"खबरदार ! को हुन् यिनी तपाईंको साथमा ?’’ प्रहरीको आकस्मिक गर्जनल सीमा–नाकाको तातो हावामा एकाएक रापिलो द्वन्द्व सल्काइदियो ।
कुनौली बजारको भीड छिचोल्दै गर्दा हाम्रो हातमा तीन महिना अगाडि किनेका पतञ्जलिका पाँच हजार मोलका आयुर्वेदिक ओखती लगायत सामानका झोलाहरू थिए । आफ्नै पारिवारिक प्रयोगका ल्याइएका ती सामानको ओजन त भारी थिएन, यद्यपि ती डरका संवाहक बनेका थिए । योजना मुताविक तीन मिनेटभित्र सीमा काट्नु पर्ने थियो । सरकारी झमेला र नियमको जालोबाट उम्किन हामीले 'एक–अर्कालाई चिन्दैनौँ’ भन्ने सल्लाहको तमसुक हृदयमा टाँसेका थियौँ । तर, जब प्रहरीको तिखो आँखा पत्नी ममताको आँखासँग जुध्यो, मेरो ओठमा झुण्डिएको झुटको खेती एकै निमेषमा डढेर खरानी भयो ।
“मेरी श्रीमती हुन् ।’’ मेरो मुखबाट शब्दहरू अनायासै फुत्किए । प्रहरीको केरकार र सामान जफत गर्ने धम्कीबीच निकै अनुनयपछि मात्र हामीहरू नेपाल छिर्न पायौँ । सिमा कटेर नेपालको भूमि स्पर्शले मन आनन्दित भएको थियोे । यद्यपि ममताको असन्तुष्टि ज्वालामुखी झैँ विस्फोट भयो, “किन सत्य ओकल्नुभयो ? अलिकति झुटले हाम्रो सामान र समय दुवै जोगिन्थ्यो नि !’’
मैले शान्त भावमा विम्बमय उत्तर दिए, “म डा. शिवशंकर यादवलाई तिम्रा बाआमाले अग्नि साक्षी राखी ज्वाइँ बनाएको सम्झेँ । संसार जित्न त झुटको सहारा चाहिएला प्रिय ! तर आफ्नै अस्तित्व अगाडि उभिएर आफैँलाई पराजित गर्न मैले सकिनँ । सामान त फेरि किनिएला, तर तिमीसँगको सम्बन्धलाई नकार्दा मेरो आत्मा कतिन्जेल सुकुम्बासी बन्थ्यो होला ?’’
ममता मौन भइन् । बाहिर अँध्यारो थियो, तर मभित्र इमानको मधुरो प्रकाश बलिरहेको थियो ।
- सिद्धार्थटोल, उदयपुर


No comments:
Post a Comment