Friday, May 10, 2024

ध्रुवनारायण जोन्छेंका दुई कविता


जिन्दगी के हो र ?


जिन्दगी के हो र ?
हाँसिदिनु पर्ने / रोइदिनु पर्ने
कहिले आफैलाई बिर्सिदिनु पर्ने
यस्तैयस्तैमा समय बिताइ दिनुपर्ने ।

जिन्दगी के हो र ?
जवानीको उन्मादमा -
कहिले आफै रित्तिनु पर्ने
कहिले मायाप्रेम गर्नुपर्ने ।

जिन्दगी के हो र ?
यस्तैमा जीवन गुज्रँदै जान्छ
यत्तिले चित्त नबुझे -
कहिलेकाहीँ केही लेखिदिनु पर्ने ।


जिन्दगी के हो र ?
कर्तव्यपथमा लम्किदिनु पर्ने
यतिले जीवनमा सन्तोष नभए -
साईनाईड, मेटासीड, डाल्फमै घुलेर
सिङ्गो जीवन नै रित्याई दिनु पर्ने,
अझ त्योभन्दा माथि -
देशको लागि हाँसीहाँसी प्राण
त्यागिदिनु पर्ने ।

**************

नेपाली

बुद्ध र भृकुटीले जन्म लिएको
पुण्यभूमि नेपाल
जहाँ जनकले यश फैलाए
अरनिकोले कलाकौशल प्रस्तुत गरे
अमरसिंह र बलभद्रले
गाएको वीरगाथा
कहिल्यै नबिर्सने हामी नेपाली
पुर्खाले आर्जेको कीर्तिलाई
जोगाई राख्न कटिबद्ध हुने
शान्तिप्रिय नेपाली
देखाई बहादुरी विश्वमाझमा
हलचल मच्चाउने नेपाली
हिमचुलीको काखमा
कोटीकोटीको एउटै सिङ्गो ढुकढुकी भै
सदासर्वदा बाँचिरहने हामी शान्तिप्रिय नेपाली !


- गपली, भक्तपुर

 

यस स्तम्भमा आफ्नो रचना पठाउनका लागि  
trichandra.shrestha@gmail.com
 

 

No comments:

Post a Comment