Monday, August 17, 2026

लघुकथा (अङ्क ३७ मा प्रकाशित)


गाउँमा नयाँ सडक बन्यो । उद्घाटनका दिन नेता, कर्मचारी र ठेकेदारले रिबन काटे । भाषणमा विकासको नारा घन्कियो । गाउँलेहरूले पनि अब चाहीँ विकासको लहर आउने भो भनेर विश्वास गर्दै ताली पिटिरहे । 

वर्षात् सुरु भयो । भारी वर्षा भयो । पानीले सडक बगाएको थिएन । तर खुइलिएको कालोपत्रे बालुवा देखिएको थियो ।

एउटा कोही पढ्यालेख्या मान्छेले अख्तियारमा उजुरी राखिदियो । अख्तियारले छानबिन समिति बनायो । स्थलगत निरिक्षणको लागि गाउँमा टोली आयो । नापजाँच भयो । फाइल पल्टाइयो । 

कागजमा सबै कुरा नमुना थियो— गुणस्तरीय सामग्री, समयमै सम्पन्न काम, पूरा भुक्तानी । दोष कतै भेटिएन ।

त्यतिबेला एक वृद्ध किसान भत्किएको सडकबाट एउटा गिट्टी उठाएर समितिका प्रमुखको हातमा राख्दै भन्यो, “यसलाई प्रयोगशालामा होइन, आफ्नो अन्तःकरणमा जाँच्नुस् । प्रतिवेदनमा भ्रष्टाचार नदेखिएला, तर यो ढुङ्गाको हरेक चिरामा जनताको कर रोइरहेको छ ।”

समितिका सदस्यहरू एकअर्काको अनुहार हेर्दै फर्किए ।

केही दिनपछि प्रतिवेदन सार्वजनिक भयो—“निर्माण कार्य मापदण्डअनुसार सम्पन्न भएकोले अनियमितता नदेखिएको ।”

त्यसै साँझ गाउँलेहरूले भत्किएको सडकको छेउमा एउटा सानो बोर्ड गाडे— “यो सडक जनताका लागि बनेको होइन, उद्घाटन समारोहका तस्बिरका लागि बनेको हो ।”

– पनौती काभ्रे

...........................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment