Sunday, July 12, 2026

व्यक्तित्व (अङ्क ३६ मा प्रकाशित)


आधुनिक नेपाली कथा–परम्पराको 'नवचेतनाको युग’ (सं. २०२०–३९) मा कथाकार गोरखबहादुर सिंह (सं. २००८–६८) देखा परेका हुन् । उनको पहिलो कथा हो 'कालेका गीतहरू’ (सं. २०२९) जुन 'सुस्केरा’ पत्रिकामा प्रकाशित भएको थियो । एम.पी.ए. तथा एम.फिल. उपाधि प्राप्त गरेको उनको अभिरुचि अनुवाद र सम्पादन कार्यमा पनि रहेको देखिन्छ । सरकारी सेवासँग आबद्ध रहेर उनले धेरै वर्षसम्म सेवा गरे । उनी 'उपत्यकाव्यापी अन्तरकलेज साहित्यिक प्रतियोगिता’ (सं. २०२८) मा प्रथम, ने.क.पा. (मा.ले.) प्युठान–काठमाडौँ मञ्चद्वारा साहित्य सेवावापत अभिनन्दन (सं. २०४९), 'असहाय मिलन केन्द्रद्वारा नागरिक अभिनन्दन तथा सम्मान’ (सं. २०६०) र 'चौथो राष्ट्रव्यापी खुला लघुकथा प्रतियोगिता’ मा निर्णायकका रूपमा प्रशंसापत्र (सं. २०६१) द्वारा सम्मानित भइसकेका छन् । उनका प्रकाशित कथासङ्ग्रहहरू हुन् :

१. भाषणको तयारी (सं. २०४९ः कथासङ्ग्रहहरू)
२. आलुप्याज / प्याजआलु (सं. २०६१ः कथा र कथासङ्ग्रहहरू)
३. नगरसभाको पाँचौं दिन (सं. २०६५ः कथासङ्ग्रहहरू) सिंह बालसाहित्यका पनि सर्जक हुन् ।

गोरखबहादुर सिंहका कथाहरूमा युगीन सन्दर्भहरू यथेष्ट मात्रामा पाइन्छन् । उनले समसामयिक राजनीति, शासन व्यवस्था र प्रशासनका क्षेत्रमा देखिएका विकृति र दौर्बल्यहरूको जीवन्त चित्र उतारेका छन् । यस सन्दर्भमा उनले के देखेका छन् भने मन्त्रीज्यूहरू आन्दोलनमा लागेर घाइते समेत भई योगदान गर्ने युवाहरूलाई पर पन्साएर आफ्ना नजिकका नातेदारहरूलाई रिक्त पदमा नियुक्त गर्दछन् ('अमृत मन्त्रीका भान्जा पर्दैनन्‌’ कथा), ती मन्त्रीहरूलाई विक्रम टेम्पोले फालेको कालो–बाक्लो धुवाँमा सुगन्ध पाउँदछन्, किनभने देशमा त्यस्ता वायु प्रदूषक तीनपाङ्ग्रे आयात गर्नमा तिनीहरूकै ठुलो हात रहेको हुन्छ ('विक्रम टेम्पोको धुवाँ’ कथा), ती मन्त्रीहरूले मातहतका सचिव आफू अनुकूल नभएमा सरुवाको प्रक्रिया चलाउन कति पनि लाज मान्दैनन् ('नियत’ कथा), पहिरो पीडित क्षेत्रको निरीक्षणमा गएको मन्त्रीले पाइलटसँग कुरो मिलाएर हेलिकोप्टरलाई आफ्नो निर्वाचन क्षेत्रतर्फ लान लगाउँदछन् ('मौसम/बेमौसम’ कथा) आदि । कथाकारले देश चलाउने मन्त्रीको दुराशय तथा स्वार्थी प्रवृत्तिको चित्रण यसरी गरेका छन् :

जनैपूर्णिमाको दिन त्रिवेणीमा रमाइलो मेला लाग्थ्यो र त्रिवेणी मन्त्रीज्यूको निर्वाचन क्षेत्रभित्र पर्दथ्यो । मेलामा हुने जमघट, भेटघाट, नजिकिँदो निर्वाचन मन्त्रीज्यू फेरि समाचारको शीर्षकमा पुग्नु भयो 'आज जनैपूर्णिमा’ ।

“क्याप्टेनसा’ब, 'फर्कदा एकछिन त्रिवेणी पस्ने कि ? सारै रमाइलो मेला लाग्छ ?’’ मन्त्रीको भाषामा अनुरोधको मात्रा प्रशस्त मिसिएको थियो ।

“दुवै ठाउँ पुग्न इन्धन र समय दुवै कारणले सम्भव छैन । बरु मन्त्रीज्यूलाई गन्तव्य बदल्ने मन छ भने मलाई आपत्ति छैन ।’’

“आज प्रतिकूल मौसमका कारण मन्त्रीज्यू चढ्नुभएको हेलिकोप्टर पहिरो पीडित क्षेत्रमा पुग्न नसकी बिचैबाट फर्कनुपरेकाले पहिरो पीडित क्षेत्र निरीक्षण गर्न सक्नुभएन ।’’ त्यसै साँझ रेडियो तथा टेलिभिजनबाट प्रसारित यो समाचार पहिरो पीडित र मन्त्री दुवैले सुन्न सकेनन् । पहिरो पीडित हेलिकोप्टर ओर्लन सक्ने गाउँ सिरानको एक मात्र चौरमा दिउँसोदेखि थुप्रिएर आकाशमा हेलिकोप्टर खोजिरहेका थिए ।

मन्त्रीज्यू त्रिवेणी मेलाबाट फर्कदा सँगै ल्याउनुभएका कार्यकर्तासँग चियर्स र 'आउँदो चुनाव जसरी पनि जित्ने’ रणनीति निर्माणमा व्यस्त हुनुहुन्थ्यो । ('मौसम/बेमौसम’ कथा)

पहिरोपीडितहरूलाई लात मारेर सरकारी ढुकुटीमा आफ्नो निजी काम फत्ते गर्ने ती मन्त्रीज्यूको अराष्ट्रिय र नैतिकताहीन कृत्यको भण्डाफोर गर्ने काम कथाकारले गरेका छन् । साँच्चै नै उनी के देख्दछन् भने हाम्रो देशका नेता भनाउँदाहरू देशलाई बाजीमा राखेर कुर्सीका निमित्त परस्परमा लडिरहन्छन् ('बाजी’ कथा), ती नेताहरू चुनावका बेला जनतालाई मिठो सपना बाँडेर आफूचाहिँ के गर्छन् त ? कथाकारले 'बेवारिस घोषणापत्र’ मा लेखेका छन् :

मेहनतअनुसार घोषणापत्रले बाहिर आउनेबित्तिकै व्यापक प्रचारप्रसार र जनसमर्थन पायो । अन्य पार्टीको हप्तौंको दौडधूपलाई उक्त घोषणापत्रले निकै पछाडि पार्‍यो । एक किसिमको उक्त घोषणापत्रले तहल्कै मच्यायो ।

घोषणापत्र जारी गरिएको लगत्तै उक्त घोषणापत्रको स्वागत र समर्थनमा जनस्तरबाट भव्य जुलुस र आमसभाको कार्यक्रम तय गरियो । कार्यक्रमअनुसार तोकिएको दिन जुलुस उक्त पार्टीको कार्यालय अगाडि पुगेर जिन्दाबाद जिन्दावाद भरिएका जोसिला नारा चिच्च्याउन थाल्यो ।

तर लामो समयसम्म उफ्रीउफ्री नारा चिच्च्याउँदा पनि कुनै नेताको उपस्थिति नदेखिएपछि जुलुसका केही अगुवाहरू कार्यालयभित्र पुगे । तर पार्टी कार्यालयभित्र सबै कुर्सीहरू रित्तै थिए । नेताको 'न’ पनि बाँकी थिएन ।

आकर्षक तर बेवारिस घोषणापत्रले भने यत्रतत्र थुप्रिएर छरिएर कार्यालयहरूको शोभा बढाइरहेका थिए ।

कथाकार गोरखबहादुर सिंह के देख्छन् भने विद्यार्थी नेतासमेत राजनीतिक दुराग्रह राख्नुका साथै आफू होचो कदको भएर अम्बाको रुख काट्नुपर्ने कुरामा हठ गर्दछन् ('अम्बाको रुख मुर्दावाद’ कथा)। कुनै एक पार्टीको भ्रातृसङ्गठनको केन्द्रीय अध्यक्ष भई टोपलेको मान्छे मन्दिरमा भगवान्‌को दर्शन गर्न जाँदा लाममा नबसी मै हुँ भनेर धाँधली गर्न कुनै लाज मान्दैन ('कोर्न नसकिने सीमारेखा’ कथा) । नेता भनाउँदाहरूकै यस्तै घृणित क्रियाकलापले गर्दा केही काम नलाग्ने मान्छेको भाग्यरेखा हेरेर ज्योतिषले उसलाई राजनीति फाप्ने भविष्यवाणी गर्नु ('भाग्यरेखा’ कथा) कुनै अनौठो कुरो होइन । यस्तै नेताहरूले गर्दा देश र देशको राजनीतिको दुर्गति भएको निष्कर्ष यी कथाकारले निकालेका छन् ('फरक पर्ला र !’ कथा) । यस दुर्गतिले राष्ट्रियता खतरामा पुगेको कुरो पनि यी कथाकारले देखेका छन् (क्रमशः 'काँचो हलुवाबेद’ र 'अछुत परिकार’ कथा)। नेता र राजनीति ठिक नभएपछि जनताका लागि प्रजातन्त्र भन्ने कुरा बच्चोलाई चिची दिएर फकाएजस्तो मात्र हुनु स्वाभाविकै हो ('आलुप्याज/प्याजआलु’ कथा) भन्दै यी कथाकारले जनताका लागि प्रजातन्त्र के जस्तो भएको छ ? भन्ने प्रश्नको उत्तर यसरी दिएका छन् :

तर ठिटाहरूको चियाबँडाइमा गडबड भयो । कतै स्वाद तितो हुने गरी चियाकफीको मात्रा बढी, कतै टर्रो र अमिलो हुने गरी राखिएको कागतीको मात्रा, कतै दुधमा कागती, कतै दुध, चिनी खाने/नखानेमा उल्टोपाल्टो ।

“कस्तो पुङ र पुच्छरको चिया ! चियाको सट्टा कपभरि गाईजात्रा मिसाएजस्तो । ताल न बेतालको चिया ।’’ सहभागीले गुनासो पोखे ।

“चिया त यस्तै हो । कमसेकम पाउनु त भयो त्यसैमा आफूलाई धन्य ठान्नुस् । बरु तपाईंहरूलाई छुट छ – चिया पिउने मन छैन भने नपिउँदा हुन्छ ।’’

केही पहिलेसम्म सहृदयी देखिने ठिटाहरू एकाएक अल्लारे पाराले रुष्ट रूपमा पेस भए । त्यसपछि सहभागीहरूले कुनै गुनासो नगरी खुरुखुरु चिया पिउन थाले । मानौँ गोष्ठीका ती सहभागीहरूले उनीहरूकै रुचिअनुसारका पेय पदार्थ पिइरहेका छन् ।

कथाकार गोरखबहादुर सिंहले हाम्रो देश नेपालको प्रजातन्त्रको वर्तमान अवस्था झल्काउनका लागि सटीक उदाहरण प्रस्तुत गरेका छन् । उनले के कुरो स्पष्ट पारेका छन् भने देशको अत्यन्त फोहर राजनीतिक खेलका कारण बारम्बार सरकार परिवर्तन भइरहने कुरो ('साइकल नियति’ कथा) छँदै छ, नागरिकहरूमा समेत राजनीतिक विकृतिको प्रभाव परेको छ ('सुरक्षा फिर्ती’ कथा) ।

कथाकार गोरखबहादुर सिंहले देशको प्रशासन क्षेत्र पनि विकृतिहरूद्वारा आक्रान्त भएको पाएका छन् । 'समाधान’, 'चिरा परेको खेत’, 'बिग्रिएको छोरो’, 'अजम्मरी गाई’, 'कङ्गारुको सिकार’, 'इज्जत यन्त्र’, 'कार्यालय सरेको सूचना’, 'कुइँकेल सरको सक्रियता’, 'दक्कलसा’बको अक्कल’, 'नगर सभाको पाँचौँ दिन’, 'पदोन्नति’, 'भर्‍याङ’ र 'भोटे ताल्चा’ कथाहरूमा उनले प्रशासन क्षेत्रमा हुने अनियमितता, भ्रष्टाचार, अनाचार, चाकडी चुक्ली आदि यथार्थ रूपमा देखाइदिएका छन् । उनी के देख्दछन् भने मुलुकमा माथिल्लो पदमा बस्ने हाकिमहरूले ठुलो भ्रष्टाचार गर्दछन् र गठित आयोगले जाँचबुझ गर्छ सुकुम्बासी टोलमा ('समाधान’ कथा), देशमा जसले भ्रष्टाचार गरिरहेको हुन्छ, त्यसलाई होइन भनेर प्रमाणित गर्ने काम हुन्छ ('इज्जतमन्त्र’ कथा), भन्सारको पियनले प्रत्येक दुई वर्षमा कि त घर बनाउँछ अथवा कि त नयाँ घर किन्छ ('बिग्रिएको छोरो’ कथा), कुनै कार्यालयको खरदारले पहिलो वर्षमै सहरमा घडेरी किन्छ, अर्को वर्ष घर ठड्याउँछ र वर्षेपिच्छे तला थप्दै जान्छ ('पदोन्नति’ कथा) ।

प्रशासन क्षेत्र भ्रष्टाचारग्रस्त भएको कुरालाई उनले 'कुइँकेल सरको सक्रियता’ भन्ने कथामा यसरी स्पष्ट पारेका छन् :

मनसुनको समयमै आएको बाढीका कारण नदीले आफ्नो साबिक बाटो परिवर्तन गरी पुलको एकातर्फको पिलरमा ठोक्किन पुग्यो’ । नदीका दुवैतिर बाक्ला बस्ती मात्र थिएनन्, जिल्लाको आधा भागले सदरमुकाम जानका लागि त्यही पुलको भर पर्नुपर्दथ्यो ।

पुल भत्किएमा त्यसबाट आइपर्ने अप्ठेरो दृष्टिगत गरी जनप्रतिनिधिहरूले प्र.जि.अ. श्रीमान् कुइँकेललाई भेटी पुल संरक्षणका लागि दर्जनौं पटक अनुरोध गरे । तर जति पटक र जसरी अनुरोध गरे पनि कुइँकेल सरको 'विचार गरौंला’ भन्ने थेगो दोहोरिनुबाहेक पुल संरक्षणतर्फ अरू कुनै विचार हुन सकेन ।

वर्षा लागेको धेरै भएको थिएन, साँच्चै नै पुल भत्कियो । प्र.जि.अ. कुइँकेल पुल निर्माणका लागि एकाएक सक्रिय भए। उनी पटकपटक केन्द्रमा सम्पर्क राख्दै दोहोर्‍याउन थाले – "तुरुन्त पुल नबने जिल्लामा शान्ति सुरक्षा कायम राख्न सकिन्न ।’’

पुल भत्किनुपहिले र पछिका सबै निष्क्रिय/सक्रिय क्रियाकलाप नजिकैबाट नियालिरहेकी श्रीमतीले सोधिन् – “पुल नभत्कँदै मर्मतका लागि त्यतिविघ्न अनुरोध आउँदा हजुरले यादै गर्नुभएन, तर भत्किएपछि यति धेरै सक्रियता किन हजुर ?’’

श्रीमती कुइँकेलको प्रश्न अनुत्तरित रह्यो । श्रीमान् कुइँकेल पुल निर्माण गर्दा भरिने भण्डारको लेखाजोखामा यतिविघ्न हराइरहेका थिए कि उनले आफ्नी श्रीमतीलाई सुनेकै थिएनन् ।

पुल, सडक, भवन आदिको निर्माण कार्यमा हुने गरेको भ्रष्टाचारका कारण निर्मित पुल, सडक, भवनहरू अत्यन्त कच्चा भई छोटो आयुको हुनु वा चाँडै बिग्रनु वा भत्कनु स्वाभाविकै हो । यही कुरालाई सङ्केत गर्दै कथाकार सिंहले 'कङ्गारुको सिकार’ कथामा यो कुरो लेखेका छन् :

“थाहा पायौ, इन्जिनियर हरिकृष्ण मरेछन् नि’’

“के भएर मरेछन् ?’’

“गए रातिको भुइँचालोले’’

“तर गए रातिको भुइँचालो त चार रेक्टर स्केलको मात्रै थियो नि त । यसैको घरगोठसम्म भत्किएको छैन ।’’

“घरगोठ नभत्केर के गर्ने ? इन्जिनियरको मृत्युको कारण भुइँचालो बाहेक अरू होइन ।’’

“त्यो कसरी ?’’

वास्तवमा मलाई त इन्जिनियरको मृत्यु टिन ठटाएर गरिने कङ्गारुको सिकार जस्तै लाग्यो ।’’

“कुरा अलिक सोझै गर न भाइ, तिम्रो कुरा बुझ्न सधैं गाह्रो हुन्छ ।’’

“यसमा बुझ्न गाह्रो के छ र, आवासगृह इन्जिनियर आफैले बनाएका थिए ।’’

“आवास गृह आफैं बनाउनु र उनको मृत्युको सम्बन्ध ?’’

“उनले आवासगृह बनाउँदा यो आवासको बलियो निकालेर उनको काठमाडौँको निवासमा पुर्‍याएका थिए ।’’

कथाकार गोरखबहादुर सिंहले कार्यालयका हाकिम नियमविपरीत चल्ने गरेको ('दक्कलसाबको अक्कल’ कथा), न्यायकर्ताहरू यसका प्रेमी भएको 

('अजम्मरी गाई’ कथा) र कर्मचारीहरूले सरुवा हुन पनि पार्टीको सदस्यता लिनुपर्ने ('कार्यालय सरेको सूचना’ कथा) जसमा विकृत्तिहरूलाई खुला रूपमा देखाएका छन् । यसै सन्दर्भमा उनले हाम्रो देशको शासन तथा प्रशासनका संयन्त्रमा देखिएको अत्यन्त घृणास्पद विकृतिलाई यसरी चित्रण गरेका छन् :

मन्त्रिपरिषद्मा दातृसंस्थाबाट त्यसै दिन प्राप्त पत्र पेस गरियो । पत्रमा शिक्षा, स्वास्थ्य, कृषिलगायत देशका विभिन्न क्षेत्रको विकासका लागि आर्थिक सहयोग उपलब्ध गराउने दातृसंस्थाहरूले 'निकट भविष्यमा सहयोग उपयोगको संयुक्त अध्ययन गरिने’ जानकारी दिएका रहेछन् ।

परिषद्मा कुन–कुन क्षेत्रमा कुन–कुन आयोजना अवलोकन गराउने भन्ने बारेमा लामो छलफल भयो । त्यस्ता आयोजना पहिचानका लागि धेरै प्रयास गरिएको तर कुनै क्षेत्रमा पनि अध्ययन टोलीलाई अवलोकन गराउन उत्साहवद्र्धक आयोजना भेटिएन । पत्रमा लिखित अध्ययन समय नजिकै थियो अवलोकनका लागि उपयुक्त आयोजना नभेटिए पनि कमसेकम सहयोग थुप्रिएका भण्डारहरू नदेखिउन् भन्नेमा परिषद् चिन्तित देखियो । त्यसैले परिषद्ले निर्णय गर्‍यो “सहयोग थुप्रिएका भण्डारहरू नदेखिने व्यवस्था आ–आफ्नो क्षेत्रबाट पूर्ण सक्रियताका साथ सम्पन्न गर्ने ।’’

त्यसको भोलिपल्टदेखि मन्त्री, उच्च पदस्थ कर्मचाारी तथा नेताका भण्डारको ढोकामा भोटे ताल्चा झुन्डिएको देखिन थाल्यो । ('भोटे ताल्चा’ कथा) ।

यसरी कथाकार गोरखबहादुर सिंहले समग्रमा देशको राष्ट्रिय परिवेश भित्रभित्रै धमिराले खाएर खोक्रो र कमजोर भएको कुरालाई आफ्ना कथाको कथ्य बनाएका छन् ।

गोरखबहादुर सिंह मान्छेका मनोवृत्तिका विविध रूपलाई चिनाउने सचेत कथा सर्जक पनि हुन् । उनको दृष्टिमा मान्छेभित्र पाशविक तथा बर्बर संस्कार रहने भएकाले स्वार्थ, पाखण्ड, क्रूरता, दायित्वहीनता, ईर्ष्याभाव, परपीडक, कृतघ्नता, आशङ्का आदिले मान्छेको साथ छाड्दैनन् । तसर्थ उनी मान्छेभित्र के पाउँदछन् भने स्वार्थी मान्छेले आफ्नो कमजोरी वा भुललाई लुकाउन अरूमाथि कुदृष्टि राख्दछन् ('कि चल्छ लोकसेवामा पनि ? 'कथा), अरूलाई दिने कुरामा कुनै न कुनै बहाना बनाई नदिएरै आनन्दको अनुभव गर्दछन् ('मोहरको फिर्ती’ कथा), पाखण्डी पुण्य कमाउने नाममा अनेक पाखण्ड रची गरिबहरूप्रति चाहिँ दुर्व्यवहार गर्न पछाडि पर्दैनन् ('साहुजीको चारो’ कथा), वृद्ध भएका आफ्ना बाबुलाई वृद्धाश्रममा पठाएर छोराचाहिँले आफू आरोपबाट बच्न त्यस कार्यको अनुकूल अर्थ लगाउँदछन् ('आधुनिक विचार’ कथा), सङ्कटमा परेका मानिसहरूमध्ये केटीहरूलाई मात्र सहयोग गरी केटा मान्छेहरूलाई बेवास्ता गर्ने गर्दछन् ('सक्रिय उद्धार’ कथा), छिमेकी भएको नाताले उल्टै अर्को छिमेकीको ईर्ष्या र डाह गरी शत्रुता मोल्ने गर्दछन् ('जोडिएको घर’ कथा) र करको कारणले भगवान्लाई मनमा स्थान दिई दुःखी मान्छेलाई भने कति पनि वास्ता गर्दैनन् ('उदार मन’ कथा)। यसको अर्थ के हो भने मान्छे भन्ने जीव बाहिर देखावटी रूपमा सभ्य, सुशील र उदार जस्ता देखिए पनि भित्रभित्र भने अत्यन्त घृणित र तुच्छ हुन्छ भन्ने निष्कर्ष यी कथाकारले दिएका छन् । यसै सन्दर्भमा 'ठाडो ओरालो’ कथाका यी पङ्क्तिहरू हेरौं :

"हेर्नुस् त ! बरबाद भयो, त्यो अघि सहयोग माग्ने मान्छेलाई अहिले पो सम्झै ।’’ उनले आफ्नै थाप्लामा प्याट्ट हात बजाइन् ।

“को रहेछ र ?“

तपाईंको अपरेसन गर्दा रगत दिने मान्छे ।“ “धत्तेरिका“ साँच्चीकै बरवाद भएछ, विचराले के सोच्यो होला ?“

….. रगत दान गर्न आउनेहरूमा मेरो समूहको रगत पाइएन । मेरो रक्तसमूह अलि कम पाइने समूहमा पर्दथ्यो – ’ओ नेगेटिभ । यसैले मेरी श्रीमती र आफन्तमा ल्याएको छटपटी देखेर ब्लड व्याइकै एक जना कर्मचारीले रगत दिएका थिए । ती दाता त्यही थिए जसले भर्खर मात्र औषधि उपचारका लागि याचनायुक्त भावनामा भनेका थिए, “हजुर ! मुटुको अप्ठेरो रोग लाग्यो उपचारका लागि केही सहयोग पाउँला कि भनी हजुरको घर खोज्दै आएको । रहरले होइन हजुर करले ।’’ …..

ॅ'हत्तेरिका । साँच्चीकै बरबाद भएछ । जाऊ जाऊ बाबू खोजेर ल्याऊ । धेरै टाढा पुग्ने बेला भएको छैन । जेजति सकिन्छ मदत गर्नुपर्छ ।’’ बुबाले हामीसँगै बचेको मेरो छोरालाई हतारिंदै भन्नुभयो ।

“आ ! छोडदिऊँ हजुरबुबा, उसलाई दिन मन लाग्यो दियो । पुरानो भयो, पुरियो, अहिले आएर केको टाउको दुखाउनु ? हामीले ’रगत ले’ भनेर कर गरेका थिएनौ क्यारे ।

मान्छेको कृतघ्नी मनोवृत्तिको राम्रो उदाहरण यस कथामा दिइएको छ । कथाकार गोरखबहादुर सिंहले 'गुनको वैरी मानुस जाति’ भन्ने कथनलाई 'शङ्क निवारण’ भन्ने कथाबाट पनि पुष्टि गरेका छन् । बुढो मान्छे भनेर सहानुभूति राखेर सुब्बासाहेबले तुरुन्तै नागरिकताको प्रमाणपत्र बनाइदिँदा जुमानेले पटक्कै विश्वास गर्दैन र भेटेजति मानिस उसलाई सक्कली कि नक्कली भनेर सोध्दै हिँड्दछ । अर्काले गरेको सच्चा गुनमा पनि नचाहिँदो शङ्का गर्ने माथिको मनोवृत्तिलाई कथाकारले स्पष्ट पारिदिएका छन् । यसै सन्दर्भमा उनले मान्छेभित्रको पाखण्डी र देखावटी मनोवृत्तिलाई 'धर्म निर्वाह’ कथामा यसरी देखाएका छन् :

शशिधर थिए बाल शाकाहारी, उनका मुखबाट माछामासुका शब्दसम्म पनि उच्चारण हुँदैनथे । यहाँसम्म कि सम्भव भएसम्म साना–मसिना कमिला–किरा, फटेङ्ग्रा नफुल्चियुन् भनेर जुत्ता चप्पलसमेत नलगाई हिँड्थे अहिलेको जमानामा पत्याउन पनि अप्ठेरो ।

छोरा–नातिको रहर उनका घरमा परेवा पालिएका थिए । बेलाबेला घरमा मासुको आपूर्ति गरी धनपैसा बचतमा थोरबहुत सहयोग पुग्ने भएकाले पनि परेवापालनमा पण्डितजीको विमति थिएन ।

एक पटक परेवाका बच्चा उड्न तयार हुँदै थिए तर केटाकेटीहरूलाई त्यसको वास्तै थिएन । केही दिन पर्खदा पनि त्यतातिर केटाकेटीको ध्यान गएको नदेखेर पण्डितले नानीहरूलाई भने – “परेवाका बच्चा उड्न आँटिसके, जेसुकै गर ।’’

“बुझ्यौं, हजुरबा ठ्याक्कै बुझ्यौं ।“ हजुर बाको सङ्केतसँग चिरपरिचित नातिले जवाफ दियो ।

“सानो भनेर के गर्नु यो नाति यस्ता कुरा बुझ्‌नमा सारै सिपालु छ ।” त्यसपछि भने पण्डितको परेवाका बच्चा उडिहाल्छन् कि भन्ने पिरलो हरायो ।

आफू बाल शाकाहारी तर मासुका निम्ति पालिएका परेवाका बच्चा उड्लान् भन्ने मनमा चिन्ता लिने पण्डितजीको पाखण्डी र आडम्बरी मनोवृत्ति र 'दिनचर्या’ कथाको त्यो नाम्ले जसले प्रत्येक रात आत्महत्या गर्ने कुरो सोच्छ मात्र तर एउटा न एउटा बहाना बनाएर गर्दैन र बिहानै हातमा नाम्ले बोकेर काममा दौडन्छ, त्यस मान्छेको मनोवृत्तिसँग दुरुस्त मिल्दछ । कथाकार गोरखबहादुर सिंहले मान्छेहरूको चाकडी गर्ने र जागिर तथा अन्य कुराहरूको आशा गर्ने तुच्च मनोवृत्ति 'मधुवार्ता’, 'भर्‍याङ’, 'साथीको खोजीमा’ जस्ता कथाहरूमा देखाएका छन् । उनले 'टाउको दुखेको औषधि’ कथामा चाहिँ मान्छेको अर्काको खुट्टा तान्ने मनोवृत्ति देखाएका छन् । उनको विचारअनुसार मान्छे अहङ्कारी भएको हुनाले आफूलाई मात्र ठुलो ठान्ने मनोवृत्ति रहेको पाइन्छ भन्ने कुरा 'कृष्णबहादुरहरू’ र 'सक्कली पेटी’ कथाहरूमा उनले देखाएका छन् । यसरी यी कथाकारले विभिन्न परिवेश र अवस्थामा मान्छेहरूमा विभिन्न प्रकारका मनोवृत्तिको उद्घाटन गर्ने सन्दर्भमा मान्छेभित्रका मनोविकारहरूलाई देखाउने काम गरेका छन् ।

'समाधान’, 'कि चल्छ लोकसेवामा पनि ?’, 'आलुप्याज /प्याजआलु’, 'मयुरपङ्खी कलम’, 'फरक पर्ला र’, 'भोटे ताल्चा’ आदि लघुकथाहरूमा गोरखबहादुर सिंहको व्यङ्ग्य सिपको राम्रो उदाहरण पाउन सकिन्छ । उनले मान्छेको स्वभाव, आचारण र व्यवहार, आडम्बरी नेता र शासनतन्त्रभित्रको कमजोरी, खोक्रो राजनीति आदिलाई लक्षित गरेर व्यङ्ग्य गरेका छन् । उनले गरेको व्यङ्ग्यमा केही हास्य पनि मिसिएको हुन्छ ।

लघुकथाको विशुद्धतामा निकै ख्याल गर्ने गोरखबहादुर सिंहले 'आइडिया’, 'कुबेलाको बुद्धि’ र 'सर्वसम्मत सरुवा’ जस्ता ठट्यौलीहरूलाई सङ्ग्रहमा समावेश नगरेका भए राम्रो हुने देखिन्छ । यी तीनबाहेक उनका अन्य लघुकथाहरूमा विधागत सौन्दर्य अद्वितीय छ ।

निष्कर्षमा के भन्न सकिन्छ भने युगीन चेतनाको सशक्त अभिव्यक्ति र मानवीय मनोवृत्तिको रोचक उद्घाटनका दृष्टिले गोरखबहादुर सिंहलाई लघुकथाको स्रष्टाका रूपमा सौरभ नै मान्न सकिन्छ ।

--------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment