल नै पुस्तकालय, पत्रिका र साहित्यिक मञ्च बन्न पुगेको छ। सामाजिक सञ्जालले मानिसको संवाद गर्ने शैली मात्र बदलेको छैन, साहित्य सिर्जना, प्रकाशन, पठन र प्रतिक्रियाको स्वरूपसमेत बदलिदिएको छ । यस परिवर्तनबाट नेपाली लघुकथा पनि अछुतो छैन ।

आकारमा छोटो, कथ्यमा सघन र प्रभावमा गहिरो हुने भएकाले लघुकथा सामाजिक सञ्जालका लागि स्वाभाविक रूपमा अनुकूल विधा बनेको छ। मोबाइलको सानो स्क्रिनमा केही मिनेटमै पढ्न सकिने लघुकथाले पाठकलाई छोटो समयमा एउटा संसारभित्र पुर्‍याउँछ । कथा पढिसकेपछि पाठकले त्यसलाई मनन गर्न सक्छ, प्रतिक्रिया दिन सक्छ र चाह्यो भने तत्कालै अरू पाठकसम्म पुर्‍याउन सक्छ । यही सहजताले सामाजिक सञ्जालमा लघुकथाको उपस्थिति दिनप्रतिदिन बढाइरहेको छ ।

तर प्रश्न यति मात्र होइन—सामाजिक सञ्जालले लघुकथालाई अवसर दिएको हो कि चुनौती पनि थपेको हो ? यसको उत्तर एउटै शब्दमा दिन सकिँदैन । सामाजिक सञ्जाल लघुकथाका लागि ठूलो अवसर हो, तर त्यसको विवेकपूर्ण प्रयोग हुन सकेन भने त्यही अवसर चुनौतीमा परिणत हुन सक्छ ।


साहित्यको बदलिँदो चौतारी

पहिले गाउँको चौतारी, चिया पसल वा साहित्यिक गोष्ठीमा मानिसहरू भेला भएर कथा, कविता र साहित्यका विषयमा छलफल गर्थे । अहिले त्यही संवादको ठूलो हिस्सा सामाजिक सञ्जालमा सरेको छ । भौगोलिक दूरीले साहित्यिक संवादलाई रोक्न सक्ने अवस्था धेरै हदसम्म घटेको छ ।

काठमाडौँमा बसेर लेखिएको लघुकथा झापाको पाठकले पढ्न सक्छ । पोखरामा बसेको सर्जकको रचना दाङ, सुर्खेत वा धनगढीका पाठकसम्म पुग्न सक्छ । नेपालबाहिर रहेका नेपालीले पनि त्यही रचना पढेर प्रतिक्रिया दिन सक्छन् । यसरी सामाजिक सञ्जालले नेपाली साहित्यका लागि एउटा यस्तो साझा चौतारी निर्माण गरेको छ, जहाँ भूगोलको सीमाभन्दा सिर्जनाको सम्बन्ध महङ्खवपूर्ण हुन थालेको छ ।

यसको एउटा सुन्दर पक्ष के हो भने साहित्यको केन्द्र केही निश्चित ठाउँमा मात्र सीमित रहनुपरेको छैन । गाउँमा बसेर लेख्ने सर्जकले पनि आफ्ना रचना सार्वजनिक गर्न सक्छ । विदेशमा श्रम गरिरहेको नेपालीले पनि आफ्नो अनुभूति लघुकथामा उतारेर आफ्नै समाजसँग संवाद गर्न सक्छ । यसले साहित्यमा नयाँ आवाजको प्रवेशलाई सहज बनाएको छ ।