Thursday, November 23, 2023

लघुकथा (अङ्क २ मा प्रकाशित)

परिपूरक

‍-इन्दिरा चापागाईं 

"अब पुरुषको दास बनिदैंन । वातावरण पाए हामी पनि सक्षम हुन्छौँ । डाक्टर राष्ट्रपतिदेखि सगरमाथा विजेतासम्म त नेपालकै महिला बनिसके देखेनौं ? तिमीहरुले हेप्ने दिन गए । सक्छौ भने महिलाबिना सृष्टि चलाएर देखाऊ । आमा बनेर देखाऊ त ।" नारी दिवसका दिन कमली उफ्री ।

"भो भो तँ धेरै कराउनु पर्दैन । खुट्टा भए जुत्ता कति कति । यता सुन् सन्तान जन्माउनलाई अब आमा चाहिँदैन । आमा भएँ भनेर गजक्क पर्ने दिन गए ।" सोमे झन् के कम अझ बढि उफ्रियो ।

लामो समयदेखि बुढाबूढीको कलह सुन्दा सुन्दा सोमेका छिमेकी शम्भु दिक्क भैसकेका थिए । आज अति भएपछि उनी चुप लाग्न सकेनन् ।

"एउटा बच्चा जन्माउनमा मात्र आफ्नो भूमिका देख्ने मूर्खहरु दुवैजना चुप लाग । तिमीहरु दुवै चाहिँदैन बच्चा जन्माउन । हामी टेष्टट्यूबमै बच्चा जन्माइदिन सक्छौँ । तिमीहरुको केही काम छैन ।" उनीहरुकै आँगनमा गएर भने ।

ती दुवै अल्पज्ञानी भुइँतिर हेर्दै खुट्टाको बूढीऔँलाले भुइँ कोतर्न थाले । डाक्टरले सम्झाउँदै भने, "हेर तिमीहरु साँच्चिकै मूर्ख रहेछौ । टेष्ट ट्युबमै बच्चा जन्माउन पनि महिला र पुरुष दुवैको अंश आवश्यक पर्छ । अब भन त मिलेर सृष्टि चलाउने कि रातदिन रडाको मच्चाउने ?"

No comments:

Post a Comment