"सङ्घर्ष कसका लागि ?”
समय बितेको पत्तै भएन । गणितीय हिसाबले जीवनमा सुख नदिने रहेछ । कमाइ गर्यो, खर्चको बाँडफाँड, कहिल्यै नपुग्ने । दौँतरीको लहैलहैमा लाग्दा भोक, तिर्खा सबै बिर्सिने । कस्तो अचम्मको प्रतिस्पर्धा ?
एकछिन छहारीमा बसेँ, आराम गरेँ । एक युवकले वृद्धलाई लिएर आए । सायद, छोरा हुनु पर्छ भन्ने आँकलन गरेँ । “कतिमा लाने हो ?” उनले प्रश्न गरे ।
मैले डोको मिलाएँ, “थाहा हुँदो हो, छैन, ठाडो उकालो बाटो छ । पाँच हजार दिनोस् ।” जवाफ फर्काएँ ।
उनी पैतिस सय दिन्छु, हुन्छ भने हुन्छ नत्र परेन । कचकच गरे अनि तुलना पनि । मैले ठाडै भनेँ, “केदारनाथको बाटो हो, बोकेर लानु सहज छ र । एक सुका कम लिदिन, हुन्छ हुन्छ, हुँदैन हुँदैन ।” डोको थन्काएँ
उनी केही नरम भए, भने, “नरिसाउनुहोस् न । ल ल भैँगो, तपाईंकै बोली भयो । हुन्छ, जाऊ जाऊ ।” कर गरे ।
मिलाएर बसालेँ, बाटो लागेँ । उनी पनि सँगै हिंडे । सोधे, “कति उमेर भयो हजुरको, बुढै देख्छु त । साठी कट्नुभयो ।” उनले बुझ्ने प्रयास गरे ।
गति रोकिनँ, मैले भनेँ, “कटे हजुर । आज ठ्याक्कै दुई दशक भएछ, भरिया भएको पनि ।” मैले वास्तविकता बताएँ ।
फेरि स्वाँस्वाँको आवाज गर्दै सास फुलेको स्वरमा बोले, “हैट माने, उमेरले छ दशक पार गर्दा पनि जोस तीसको, वाह, गजबको छ । कहाँबाट ल्याउँनु हुन्छ हो, यो उत्साह ?” उनले ठट्याउलो पारामा सोधे ।
म निहुरिएरै मुस्कुराएँ, अन्तर्मनमा हराएँ । घर सम्झिएँ अनि फुर्तिलो स्वरमा बोले, “यो सन्तोषको दुःख हो हजुर, परिवारको खुसीको अगाडि यस्ता कैयौँ बाँध तोड्न नसकूँला र ?” मैले सन्तुष्टि जनाएँ ।
– गैंडाकोट– ४, नवलपुर


No comments:
Post a Comment