Friday, August 9, 2024

नरेश अमात्यका चार लघुकथा

कठपुतलीहरूको झगडा


कठपुतली खेलाइरहेकाहरूले कठपुतलीहरूलाई जुधाइरहेका छन् । पहिलोले अर्को कठपुतलीलाई हेरेर आरोप लगायो - तँ चोर ! आफूलाई चोर भनेर आरोप लगाएकोमा अर्को कठपुतलीले भन्यो, - तँ डाँकु ! आफूलाई डाँकु भनेकोमा पहिलोले पुनः जवाफ दियो, - तँ ज्यानमारा ! अर्को, - तँ पनि ज्यानमारा त होस् नि ! पहिलो चाहिँ, - तँ भ्रष्टाचारी ! अर्को, - तँ महाभ्रष्टाचारी ! पहिलो, .......... अर्को, .......... भन्नु जत्ति, गर्नु जत्ति उनीहरूले एकार्कालाई गाली गरिरहे । आरोप लगाइरहे । जुधाइरहेकाहरू जुधिरहेको हेर्दै अत्यन्त रमाइरहे । हेरिरहेकाहरू साँच्चिकै जुधिरहेका हुन् कि होइनन् भनेर डराइरहे ।
*************

फूल

यौन उत्तेजनामा इन्द्रले उर्वशीको नरम काँधमा विस्तारै सुमसुम्याउँदै भन्यो, 'कस्तो नरम देह, फूलजस्तो, साँच्चै फूल नै हौ तिमी ।' •• इन्द्रको यो कुरा सुनेर उर्वशीले सुस्तरी सोधिन् , 'भगवान् , मलाई हजुरले फूल त भन्नुभयो, तर कुन चाहिँ फूल- भर्खरै बोटमा फक्रिएको फूल कि बोटबाट टिपेर हजुरले लगाइराख्नु भएको निर्जीव फूल ?' •• उर्वशीले कहिल्यै पनि नसोधेको यस्तो प्रश्न सुनेर इन्द्रले जवाफ दिन नसकेर वाल्ल पर्यो ।

*********
धर्म


मानिसहरूको दु:ख सिध्दार्थ गौतमले हेर्न सकेनन् । उनलेे ज्ञान आर्जन गर्नका निम्ति आफ्नो यशस्वी युवराजको रुपलाई पहेँलो वस्त्रले बेरे । ° मानिसहरूको मूर्खतामध्ये मूर्तिपूजाको उनलेे विरोध गर्दै गए । ° उनका उपदेशले मानिसहरूलाई असल बाटोमा ल्याउन साथ दियो । ° अशान्तिमय वातावरण शान्तिमय वातावरणमा फेरियो । ° अब सिद्धार्थ बुद्ध बने । सबैका धर्मगुरु बने, अनि सम्पूर्णका प्रिय भए । - उनको सम्मानार्थ मानिसहरूले उनको एउटा सालिक बनाए । - त्यसमा सबैले पूजा गरे । - बुद्ध मौन र तटस्थ बसे । ° अहिले त्यहाँ फेरि अशान्ति छायो ।

*****************


भाषण
एक समूह भेला भएर भाषण गरिरहे । चोरले भाषण गर्यो, - चोरेर कोही धनी हुँदैन, त्यसैले चोर्नु राम्रो काम होइन । ज्यानमाराले भन्यो, - मानिसहरूको ज्यान अमूल्य, तसर्थ ज्यान जत्तिको ठूलो केही छैन । डाँकाले भन्यो, - अरूको सम्पत्ति लुट्नु घोर पाप र अपराध हो । भ्रष्टाचारीले भन्यो, - म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ । यसरी मञ्चबाट आ-आफ्ना कुरा बुलन्द रुपले बोलिरहे पेशेवरहरूले ।
मञ्च-तल सुनेर बसिरहेकाहरूले भाषणको आवाज नै नसुनिने गरी ताली बजाइरहे ।


...साथ सहयोगको खाँचो

No comments:

Post a Comment