उसले कहिल्यै पानीको अर्थ बुझ्न सकेन । उसले पानीको गतिलाई धेरै पल्ट रोक्यो त्यसलाई स्वाभाविक रूपमा बग्न दिएन । पानीलाई धेरैपल्ट पोखरी बनायो । बग्दै गरेको पानीलाई रोकेर कुलेसा बनाएर पानी जान दिने, कहिले पानीलाई पोखरी बनाएर त्यसभित्र डुब्ने गर्थ्यो । नदीसँग बग्न उसलाई अत्यास लाग्थ्यो । एउटै नदीमा बग्नु उसलाई विश्वास थिएन । बग्दाबग्दै नदीमा ढुङ्गाहरू खस्थे कहिले रुखका हाँगाहरू भाँच्चिएर उसको छातीमा तेर्सिन्थे तब नदीको गति उसले रोक्थ्यो ।
एकदिन ऊ बग्दै थियो तब उसले पानीमाथि ढुङ्गामुढा वर्षेको पायो । तत्कालै आफ्नो गति रोकेर नदीलाई खाडलभित्र राख्यो । ऊ खाडलभित्र पस्यो । बिस्तारै खाडलले पानीको ऊर्जा पाउन सकेन । पानी सुक्दै गयो । खाडलबाट बाहिर निस्कँदा ऊ पोखरीको पानीमा डुबेर दुर्गन्धित भइसकेको थियो । त्यो गन्ध ह्वास्स आउन थाल्यो । बाहिर निस्केर हेर्दा त उसको नदी त खङरङ्ग सुकेर मरुभूमि भएको थियो । भयभीत भयो । आफ्नो निजी पानी कतै थिएन । उसको नदी पनि सुक्यो । पोखरी पनि सुक्यो । कुलेसाहरू पनि सुके । तिर्खा लाग्यो आकुलव्याकुल भयो, छटपटिन थाल्यो ऊ ।
ऊभित्रको पानीको ऊर्जा सुकेकाले उसलाई कठिन भयो बग्नलाई । आखिर नबगी उसलाई सुखै थिएन । अर्को नदीसँग पानी सापट माग्नुपर्ने स्थिति सृजना भयो । अरूसँग बग्नका लागि पानी सापट माग्नु उसको स्वाभिमान र आत्मविश्वासमा पहिरो जानु बराबर थियो । तर पानी नमागी उसलाई सुखै थिएन ।
पहिलोपल्ट छिमेकी नदीसँग गएर सापट माग्यो, पानी आफू बग्नका लागि । मागेजति पानी नपाए पनि जति दियो त्यसैमा बग्नुपर्यो । तर जब उसले अर्को नदीसँग पानी माग्यो बग्नका लागि नदीले उसको शरीरको एउटा महङ्खवपूर्ण अङ्गभङ्ग भएको देख्यो । जब नदीका चतुर आँखाहरू उसको अङ्गभङ्ग शरीरमा पर्यो, माग्ने नदी फेरि पोखरीमै परिणत भयो र त्यो सापटी मागेको पानीमा डुब्यो त्यो सुकेको नदी । फेरि त्यो ऊर्जामय भएर निरन्तर बग्न सकेन । किनभने उसको अन्तरको मूलस्रोत सुकिसकेको थियो ।


No comments:
Post a Comment