Monday, November 20, 2023

लघुकथा (अङ्क ३ मा प्रकाशित)

देखावटी वचन

-रञ्जुश्री पराजुली
बाँसबारी, काठमाडौँ, हालः अमेरिका



जन्मदिने आमा र जन्मभूमि स्वर्ग समान हुन्“ भन्ने भनाई सबैले प्राथमिक पाठशालादेखि सुन्दै आएको हो । यो भनाई स्वदेशमा हुँदा भन्दा विदेशमा पुगेपछि अझै मूल्यवान हुँदोरहेछ । शनिवारको साँझ अमेरिकाको नेपालीको घरमा मःम पार्टीको बेला देशको राजनीतिक अवस्थाबारे त्यहाँका नेपालीहरुबीच गफ हुन्थ्यो । ती नेपालीहरु कोही बीस, कोही तीस वर्ष त कोही त्योभन्दा पनि पहिले अमेरिका आएर यो देश खाई शेष भइसकेका व्यक्तिहरु थिए । उनीहरु अमेरिकन नै भएपनि जन्मभूमिको दुर्दशा देखेर विचलित देखिन्थ्ये । तर के गरुन् ? उनीहरुले स्वदेशमा आइपरेको भवितव्यहरुमा राहत र पैसाहरु चाहिँ उदार हृदयले  नै पठाउँदथे । स्वदेशबाट नयाँ कोही आएका छन् भने उनीहरु देशको विकासको कुरा गर्ने । कता कस्तो भइरहेको छ । त्यसमा कस्तो प्रविधि  अपनाएर काम गरे देशले चाँडै कोल्टे फेर्ला भन्ने गफ गर्दथे ।

बेला मौकामा आमेरिका आउनुभन्दा अगाडिका उनीहरुका सहपाठी नेपालको मान्य व्यक्ति भएर पनि उनीहरुलाई मौका मिले अनुसार भेटघाट पनि गर्दथे । साथीभाइबीच अन्तरङ्ग कुरा हुँदा उनीहरु “यहीँबाट विकासका ड्राफ्टहरु  पठाउ म त्यसलाई नेपालमा पास गर्छु । सबै कुरा मेरै हातमा छ । जापानिज अनुदानको ठूलो प्रोजेक्ट पनि मेरै हातमा छ । रकम वाल्लछ्याल आउँछ । तिम्रो भागमा पनि म कमिसन हालिदिन्छु ।“ भन्ने सर्त राख्दै कुरा गर्दथे । जलविद्युत, सडक विस्तार, वृक्षारोपण, शिक्षा आदि बारे सबैकुरा अमेरिकन नेपालीहरु त्यस्ता नेपाली पाहुनाहरुबाट सुन्थे अनि सहयोग गर्न वचन दिन्थे ।

तर नेता भनाउँदाहरु भने आफू जस्तो उच्चविचार भएका अरु कोही नभएकोले र अरु सबै मै खाउँ मात्र भएकोले देश पिछडिएको हो भन्ने आफ्नो तर्क पेस पनि गर्दथे । बीच बीचमा रित्तिएको गिलास पनि भर्दथे । बिहानसम्म सुराको रसमा डुबेर लर्वरिएको आवाजमा “म स्वदेश पुगेपछि तिमीहरुको यो विकसित विचारलाई सबै क्षेत्रमा कार्यान्वयन गर्न पहल गर्नेछु । तिमीहरु ढुक्क भएर विकसित मातृभूमि फर्कनु पर्छ“ भन्दथे । त्यस्ता पार्टीमा आएका मान्यजन पिएर चुर भएपछि लर्वरिएको आवाजमा बोल्दै बाथरुम जान लाग्दा सन्तुलन गुमेर भित्तामा टाउको ठोकिने, छाद्ने आदि पनि गर्दथे ।  

No comments:

Post a Comment