"लौन बित्याँसै पर्यो नि !’’ ढिकी कुट्दै गरेकी आमाले ओखलमा धान लाउँदै गरेकी छोरी बिमलीतर्फ हेर्दै भनिन् । बिमली अक्कमक्क पर्दै सोधी, “किन के भयो र आमा?’’ के भयो भन्नु नि, तँ पर सरेर मरिस् नि राँड….!’’ बिमलीले ओछ्याएको चकटी माथिको रातो दाग देखाउँदै आमाले भनिन् ।
बिमली डरले केही सोच्न सकिरहेकी थिइन, मानौँ ऊमाथि सिङ्गो पहाड खसेको थियो ।
“अब घाम देख्नहुन्न…’’ भन्दै आमाले उसलाई पाखुरामा तानेर घरदेखि पर रहेको छाउगोठमा लगिन् ।
अँध्यारो कोठा, नमिठो बास्ना, भत्किनै आँटेको गारो, धुलै धुलोले भरिएको गुन्द्री र बाहिरी संसारबाट निकै भिन्न लाग्ने त्यस झुपडीमा छिर्दा बिमलीलाई आफू एक अँध्यारो खाडलमा खसेजस्तै भान भइरहेको थियो । त्यसमाथि एउटा पुरानो आफ्नै गुन्यूको पातलो डसना र पुरानो बर्को थमाउँदै आमा बोलिन्, “ल अब नचोखिउञ्जेलसम्म यहीँ बस् । तेरा संगीहरूसँग खाना पठाइदिम्ला ।’’ छोरीले केही सोध्न नपाउँदै ढ्याम्म ढोका तानेर आमा बाहिरिन् । फेरि एकैछिनमा फर्केर अलि भारी स्वरमा भनिन्, “राति कसैले ढोका खोल्न लाउला, नखोल्नु नि फेरि…।’’
त्यो कोठा र आफ्नै शरीरबाट निस्केको अनौठो गन्धले वाकवाकी लाग्लाझैँ भएकी बिमली रनभुल्लमा परी । उसको कम्मर वरिपरिको नमिठो दुखाई, तल्लो पेट भत्किएर बगिरहेको रगत अनि आँखाबाट बहँदै गरेको कर्णालीको बहाव उस्तै उस्तै लागिरहेको थियो उसलाई… ।
“बिमली ! ए बिमली !“ झमक्क साँझमा चिरपरिचित आवाजमा हावासरी एकाएक सुन्तली भित्रिंदा लाग्यो, साक्षात देवी भित्रिइन् । सुन्तलीलाई हाम हालेर हिक्क हिक्क गर्दै बिमली धेरैबेर रोइरही ।
रात छिप्पिँदै गइरहेको बेला जब उनीहरू सामान्य बन्दै थिए, अकस्मात बाहिरबाट ढोका ढकढक गरेको आवाज आयो ।
मानौँ त्यो आवाज सिधै उनीहरूको मुटुमा घन बनेर बर्सिरहेको थियो । चुपचाप उनीहरू दुवैजनाले श्वास रोकेर भित्रैबाट ढोका ठेलिरहे । केही बेरपछि बाहिरबाट ढोका ढकढक्याउने काम बन्द भयो । टहटह जुनेली रात …..! बिमलीले ढोकाको चरबाट चियाउने बित्तिकै चिनीहाली, हतारमा बाहिरिँदै गरेको उहि चिरपरिचित छाया….!
- अर्घाखाँची, हाल ललितपुर


No comments:
Post a Comment