नेपाली लघुकथामा शिक्षा क्षेत्रसँग सम्बन्धित विषयलाई प्रस्तुत गरिएको छ । यी लघुकथामा अभिभावक, विद्यार्थी, शिक्षक एवम् शैक्षिक संस्थाका गतिविधिलाई अध्ययनको विषय बनाइएको छ । यस अध्ययनमा शिक्षा क्षेत्रसँग सम्बन्धित लघुकथाको अध्ययनका लागि अभिभावक एवम् विद्यार्थीवर्गका क्रियाकलापको प्रस्तुति, शिक्षकवर्गका गतिविधिको चित्रण एवम् शिक्षण संस्था एवम् संस्थाप्रमुखका क्रियाकलापको प्रस्तुतिलाई अध्ययन गरिएको छ ।
अभिभावक एवम् विद्यार्थीवर्गका क्रियाकलापको प्रस्तुति
नेपाली लघुकथामा युगचेतनाअन्तर्गत शिक्षा क्षेत्रका गतिविधिको अध्ययनका सन्दर्भमा अभिभावक एवम् विद्यार्थीका क्रियाकलापलाई पनि लिइएको छ । लघुकथा रचनामा शिक्षा क्षेत्रका गतिविधि सुचारु रूपमा चल्न शिक्षक एवम् शैक्षिक संस्थाका साथसाथै अभिभावक एवम् विद्यार्थीको समेत सकारात्मक भूमिका हुनुपर्ने विचार व्यक्त गरिएको पाइन्छ । प्रस्तुत अध्ययनमा अभिभावक एवम् विद्यार्थीवर्गका क्रियाकलापका कारण सिङ्गो शैक्षिक क्षेत्रमा परेको प्रभावका सम्बन्धमा अध्ययन गरिएको छ । यस अध्ययनमा रामविक्रम थापाको मानमर्दन, आर. आर. चौलागाईको शिष्टाचार, डम्बर रसिक भारतीको अभिनयहरू, विष्णु भण्डारी आचार्यको माया, खेमराज पोखरेलको आन्तरिक नम्बर एवम् मनिषकुमार शर्मा ॅसमित’ को थेसिस लघुकथाको विश्लेषण गरिएको छ :
(क) “र’ ले 'स’ लाई पढायो । अर्थात् हिजोसम्म 'र’ चाहिँ 'स’ को गुरु थियो र 'स’ चाहिँ 'र’ को चेलो । स्थानीय चुनावमा पार्टीबाट टिकट पाएर गा.वि.सं.को अध्यक्ष पदमा 'स’ विजयी भयो । 'र’ ले पनि लोकसेवा आयोग लड्यो र गा.वि.सं. को सचिव भयो ।’’ आजै बेलुकी कार्यालयबाट छुट्ने बेलामा 'र’ ले बिदाइको नमस्कार गर्यो । 'स’ भने नमस्कारको प्रत्युत्तर नै नदिई यति मात्र बोल्यो– “त्यो मेरो झोला बोकर हिँड” (थापा. २०५५ : १४) ।
यस अंशमा आफ्नो शिक्षकलाई अपमान गर्ने पूर्वविद्यार्थीको क्रियाकलापलाई प्रस्तुत गरिएको छ । यहाँ विद्यार्थी गाविस अध्यक्ष भएको, पूर्वशिक्षक लोकसेवा पास गरेर गाविस सचिव भएको पाइन्छ । लघुकथामा गुरुको अपमान गर्ने पूर्वविद्यार्थीको कार्यप्रति व्यङ्ग्य गरिएको छ ।
(ख) ऊ गुरु रामनाथलाई निकै आदर गर्थ्यो । भन्ने गथ्यौ ऊ– 'रामनाथ गुरु मेरा श्रद्धेय पात्र हुनुहुन्छ । वहाँबाट मैले साउँअक्षर सिकें । वहाँले नै मलाई छात्रवृत्ति मिलाइदिनु’भो । जीवनभरका निम्ति म वहाँप्रति ऋणी छु ।’ … आज ऊ ठुलो प्रोजेक्टमा काम गर्छ । महिनामा पचासौं हजार खान्छ…. धेरै वर्षपछि उसको भेट रामनाथ गुरुसँग भयो । उसको उन्नति देखेर गुरु खुसी देखिन्थे । तर उसले गुरुलाई चिन्न पनि चिनेन । बेलुकी श्रीमतीसँग भन्दै थियो ऊ– “म यति ठुलो मान्छेलाई भेट्दा पनि नमस्ते नगर्ने ? साला रामनाथे’’ (चौलागाई. २०६५ः १०९) ।
प्रस्तुत लघुकथांशमा कुनै समय गुरmको गुणगान गाउने मानिसले पछिल्लो समयमा आफूले धेरै पैसा कमाउने जागीरमा लागेपछि अभिमानी बनेको एवम् गुरmलाई सम्मान गर्नुको साटो घर पुगेर गुरूप्रति अपमानसुचक अभिव्यक्ति दिएको प्रसङ्ग प्रस्तुत गरिएको छ । यहाँ आफ्नो गुरूको अपमान गर्ने पूर्व विद्यार्थीको कार्यप्रति असहमत चेतना व्यक्त भएको छ ।
(ग) “सर, बसौं यहाँ’’ विनय आप्नो सिटबाट उठ्न खोज्दै भन्छ । उभिनसमेत मुस्किल मुस्किल परेको छ बसमा…. “बस, बाबु बस । म उभिइहाल्छु । त्यति लामो यात्रा पनि त होइन ।’’ सरले भन्नुभयो…. “सायद सरले नसिकाईकन जानेको यही हो सर–म पनि सिट छाड्ने नै मनस्थितिमा कहाँ थिएँ र, यस्ता अभिनयहरू त्यतिकै सिकिँदो रहेछ र आवश्यकता पनि पर्दो रहेछ सर’’ यस्तै सोच्दै विनय गजक्क बसिरह्यो (भारती. २०६९ः १४) ।
प्रस्तुत लघुकथांशमा शिक्षकका लागि सिट छोडेजस्तो गर्ने तर नछोड्ने विद्यार्थीको चर्तिकलालाई प्रस्तुत गरिएको छ । लघुकथामा बाहिर सम्मान गरेजस्तो गर्ने तर मनमनै आफ्नो लाभ खोज्ने युवा पुस्ताको स्वार्थजन्य गतिविधिप्रति व्यङ्ग्यात्मक चेतना अभिव्यक्त भएको छ ।
(घ) सुशान्तले लेखेको रहेछ, “सर ! म त ठुलो भएपछि टिचर बन्न चाहन्छु, टिचर भएर सरकी छोरी दिप्तीलाई पनि पढाउनेछ र पढाउँदा हातमा लट्ठी नबोकी क्लासमा जानेछ, नतर्साई, नथर्काई माया गरेर पढाउनेछु (भण्डारी आचार्य, २०७७ : ८) । यस अंशमा शिक्षकको पिटाइबाट आजित भएको विद्यार्थीको अनुभूतिलाई प्रस्तुत गरिएको छ । उनले सभ्य, शिष्ट भाषामा पत्रका माध्यमबाट विद्यार्थीमाथि शिक्षकवर्गबाट गरिने कुटपिट कार्यप्रति विमति एवम् व्यङ्ग्य गरेका छन् । लघुकथामा शिक्षक वर्गबाट विद्यार्थी वर्गमाथि हने हिंसाप्रति व्यङ्ग्य गरिएको छ ।
(ङ) विद्यार्थीहरूको एक हुल रामलाल र नजिक पुगे र भने : नमस्कार सर ! रामलाल सरले नमस्कार फर्काएनन् । बरु तुरुन्त प्रतिक्रिया दिए : मैले आन्तरिक नम्बर बुझाइसकें (पोखरेल २०७३ : ७३) ।
यस अंशमा आन्तरिक जाँचका क्रममा धेरै नम्बर पाउन शिक्षककहाँ धाउने विद्यार्थीको क्रियाकलापलाई प्रस्तुत गरिएको छ । प्राध्यापकले विद्यार्थीको मनशाय बुझेर उनीहरूलाई आफूले आन्तरिक जाँचको नम्बर बुझाइसकेको बताएका छन् । यहाँ आन्तरिक जाँचमा धेरै नम्बर लिन दवाब दिने विद्यार्थी वर्गको क्रियाकलापको प्रतिक्रियास्वरूप प्राध्यापकको भनाइ आएको छ । लघुकथामा शिक्षा क्षेत्रमा रहेको विकृतिलाई प्रस्तुत गरिएको छ ।
(ठ) “ल सरलाई थाहा नै रहेनछ । थेसिस पनि आफैले लेखेर हुन्छ त ? मैले भनेको मान्नुहुन्छ त्यो पसलमा जानुस्, त्यहाँको भाइले सबै मिलाइदिन्छ ।” चिया पसलेले अगाडिको पुस्तक पसलतिर औलाउँदै भन्यो (शर्मा 'समित्’ २०७९ : ६२)
यस अंशमा विश्वविद्यालयका शोधपत्र विद्यार्थी स्वयंले निर्माण नगरेर अन्य मानिसमार्फत पैसामा किनबेच गर्ने गरेको अवस्थालाई प्रस्तुत गरिएको छ । यस लघुकथामा मेहनतभन्दा सजिलोको खोजीमा लाग्ने प्रवृत्तिई प्रोत्साहित गरिएको छ । लघुकथामा जानी नजानी गलत किसिमले शोधपत्र तयार गर्ने कार्यमा संलग्न हुने विद्यार्थी, गलत कार्यको प्रचार गर्ने चियापसलेको क्रियाकलापलाई प्रस्तुत गरिएको छ । यस अध्ययनमा अभिभावक एवम् विद्यार्थीवर्गका गलत चिन्तन एवम् क्रियाकलापका कारण शैक्षिक क्षेत्रमा नराम्रो असर परेको विषय सन्दर्भको प्रस्तुति गरिएको छ । नेपाली लघुकथामा शिक्षा क्षेत्रको विकासका निमित्त अभिभावक एवम् विद्यार्थीको भूमिका महङ्खवपूर्ण हुने भएकोले उनीहरूका क्रियाकलापमा – इमानदारिता हुनुपर्ने चेतना व्यक्त भएको छ ।
शिक्षक एवम् प्राध्यापक वर्गका गतिविधिको चित्रण
नेपाली लघुकथामा शिक्षक एवम् प्राध्यापक वर्गका – गतिविधिहरूलाई अध्ययन गरिएको छ । यस अध्यययनमा नेपाली लघुकथामा अभिव्यक्त शिक्षकवर्ग एवम् प्राध्यापक का अनुभूतिका साथै उनीहरूले गरेका गतिविधिलाई स्थान दिइएको छ । यस अध्ययनमा मुक्तिनाथ घिमिरेको तपाई, श्रीओम श्रेष्ठ 'रोदन’को विडम्बना, हरिप्रसाद भण्डारीको गाइड मास्टर, विमला अधिकारीको आदर्श, दिलीप शाहको संस्कार, हेमलता उप्रेतीको अभिभावक, विनय श्रेष्ठको संजोग, गङ्गा आचार्यको शिक्षा, अवतार ढकालको थेसिस, षडानन्द पौडेलको मूल्याङ्कन एवम् नारायण प्रसाद पौडेलको हाम्रो भाषा लघुकथाको विश्लेषण गरिएको छ :
(क) “तपाईं नरिसाउनुहोला, तपाईंले प्रधान अध्यापकको रोहबरमा गर्नुभएको हस्ताक्षरमाथि लेखिएको विवरण थियो 'कम्पनीमा दर्ता भई सञ्चालन भइरहेको यस बोर्डिङ स्कुलको म एक श्रमिक हुँ” (घिमिरे, २०६६ : ६) ।
यस अंशमा बोर्डिङ शिक्षकको जीवनको विवशतालाई प्रस्तुत गरिएको छ । यहाँ एक बौद्धिक व्यक्ति राष्ट्रको सम्बाहक हुनुपर्नेमा एक श्रमिकको स्तरभन्दा माथि उठन नसकेको अवस्थाबोध गरिएको छ । लघुकथामा शिक्षकजस्तो बौद्धिक वर्गलाई दासजस्तो बनाउने बोर्डिङ मालिकको प्रवृत्तिप्रति व्यङ्ग्यभाव आएको छ ।
(ख) कृष्णमुरारी सरले धेरैबेर अनकनाउनु भएपछि मुख खोल्नु भयो– “अहिले म पिताजीको बरखीमा छु, मेरो भागमा रहेका कापीहरूमा दलित विद्यार्थीहरूका पनि हुन सक्छन्, त्यसैले यो सेतो लुगामा हुन्जेलसम्म पिताजीको आत्माको शान्तिका लागि भए पनि उनीहरूले लेखेका कपीहरू नछोऊँ कि भनेर’’ (श्रेष्ठ ’रोदन’ २०६७ : १६) ।
यस अंशमा जातीय छुवाछुत गर्ने शिक्षकको गतिविधिलाई प्रस्तुत गरिएको छ । आफू बरखीमा भएको, दलित विद्यार्थीका कापी जाँच्दा आफ्नो धर्म भ्रष्ट हुने विचारले उनी जातीय संकीर्णतावादी भएको देखाउँछ । यस रचनामा शिक्षकको विभेदपूर्ण क्रियाकलापको आलोचना गरिएको छ ।
(ग) प्यारी छोरीको कुरा सुनेर शर्माजी मुसुक्क हाँसे र काम गर्दै बिस्तारै बोले– “त्यसो होइन नानु, सबै कमजोर त कहाँ छन् र, लेख्न त ठिकठीकै लेखेका छन् । तर मेरो गाइड पढेर होइन, अरूकै गाइड पढेर । मैले अहिले यिनीहरूलाई भकाभक पास गराउन लागें भने मेरो गाइड किन्ने र मसँग ट्युसन पढ्नेवाला कोही हुने छैनन् । अनि मैले यो घरखर्च र अनि तिम्रो बोर्डिङको खर्च कसरी चलाउने भन त ?’’ (भण्डारी. २०६७ : ५) ।
यस अंशमा आफ्नो गाइड पढेर लेख्नेलाई धेरै नम्बर दिने शिक्षकको कार्यलाई प्रस्तुत गरिएको छ । यहाँ शिक्षकले आफनो गाइड नपढने र आफूसँग ट्युसन नपढ्ने शिक्षकको जीवनप्रति खेलबाड गरेका छन् । यहाँ शिक्षकले विद्यार्थीको जीवनप्रति खेलबाड गरेकोमा सो कार्यप्रति व्यङ्ग्य गरिएको छ ।
(घ) “उसो भए आफ्ना छोराछोरी पनि तपाईंले यसै विद्यालयमा पढाउनुभएको होला नि होइन? हिक्मतबहादुरले जिज्ञासा राखे । “यो त पैसा तिरेर पढाउन नसक्नेका लागि हो ।” प्रधानाध्यापकले निधारमा मुजो पार्दै भने । लोकले पचाउन नसक्ने आदर्श पस्किएका प्रधानाध्यापक लोकनाथ देखेर समाजसेवी हिक्मतबहादुर त्यहाँबाट तुरुन्त अलप भए’’ (अधिकारी. २०६९ : ५६) ।
यस अंशमा सामुदायिक विद्यालयमा उत्कृष्ट विद्यालयका प्रधान अध्यापकले आफ्ना छोराछोरी बोर्डिङमा पढाएको सन्दर्भलाई प्रस्तुत गरिएको छ । यहाँ सामुदायिक विद्यालयमा काम गरेर नाम र दाम कमाउने व्यक्तिले त्यसै विद्यालयप्रति अविश्वास प्रकट गरेको स्थितिबोध गरिएको छ ।
यस रचनामा प्रधान अध्यापकले निधारमा मुजा पारेर सामुदायिक शिक्षा पैसा तिरेर पढाउन नसक्नेका लागि हो भन्नु, लोकले पचाउन नसकिने आदर्श पस्किनु, समाजसेवी त्यहाँबाट अलप हुनुले सामुदायिक शिक्षाप्रति शिक्षकवर्ग स्वयंको अविश्वासलाई दर्शाउँछ । लघुकथामा शिक्षकले सामुदायिक विद्यालय हेला गरेकोमा सो कार्यप्रति व्यङ्ग्य गरिएको छ ।
(ङ) “काम छिटो होस्, म चलनचल्तीको दस्तुर चढाउन तयार छु फरक पर्दैन । उसले विना हिच्किचाहट अफर गर्यो । मैले ट्वाल्ल परेर उसको मुखमा हेरें, दश वर्ष सँगै पढेको साथी, त्यसमा पनि शिक्षा दान गर्ने शिक्षक, ऊ आफै बोलिरहेको थियो कि यो देशको संस्कार ! मैले खुट्टयाउनै सकिनँ’’ (शाह. २०६६ : २९) ।
प्रस्तुत अंशमा आफ्नो काम सजिलै फुत्काउन एक शिक्षकले घुस दिन खोजेको घटनालाई देखाइएको छ । यहाँ म पात्रले शिक्षकको मुखमा टवाल्ल हेर्नु र शिक्षक भएका मानिसले देशको संस्कार बोलेकामा खुट्टयाउन नसक्नु भन्ने अभिव्यक्ति गर्नुले उसमा शिक्षकको कुनै काम गराउन घुस खुवाउने क्रियाकलाप एवम् चिन्तनप्रति असहमति भएको दर्शाउँछ । रचनामा शिक्षकको भ्रष्ट चिन्तन एवम् क्रियाकलापप्रति विमतिभाव आएको छ ।
(च) प्रत्युत्तरमा उनले भने, “मलाई थाहा छ…. तपाईंहरू केवल उसका आन्तरिक क्षमताको पहिचान गराइदिनुहोस्… उनको कुरा सुनेर प्रधान अध्यापकले भने, “के गर्नु हजुर, सबैलाई भोलि नै रिजल्ट चाहिएको छ । सर्टिफिकेट चाहिएको छ । तपाईंले भनेअनुसार गर्न थाल्यौं भने त, यस स्कुलमा तपाईंको बच्चामात्र बाँकी हुन्छ ।“ (उप्रेती. २०७८ : ६) ।
यस अंशमा प्रधान अध्यापकले बालबालिकाको आन्तरिक क्षमता विकास भन्दा पनि उनीहरूलाई छिटो कक्षा बढाइदिने र नम्बर बढाइदिने कार्य गर्ने गरेको स्वीकारोक्ति गरेका छन् । यहाँ विद्यार्थीको सही क्षमता विकासभन्दा पनि उनीहरूको कक्षा बढाउने कुरालाई प्राथमिकता दिइएको छ । लघुकथामा शिक्षकवर्गले विद्यार्थी वर्गको सही क्षमता विकासमा ध्यान नदिएको घटनालाई प्रस्तुत गरिएको छ ।
(छ) केही छिनमै मिसको प्रवेश भयो तर अचम्म सुधा मिस अरू कोही नभएर उही थिइन्, जो केही वर्षअघि मात्र म आफैले पढाएको थिएँ । संयोग पनि कस्तो, जसका विरुद्ध म सजाय दिन हुन्न भनेर उजुरी दिन आएको थिएँ, उही नै मेरो कक्षामा पटकपटक सजायको भागीदार बनेकी थिइन् (श्रेष्ठ २०६९ : २८) ।
यस अंशमा एक जना पूरा शिक्षकको अभिव्यक्तिलाई प्रस्तुत गरिएको छ । आफू शिक्षक हुँदा विद्यार्थीलाई सजाय दिने शिक्षक पछि शिक्षकले आफ्नी छोरीलाई सजाय दिँदा गुनासो गर्न पुगेको छ । लघुकथामा अरूलाई सजाय दिँदा पीडाबोध नगर्ने शिक्षकले आफ्नी छोरीलाई सजाय दिँदा पीडाबोध गरेको छ । यहाँ शिक्षकको दोहरो चरित्रप्रति छेड प्रहार गरिएको छ ।
(ज) केही विद्यार्थीहरूलाई टाउकोमा टुक टुक पारिन् र अगाडि उभिएर भनिन्– 'पढ्न आएको हो कि हल्ला गर्न ?’ एकै छिनमा सबै विद्यार्थी डरले मौन भए । ती मध्ये एक जना विद्यार्थी अलिक निर्भिक रहेछ । जुरुक्क उठेर प्रश्न गर्यो 'आफूचाहिँ विद्यार्थी पढाउन आएको हो कि विद्यार्थी पिट्न ?’ (आचार्य २०७६ : ५९) ।
यस अंशमा विद्यार्थीलाई प्रभावित पारेर उनीहरूलाई पढाउनुको सट्टा पिट्ने र हप्काउने काम सही नभएको दृष्टिकोण आएको छ । लघुकथामा विद्यार्थीवर्गभन्दा शिक्षकवर्ग अझ बढी जिम्मेवार हुनुपर्ने विचार व्यक्त गरिएको छ । यस रचनामा विद्यार्थीमा हुने अत्यधिक बल प्रयोगप्रति विद्यार्थीको असन्तोषलाई व्यक्त गरिएको छ ।
नेपाली लघुकथामा शिक्षकवर्गका अवाञ्छित गतिविधिले समाजमा नराम्रो असर पर्ने भएकोले यस किसिमका कार्यप्रति विमति भाव व्यक्त गरिएको छ । लघुकथा रचनामा एकातिर शिक्षकवर्गले भोग्नुपरेका समस्यालाई प्रस्तुत गरिएको छ भने अर्कातिर शिक्षकवर्गका क्रियाकलापमा रहेका विसङ्गति पनि व्यक्त गरिएको छ ।
(झ) उसका आँखा सिढींतिर सोझिए । आफूभन्दा आधा उमेरकी देखिने युवतीलाई अगि लगाएर एकजना अधबैंसे मानिस रुमालले निधार पुछ्दै झरिरहेको थियो ….उसलाई देखेर प्रौढ झसङ्ग भए, एकैछिनमा सम्हालिए र उसको काननिर मुख ल्याएर सुटुक्क भने, “ल भोलि बिहान थेसिस लिएर मेरो घरमा आउनु । सही गरिदिउँला’’ (ढकाल. २०७६ : ६०) ।
यस अंशमा कुनै महिलासँग भएको प्राध्यापकलाई विद्यार्थीले देखेपछि उसको पोल खुलेको छ । आफ्नो पोल खुलेपछिको अवस्थालाई सम्हाल्न प्राध्यापकले विद्यार्थीलाई थेसिसमा सही गरेर सकिदिने आश्वासन दिएको छ । यहाँ आफूले गरेको गलत कामको पोल नखुलोस् भनेर सो आश्वासन दिइएको छ । लघुकथामा प्राध्यापकको अनैतिक कार्यप्रति व्यङ्ग्य आएको छ ।
(ञ) फटाफट छ कक्षादेखि नौ कक्षासम्मका विद्यार्थीको अनुमानित मूल्याङ्कन गर्यो । शिक्षकको भनाइ थियो– “वर्षभर पढाएका कुन विद्यार्थीले कस्तो लेख्छ भन्ने सबै थाहा छ । के को कापी जाँचिरहनू ।’’ उनको यो भनाई सुन्ने मानिसका लागि अपाच्य थियो । (पौडेल २०७८ : ५५) ।
यस अंशमा आफ्नो जिम्मेवारीबाट पर भाग्ने शिक्षकको क्रियाकलापलाई प्रस्तुत गरिएको छ । आफूले विद्यार्थीको कापी जाँच गर्नुको सट्टा अनुमानित नम्बर दिने उसको कार्यले उसमा जिम्मेवारीबोधको अभाव देखिन्छ । लघुकथामा शिक्षकको गैरजिम्मेवार कार्यप्रति व्यङ्ग्य पाइन्छ ।
ट) “नेपालभित्रै एउटा नेपाली नागरिकको बालकले नेपाली भाषा बोल्दा एक नेपाली नागरिक अनि नेपाली भाषै पढाउने मास्टरले पिट्नु पर्ने यो कस्तो विडम्बना सर !’’ भन्दै उनी डाँको छोडी छोडी रोए“ (निरौला २०७५. ३३) ।
यस अंशमा एक निजी विद्यालयको नेपाली भाषाको शिक्षकले विद्यार्थीलाई नेपाली भाषामा बोलेको कारण पिट्नुपरेको अवस्थालाई प्रस्तुत गरिएको छ । आफ्नै राष्ट्रभाषा बोलेका कारण विद्यार्थीलाई पिट्नु परेकोमा शिक्षकमा पीडाबोध देखिन्छ । लघुकथामा निजी विद्यालयद्वारा विद्यालयमा नेपाली भाषाको उपेक्षा गर्ने कार्यको आलोचना गरिएको छ । नेपाली लघुकथामा शिक्षा क्षेत्रका विकृतिविरोधी चेतना सशक्त किसिमले अभिव्यक्त भएको पाइन्छ ।
शिक्षण संस्था एवम् संस्थाप्रमुखको गतिविधिको चर्चा
नेपाली लघुकथामा शिक्षण संस्था एवम् संस्थाप्रमुखका गतिविधिको चर्चा पनि गरिएको पाइन्छ । यी लघुकथामा शिक्षण संस्था एवम् संस्था प्रमुखले गरेका कार्यले सिङ्गो शिक्षा क्षेत्र प्रभावित हुन्छ । यस अध्ययनमा कपिल लामिछानेको कलेज र माग, नारायण तिवारीको जसको हात जुँगा मुसार्नमा उद्यत थियो, टुकादेवी पौडेल आचार्यको हिसाब एवम् विधान आचार्यको योग्यताको कदर लघुकथाको विश्लेषण गरिएको छ :
(क) विद्यार्थी र प्रिन्सिपलबिच घन्टौँ छलफल र वार्ता भयो । प्रिन्सिपलले यथासम्भव शिक्षकको बचाउ गर्न खोजे, तर विद्यार्थी प्रतिनिधिले मानेनन् । अन्ततोगत्वा एक शिक्षकलाई कलेजबाट निकाल्नुपर्यो । केही समय पछि पुनः कलेजमा खिचलो भयो…. एक शिक्षक निकालिए । शिक्षकका साहै प्रिय प्रिन्सिपल शिक्षकका नजरबाट गिर्दै गए । …. अन्त्यमा विद्यार्थीले एक अर्को आन्दोलन छेडे …. उनी राजीनामा दिन बाध्य भए । कलेज बन्द भयो । अहिले कलेजको नामनिसान छैन (लामिछाने २०६८ : ५५) ।
यस लघुकथामा एक प्रिन्सिपलले न्याय र सत्यको बाटोभन्दा विद्यार्थी सङ्गठनको दवाबमा शिक्षकलाई कामबाट निकालेका छन् । लघुकथामा विद्यार्थी सङ्गठनका नाममा गरिएका अराजकता एवम् प्रिन्सिपलको दब्बु प्रवृत्तिको आलोचना गरिएको छ ।
(ख) केही दिनपछि नै मेरा केटाकेटी त्यो च्याउ स्कुलतिर देखाउँदै चिच्याउन थाले, 'हामी यै स्कुलमा पढ्ने, हामी यै स्कुलमा पढ्ने……’ मेरो आँखामा चलचित्रभाँती त्यो च्याउ स्कुलको मालिकको अनुहार उत्रियो । उसको हात जुँगा मुसार्नमा उद्यत थियो र आँखाले मैलाई हियाउँदै बोलिरहेको थियो, 'देख्यौ त, तिम्रा बच्चाहरूलाई मैले कसरी गुलियो चटाएँ…..! तिमीले मेरो ॅनमस्कार’ मिठाई नचाटेर के भो र….!’ (तिवारी. २०५७ : ७४) ।
यस अंशमा अभिभावक प्रभावित गर्न नसकेपछि ससाना केटाकेटी प्रभावित गरेर आफ्नो व्यापार बढाउने बोर्डिङ मालिकको क्रियाकलापलाई प्रस्तुत गरिएको छ । यस रचनामा बोर्डिङ मालिकको कार्यप्रति असहमति व्यक्त गर्न म पात्रको आँखामा चलचित्रभाँती च्याउ स्कुलको मालिकको अनुहार आउनु, उसको हात जुँगा मुसार्नमा उद्यत हुनु र आँखाले म पात्रलाई हियाउँदै बोल्नुजस्ता क्रियाकलापलाई प्रस्तुत गरिएको छ । यहाँ बोर्डिङ मालिकको कार्यप्रति असहमति एवम् व्यङ्ग्यभाव आएको छ ।
(ग) नमस्ते ! नमस्ते, दीपक सर, खासै केही होइन । तपाईं स्कुलमा बस्नु भयो । पूरा सम्झौताअनुसार तपाईंलाई तलब–सुविधा दिएका थियौं तर हामीले तपाईंको विकल्पमा तपाईंले खाईपाई आएको तलब सुविधा भन्दा पचास प्रतिशत कम सुविधामा अर्को शिक्षक पाएकाले तपाईंलाई बिदाई गरेका हौं, तपाईंले पाउन बाँकी रकम आज नै बैङ्क खातामा राखिदिने छौं । (पौडेल आचार्य २०७८ : ९२) ।
यस अंशमा निजी क्षेत्रका विद्यालय सञ्चालकले शिक्षकको शोषण गरेको घटनालाई प्रस्तुत गरिएको छ । विद्यालयमा कार्यरत शिक्षकलाई हटाउनु, नयाँ शिक्षकलाई आधा तलब दिएर राख्नुले उसमा शोषण गर्ने प्रवृत्ति रहेको छ । लघुकथामा निजी क्षेत्रका विद्यालय सञ्चालकको गलत क्रियाकलापलाई देखाइएको छ ।
(घ) गज्जब ! आफन्तका रूपमा आंशिक, अनि त्यही आंशिकलाई करार र त्यही करारलाई स्थायी ! कहाँ छ प्रतियोगिता ? कहाँ छ संविधानले भनेको समानता ? भाउन्न भएर रमाबल्लभले अन्तर्वार्ता नै नदिई बाहिरियो । (आचार्य २०७६ : ६०) ।
यस अंशमा नेपालको उच्च शिक्षाका क्षेत्रमा भएको बेथितिलाई प्रस्तुत गरिएको छ । लघुकथामा प्राध्यापक नियुक्त गर्ने आंशिक, करार एवम् स्थायी नियुक्ति गर्ने क्रममा हुने अवाञ्छित गतिविधि एवम् प्रक्रियाप्रति व्यङ्ग्य गरिएको छ । यहाँ विनाकुनै प्रतियोगिता असमान तरिकाले आफन्त पोस्ने कार्यले नेपालको उच्च शिक्षाका क्षेत्रमा बेथिति बढेको र अराजकता सिर्जना भएको यथार्थलाई प्रस्तुत गरिएको छ ।
नेपाली लघुकथामा प्रस्तुत शिक्षा क्षेत्रसँग सम्बन्धित लघुकथाको अध्ययनका निष्कर्षहरू यसप्रकार रहेका छन् :
(क) नेपाली लघुकथामा अभिभावक एवम् विद्यार्थीवर्गले आफ्नो भूमिकाप्रति लापरवाही गरेको, जिम्मेवारीबोध नभएको अवस्था चित्रण गरिएको छ । लघुकथामा अभिभावक एवम् विद्यार्थीवर्गका गलत चिन्तन एवम् क्रियाकलापप्रति व्यङ्ग्य गरिएको छ ।
(ख) नेपाली लघुकथामा शिक्षकवर्गले आफ्नो पेशागत धर्म निर्वाह गर्न नसकेको, इमान्दारिताको अभाव रहेको घटनाको प्रस्तुति पाइन्छ । यी रचनामा शिक्षकवर्गले पेसागत इमान्दारिता देखाउन सकेमा शिक्षा क्षेत्रले सकारात्मक परिवर्तन पाउने विचार व्यक्त गरिएको छ ।
(ग) नेपाली लघुकथामा शिक्षण संस्थाले आफ्नो जिम्मेवारी सही किसिमले पूरा नगरेको घटना प्रस्तुत छ । संस्थाको प्रमुख जिम्मेवारी पाएका मानिसले संस्थालाई सही दिशामा लग्नुपर्नेमा गलत बाटामा लग्दा दुर्घटना भएको पाइन्छ । नेपाली लघुकथामा शैक्षिक क्षेत्रमा असल कार्य हुनुपर्ने र सबैले इमानदारिता देखाउनुपर्ने भाव व्यक्त भएको छ । उच्च शिक्षाका क्षेत्रमा गलत किसिमले जनशक्ति नियुक्त हुने कार्यका कारण बेथिति बढेको सन्दर्भलाई प्रस्तुत गरिएको छ ।


No comments:
Post a Comment