Monday, July 13, 2026

लघुकथा (अङ्क ३६ मा प्रकाशित)


'मेरो एउटा किताब किनिदिनोस् न ! मूल्य धेरै राखेको छैन, तीन सय मात्रै राखेको छु । वितरकहरूलाई दियो भने न पैसा आउँछ न किताब फिर्ता हुन्छ । त्यसैले आफैले बेच्दै हिँड्ने गरेको छु । हरेक साथीभाइले एउटा एउटा किताब लिएर मलाई सहयोग गरिरहेका छन् ।’ एउटा साहित्यिक कार्यक्रममा भाग लिँदै गर्दा छेवैका अर्का सहभागीलाई अनुरोध गरे सर्जक महोदयले । भर्खरै झोलाबाट निकालेको एउटा किताब उनको हातमा थियो ।

'तपाईं जस्तो साहित्यकारले पनि मान्छे मान्छेलाई किताब बेच्दै हिँडेर हुन्छ ? एउटा वितरकको जिम्मा लगाइदिनुस् । कतिलाई अनुरोध गर्नु हुन्छ किताब किनिदिनोस् भनेर । पैसाकै खाँचो पनि होइन तपाईंलाई । सरकारी पेन्सन आउँछ महिनैपिच्छे । उता अमेरिका बसेका छोरा बुहारीले पठाउँदा हुन । अष्ट्रेलिया बसेका छोरी र ज्वाईले पनि पठाउँदा हुन खर्च । यता बुढाबुढी दुई ज्यान । घर भाडा पनि गतिलै रकम आउँछ राजधानीमा । छोड्नोस् यस्तो किताब बेच्दै हिँड्ने काम ।’ ती सहभागीले सल्लाह दिए ।

'हैन म किताब लिन्न भने त सक्किगो नि । पैसा हालेर किन्दिन भन्ने हो भने एउटा किताब त म सित्तैमा पनि दिन सक्छु । किन नानाथरी ज्ञान दिनु पर्‍यो । के अरूसँग ज्ञान बटुल्दै हिँड्नु पर्ने मान्छे हुँ र म ?’ क्रोधले भरिएर जुरूक्कै उठे सर्जक, र पछाडीतिर लागे । 

- दुवाकोट, भक्तपुर

--------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment