Wednesday, February 12, 2025

लघुकथा समाचार

-वसन्त अनुभव, माघ २७

नमस्ते आधुनिक लघुकथा मञ्चद्वारा प्रकाशित लघुकथासङ्ग्रहहरू ‘बुन्छ्त’ र ‘नमस्ते’को परिचर्चा कार्यक्रम शनिवार सम्पन्न भएको छ । मञ्चकै आयोजनामा जुम प्रविधिबाट भएको उक्त कार्यक्रम अपरान्ह ७ बजेदेखि अढाई घन्टासम्म चलेको थियोे ।

परिचर्चा कार्यक्रमका प्रमुख अतिथि एवम् वरिष्ठ समालोचक डा. विदुर चालिसेले नआलमद्वारा वि.सं. २०८१ मा प्रकाशित सम्पूर्ण लघुकथासङ्ग्रहहरूमा शैली वैज्ञानिक सूत्रको प्रयोग भएको उल्लेख गर्नुभयो । साथै गुरुकुल पद्धतिमा रहेका उक्त २२ वटा कृतिले विभिन्न जाति, वर्ग, स्थान आदिको प्रतिनिधित्व गरेको बताउनुभयो ।
 उक्त पुस्तकहरूको सम्पादकको समेत भूमिका निभाउनुभएका डा. चालिसेले प्रकाशनका क्रममा भोगेका सास्तीहरू उल्लेख गर्दै सकेसम्म त्रुटिरहित बनाउन हरप्रयास गरिएको बताउनुभयो ।

पुस्तक परिचर्चाकारको रूपमा उपस्थित हुनुभएका समालोचक डा. शंकरप्रसाद गैरेले कार्यक्रमको पहिलो चरणमा लघुकथाकार म्यामराज राइको लघुकथा कृति ‘बुन्छत’को परिचर्चा गर्दै ‘वान्तवा’ भाषामा राखिएको शिर्षक ‘बुन्छत’ले पाठकमा कौतुहलता, जिज्ञासा पैदा गर्ने गरेको उल्लेख गर्नुभयो । साथै उहाँले ‘बुन्छ्त’मा पूर्णप्रसाद ब्राह्मणको झिल्का लघुकथासङ्ग्रहभित्रको ‘खलल’ लघुकथालाई बीज विन्दु मानेर लेखिएका ५४ वटा लघुकथाहरू रहेकोे उल्लेख गर्नुभयो ।
‘बुन्छत’ शिर्ष लघुकथा मिथकिय पृष्ठभुमिमा भए पनि सम्पूर्ण लघुकथाहरू सामाजिक, समसामयिक पृष्ठभूमिमा लेखिएका छन् । साथै नेपाली र जापानी परिवेशलाई पृष्ठभूमि बनाएर लघुकथाहरू लेखिएका बताउनु हुँदै राईका लघुकथामा विकृति, विसङ्गतिप्रति व्यङ्ग्य, मानवले पालना गर्नुपर्ने अनुशासन लगायत प्रेम, मानवीय समवेदना रहेको उल्लेख गर्नुभयो । 
साथै उहाँले समाजमा देखिरहेका, भोगिरहेका घटना, विषयवस्तुलाई कलात्मक शिल्प शैलीमा प्रस्तुति गर्ने क्षमता लघुकथाकार राईमा रहेको बताउनुभयो ।
कार्यक्रमको दोस्रो चरणमा लघुकथाकार भूमिका गैरे तिमिल्सिनाको लघुकथा कृति ‘नमस्ते’ बारे परिचर्चाकार एवम् समालोचक डा.शंकरप्रसाद गैरेले लघुकथाकार तिमिल्सिनाको लघुकथासङ्ग्रह ‘नमस्ते’ पूर्णप्रसाद ब्राह्मणको झिल्का लघुकथासङ्ग्रहभित्रको ‘सराप’ लघुकथालाई बीज विन्दु मानेर लेखिएको र जसमा ३७ वटा फरकफरक विषयका लघुकथाहरू रहेकोे उल्लेख गर्नुभयो । साथै उहाँले तिमिल्सिनाको लघुकथाहरूमा समाजमा रहेका विकृति र विसङ्गतिमाथि व्यङ्ग्य, असल शिक्षकमा हुनुपर्ने गुणहरू लगायत शैक्षिक क्षेत्रमा रहेका विसङ्गतिहरूमाथि प्रहार देख्न पाइने बताउनुभयो ।

कार्यक्रममा कृतिकारको तर्फबाट बोल्नु हुँदै लघुकथाकारद्वय म्यामराज राई र भूमिका गैरे तिमिल्सिनाले परिचर्चा कार्यक्रम आयोजना गरिदिएकोमा संस्थाप्रति हार्दिक आभार प्रकट गर्दै परिचर्चाकारले दिनुभएको सुझावलाई स्वीकार गर्ने बताउनु हुँदै परिचर्चाकारप्रति धन्यवाद प्रकट गर्नुभयो ।

‘लघुकथा वन्दना’ प्रशारणसँगै शुरु भएको कार्यक्रममा वसन्त अनुभव, कमल पौडेल, डा. विदुर चालिसे, यमुना प्रधानाङ्ग, कृष्णजी शर्मा, डा. शंकरप्रसाद गैरे, अवधेश सिंह, मीठू कुमारी पाठक, मुक्ति गौतम, म्यामराज राई, भूमिका गैरे तिमिल्सिना, छायादत्त न्यौपाने, कुमार काफ्ले, ध्रुव राज थापा, ध्रुव नेपाल, राजन घले लगायत संस्थाका सल्लाहकारहरू, अभिभावकहरू, पदाधिकारीहरू, सञ्चारकर्मीहरू, लघुकथा सर्जक एवम् पाठकहरूको उपस्थिति रहेको थियोे ।

नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’को अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रमको सहजीकरण कुशल कार्यक्रम सञ्चालक एवम् रेडियो सारथीका स्टेसन म्यानेजर कमल पौडेलले गर्नुभएको थियोे ।

--------------------------------------

.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment