Tuesday, November 21, 2023

लघुकथा (अङ्क ३ मा प्रकाशित)

सलाईको काँटी

-अनिल लामा
नागार्जुुन ८, भिमढुङ्गा, काठमाडौँ


बाबुकान्छा कक्षा दुईमा घर नजिकैको विद्यालयमा पढ्छ । ऊ धेरै चकचके र बदमास पनि छ । उसको चकचक गर्ने बानीले गर्दा उसको आफन्त, विद्यालयमा उसका साथीहरु, शिक्षकहरु, घर वरिपरिको छरछिमेकीहरु प्नि हैरान भइसके । उसलाई चकचक गर्दा र बदमास गर्दा धेरै रमाइलो लाग्छ ।

एकदिनको कुरो हो बाबुकान्छा एकदिन विद्यालय बिदा भएको बेलामा उसको साथीहरुसँग काफल टिप्न वनतिर जान्छ । उक्त बेला वैशाख महिना भएको हुनाले रुखका पातहरु सुख्खा हुन्छन् र डढेलो लाग्ने सम्भावना पनि बढी हुन्छ । काफल टिप्न र काफल खानेक्रममा बाबुकान्छाले उसको घरको भान्साकोठाबाट लुकाएर सलाइको बट्टा लगेको थियो र उक्त बट्टामा धेरै सलाइका काँटीहरु हुन्छ ।

उसले काफल टिप्नेक्रममा साथीहरुलाई सुनाउँदै भन्छ, साथी मैले आज हाम्रो घरको भान्साकोठाबाट बुबाआमाले थाहा नपाउनेगरी सलाइको काँटीको बट्टा लिएर आएको छु नी । आउ हामी सबै मिलेर सुकेको रुखको पातहरुमा आगो बालीदिउँ, यत्तिकैमा उसका केही साथीहरुले पनि हो मा हो मिलाएर सलाइको काँटीले आगो बाल्न थाल्छन् र अचानक आगो सल्किएर वनमा डढेलो लाग्छ र वनजङ्लमा ठूलो विनास हुन्छ र जङ्गली जनावरहरुको ज्यान जान्छ र वनमा ठूलो क्षति हुन्छ ।

वनमा लागेको डढेलो निभाउन गाउँका साथसाथै अन्य छरछिमेकका मानिसहरुले पनि सहयोग गरेका हुन्छन् र जसोतसो डढेलो नियन्त्रण हुन्छ ।

डढेलो नियन्त्रण भएको केही समयपछि बाबुकान्छालाई आफूले गरेको गल्तीको प्रायश्चित हुन्छ र भन्छ, यो सबै मैले गर्दा भएको हो । मैले मेरो घरबाट बुबाआमा नहुँदा घरबाट सलाइको बट्टा लुकाएर ल्याउँदा वनमा आगो बाल्दा डढेलो लागेको हो र जङ्गली जनावरहरुको मृत्यु भएको हो । त्यसैले मलाई सबैले माफी दिनुहोला भन्दै उसले माफी माग्छ । उसले गरेको गल्तीको प्रयाश्चित गरेको हुँदा उसलाई सबैले माफि दिन्छन् र सबैजना आ–आफ्नो घरमा फर्कन्छन् ।

No comments:

Post a Comment