Friday, November 8, 2024

लघुकथा (अङ्क १७ मा प्रकाशित)

 रिस्वतको मोह

- कर्ण दयाल 'सोराडी'
मेलौली नगरपालिका ७, बैतडी  



हाकिमसापले तोक लाएर पठाएका सबै फाइलहरु केही प्राविधिक फाँटमा त केही लेखा फाँटमा आएर थन्किए । असार महिनाको दोस्रो हप्ताको समय थियो । सबै सेवाग्राहीले आ-आफ्ना योजनाहरु समयमै फरफारक गर्नु थियो । 

सेवाग्राहीहरुको ढोका ढोकामा भीड लागेको थियो । लुकिछिपी झ्यालबाट फाइल दिनेहरुको काम फटाफट भइरहेको थियो । इन्जिनियर र लेखापालले प्रतिशतका कुरा गरिरहेको जानकारी बाहिरियो ।

सेवाग्राहीहरु आक्रोशित भए । उनीहरु नाराबाजी गर्न लागे । इन्जिनियर र लेखापालले खुलमखुल्ला भ्रष्टाचार गरिरहेका छन्, भन्दै उनीहरुले कारवाहीको माग राखेर हाकिमसापलाई ज्ञापन-पत्र बुझाए । 

हाकिमसापले सेवाग्राहीहरुको मागलाई तदारुकताका साथ कार्यान्वयन गर्ने आश्वासन दिए । उनले आवेशको भावमा भने, “तपाईंहरु ढुक्क हुनुहोस् म यी दुई जनालाई कारवाही गर्छु ।”

सेवाग्राहीहरु हंसमुख बनाएर हाकिमसापको कक्षबाट बाहिरिए । मिडियाहरुले छयापछ्याप्ती सामाचार छापे । 

इन्जिनियर र लेखापाल दुवै जना निकै डराए । भोलिपल्ट बिहानै दुवै जना हाकिमसापलाई भेट्न निवासमै पुगे । हाकिमसापले सेवाग्राहीको ज्ञापन पत्र र पत्रपत्रिकामा छापिएका सामाचारहरु क्रमशः दुवै जनालाई पढेर सुनाए । 

ती दुवै जना अझ झन डराए । उनीहरुले रुँदै हाकिमसापको खुट्टा छोएर भन्न थाले,  “हाकिमसाप आज एकचोटीलाई माफ पाउँ । आज उपरान्त हामी यस्तो गल्ती दोहोर्‍याउने छैनौं । हामी दुईको जागीर जसरी भए पनि बचाइ दिनुहोस् ।” 

हाकिमसापले नरम हुँदै भने, “तपाईंहरुले त ब्लण्डर गल्ती गर्नु भएको छ नि ! तपाईहरु दुई जना मिल्ने, अनि मलाई मात्र छोड्ने ? मेरो पनि त हस्ताक्षर चल्छ । बिगे्रको यता हो, सच्चिनु होला, सबै कुरा मिल्छ ।”

.‍..‍.साथ सहयोगको खाँचो

No comments:

Post a Comment