"गरिबीको कारण ममतामयी आमा र सानी बहिनीको मायालाई त्यागेर उज्यालो भविष्यको आशामा वाध्यताले विदेशमा मजदुरी गरेर काम गर्न बसेको पनि पाँच वर्ष बितिसकेछ ।’’ यति भन्दै विवेकले लामो सुस्केरा हाल्यो । उसलाई घरपरिवारको सम्झनाले धेरै दिन देखि छट्पटी बनाइरहेको थियो ।
उसले मनमनै सोच्यो, “यदि पंक्षी भइदिएको भएपनि उडेर तुरुन्तै घर जाने थिँए होला ।’’
विदेशको विभिन्न कानुनी झमेलाको कारणले चाहेर पनि विवेक स्वदेश फर्कन सकिरहेको थिएन । बल्लतल्ल कुनै तरिकाले चाँजोपाँजो मिलाएर उ सधैँकोलागि आफ्नो जन्मभूमि फर्क्यो । आफ्नो जन्मभूमि फर्किन पाएकोमा उसको खुशीको कुनै सिमा थिएन ।
तर दुर्भाग्य…! विवेकको खुशी एकछिन पनि टिक्न सकेन । उसले आफू जन्मेर हुर्केको न त ठाउँ पहिल्याउन सक्यो, न त घरटहरा नै देख्यो । न त त्यहाँ आफ्नो आमा र बहिनी नै थिए । केवल भत्काएर छाडिएका उराठ लाग्दो घरटहराका अवशेषहरू मात्र देख्यो । उसको आँखा रसाएर आयो अनि हातगोडा काम्न थाले । उसले मनमा गाँठो पार्दै वेदना पोख्न थाल्यो,
“हे विधाता…! म यो के बिचल्ली देख्दैछु…! एउटा घरवारविहीन वास्तविक सुकुम्बासीले जिन्दगीमा भोग्नुपर्ने सबभन्दा ठूलो पीडाको छट्पटी आफ्नो आश्रयस्थलबाट उठिबास हुनु पो रहेछ ।’’ अब के गर्ने, कहाँ जाने उसले केही सोच्नै सकेन । उ स्तब्ध बन्दै भुइँमा थचक्क बस्यो ।
– का.म.न.पा वडा नं. ७


No comments:
Post a Comment