Monday, November 20, 2023

लघुकथा (अङ्क ३ मा प्रकाशित)

बाको फोटो

-नारायण तिवारी
अन्डोल, ललितपुर 



"बाको गन्जी फाटेको देख्छु, किनीदिनु पर्ने ?" – "अनि छोरीको लागि दूध...।"

– "बाको धोती पनि लाउनै नहुने भएर फाटेको छ, किनिदिन पाए...?"

–"अनि छोराछोरीको स्कुलको फिस नि...!" – "बा बिरामी भएर साह्रै गलिसक्नुभयो, उपचार गराइदिनु पर्ने ....?"

– "अनि छोरालाई पनि त ’सिटी स्क्यानिङ्ग’ गर्न कि सिलिगुडी, कि काठमाडौं लैजानु पर्ने कुरा बिर्सिनुभयो !"

म श्रीमतीसित सधैँ परास्त हुन्छु ।

यस्तैमा बा बित्नुहुन्छ । म धेरै कल्पिन्छु– "बा ! मैले तपाईंका निमित्त केही गर्न सकिन । धिक्कार छ मेरो जन्मलाई । म पापी हुँ ।" यसरी बाको फोटोलाई सिरानीमा राखेर आँसु चुहाउन थालें...।
 

एकदिन श्रीमतीलाई भनें– "बाको फोटो अलिक ठूलो पारेर भित्तामा टाङ्न पाए...!"

उसले पनि उदास हुँदै भनी– "टाङ्नु न त ।" " तर पैसा, तीनचार सय जति लाग्छ !" उसले गम्भीर हुँदै भनी– "जति लागे पनि गर्नुपर्छ नि, पटक–पटक गर्ने कुरा होइन...।"

मलाई चसक्क बिझ्छ ।
हो ! मेरा बालाई पटक–पटक अब मैले केही गरिदिन असमर्थ बन्नु परेन केवल एकपल्ट फोटो टाङ्न समर्थ भएर सधैँ फोटोलाई खाली–खाली दण्डवत् गरे पुग्नेभयो ।

म कल्पिन्छु, रुन्छु – "त्यसबेला पनि बा जिउँदो फोटो नै त हुनुहुन्थ्यो ...!"

No comments:

Post a Comment