राँगालाई जुत्ताभित्र नियाल्दा
लघुकथाकार विजयराज आचार्यको ‘राँगालाई जुत्ता’ नामक लघुकथासङ््ग्रह २०७६ सालमा विवेक सिर्जनशील प्रकाशनले प्रकाशित गरेको हो भने सम्पादन विनय कसजूको रहेको छ । यस कृतिभित्र उनले लेखेका राँगालाई जुत्ता, समाजसेवा, प्लेन छुट्यो, सफामुक्त ठाउँ, माधव सरको पीडा, साइबर एडिक्सन लगायत विभिन्न शीर्षकका ३३ वटा लघुकथाहरु राखिएका छन् ।यस सङ्ग्रहभित्रका लघुकथामा वैदेशिक रोजगार, जातीय विभेद, पशुप्रतिको निर्दयीपन, सासु–बुहारी सम्बन्ध लगायतका विषयसँग सम्बन्धित लघुकथाहरु पनि छन् । प्लेन छुट्यो शीर्षकको लघुकथामा टिभिएस अन्धविश्वासको विरुद्धमा लड्ने वैज्ञानिकको रुपमा देश विदेशमा चर्चित थिए । उनले अन्धविश्वास मानव जातिको शत्रु हो भन्ने विषयमा विद्यावारिधि गरेका थिए ।
लघुकथाकार आचार्यका कथाहरु छोटा भए पनि निक्कै अर्थपूर्ण छन् । कथाका विषयवस्तु विविधतापूर्ण छन् । साइबर एडिक्सन शीर्षकको लघुकथामा तोतेबोली बोल्दादेखिकै साथी थिए प्रवृक र सुमन । डाक्टर बनुञ्जेलसम्मै उनीहरु सहपाठी थिए । जागिरे जीवन पनि एकै दिन सुरु गरेका थिए । जिउँदो माछा शीर्षकको लघुकथामा तेल तातिरहेकोले श्रीमतीले झोलाको माछा सोझै कराहीमा खन्याइन् तातो तेलमा परेर माछा छटपटायो र उफ्रेर कराहीबाट बाहिर निस्क्यो र भुइँमा छटपटाउन थाल्यो भनिएको छ ।
लघुकथा अहिलेको लोकप्रिय विधा हो । अन्य विधामा स्थापित सर्जकहरु पनि लघुकथामा कलम चलाउन थालेका छन् । राँगालाई जुत्ता लघुकथा सङ्ग्रहबाट आचार्य लघुकथाकारको अवतारमा देखिएका छन् । बालसाहित्य, हाइकु हुँदै उनी लघुकथाकारको रुपमा देखिनु सुखद् पक्ष हो । रुवाबासी शीर्षकको लघुकथामा सलिना रोएको देखेर मातृकाको पनि आँसु थामिएन । ऊ पनि डाँको छाडेर रुन थाली भनिएको छ । सङ्ग्रहभित्रका सबै लघुकथाहरु सवाल्टर्निक छैनन् । विषय र विचारगत विविधता आचार्यका कथाहरुको विशेषता हो । आशीर्वाद शीर्षकको लघुकथामा दसैँ तिहार मानेर दुबई जान खोज्दा दाइको मेडिकल फेल भएको छ । उनले पनि आ, कति जानु विदेश घरमै बसेर खेतीपाती गर्छु भन्ने निधो गरेर विदेश जाने विचार त्यागिदिएका छन् ।
आचार्यका प्रायः लघुकथाले गह्रुङ्गो औपन्यासिक खुराक बन्न सक्ने विषयवस्तुलाई लघुकथाभित्र अटाएका छन् । सूक्ष्मता, तीव्रता, घनत्व, व्यङ्ग्य, सन्देश, पात्रको सन्तुलन र विपरित मार्गबाट जीवनबोध गराउनु लघुकथाको आधारभूत तत्वहरु हुन् । आचार्यको लघुकथाको भाषा सरल, सहज र सुबोध्य छन् । हराएको चेक शीर्षकको लघुकथामा सिम्रोन हजुरबाको काखबाट जुरुक्क उठ्यो र साबुनको खोल टिपेर डस्टबिनमा उसले राखिदियो । त्यसपछि दौडिदै आएर हजुरबाको काखमा थ्याच्च बसेर कार्टुन हेर्न थाल्यो ।लघुकथा भन्ने शब्दले छोटो कथा भन्ने अर्थ दिन्छ तर अङ्ग्रेजी साहित्यमा भने जति लामो कथालाई पनि सर्ट स्टोरी भन्ने चलन छ । लघुकथाका सम्बन्धमा विविध परिभाषा, विचार र दृष्टिकोणहरु छन् । जे भएपनि नेपाली साहित्यमा लघुकथाले आफ्नो अलग स्वरुप र विधा ग्रहण गरिसकेको छ । यसै सन्दर्भमा नेपाली समाजको यथार्थ भोगाइहरु यसभित्र लेखिएका लघुकथामा खारिएका, माझिएका र टलक्क टल्किएका छन् । थोरै लेखेर पनि गुणस्तरमा ध्यान दिन सके कृतिको महत्व बढ्नेछ । यस तथ्यलाई लघुकथाकार आचार्यले मनन गरेका छन् । विषयवस्तुका हिसाबले बहुमुखी छन् । आचार्यका लघुकथा उनले देखेको व्यक्ति, समाज र राष्ट्रका साथै सुनेका घटनामा पनि आधारित छन् । यिनका कतिपय लघुकथा समय र स्थान सीमाका रुपमा पनि आएका छन् ।
आधुनिक माया शीर्षकको लघुकथामा राम सीताको काखमा पल्टेर खल्तीबाट चुरोट निकालेर उसले सल्कायो भनिएको छ । लघुकथाकारको व्यङ्ग्य चेत, सामाजिक चेत तथा समसामयिकता प्रशंसनिय छ । आचार्यको लघुकथामा हाम्रो समाजको चरित्र स्पष्ट रुपमा देख्न सकिन्छ ।
लघुकथा आख्यानको लघुतम वा सूक्ष्मम विधा हो । लघुकथा छोटो हुन्छ तर पूर्ण हुन्छ । छोटो आयाममा जीवन र जगत्लाई समेट्नु लघुकथाको विशेषता हो । लघुकथा लोकप्रिय भएकै कारण यसप्रति लेखनको आकर्षण बढ्दै गइरहेको छ । अन्त्यमा लघुकथाकार विजयराज आचार्यको अन्य कृतिहरु पनि प्रकाशित भएर हामीहरुले पढ््न पाउने बाचा गरेको छु ।

No comments:
Post a Comment