"ओहो ! आज त एकछिन फुर्सद नै हुने भएन । कता कता भ्याउने हो ?’’ एकाबिहानै मिटिङको तालिका हेर्दै उनले योजना बनाए ।
चिटिक्क परेर उनी निस्कन लागेको देखेर मैले भनेँ, "बिहानै बिहानै कताको साइत हो ?’’
उनले हतारो देखाउँदै भने, "आज खान नपर्खिनू, म उतै खान्छु । दिनभरिमा ४ वटा मिटिङ भ्याउनु छ ।’’
मेरो पारो तात्यो । बेस्सरी रन्किदै भनेँ, "दुबैजना मिलेर आज त कोदो रोपौँला भनेकी थिएँ । सबैको कोदो हरियो भइसक्यो । हाम्रो चाहिँ अत्तोपत्तो छैन ।’’
"नकराऊ न लाटी ! तिम्रो बुढाको कामै त्यस्तै ? फुर्सदका दिन सहयोग गरौँला नि ! रिसाएर हुन्छ र ?’’ भन्दै उनी बाहिरिए ।
म एक्लै फत्फताउन थालेँ, "सधैँ नै मिटिङ् र कामको बहानामा बाहिरिनेसँग त म हैरान भएँ । होइन, घरका सबैलाई हुँदा मेरो मात्र किन यति साह्रो टाउको दुख्ने हँ ? हा, म पनि आनन्दले बस्छु ।’’
केही बेर चुप लागेर बसेँ तर फेरि भुट्भुटो भयो । लाग्यो, "हैन, मैले पनि धर्म छाडे भने त बर्बाद हुन्छ । अहिले छोराछोरीले भोक लाग्यो आमा ! भन्छन् । वस्तुभाउ कराउन थाल्छन् ।’’
म कामकै चटारोमा अल्मलिरहेँ । मनमनै सोचेँ, "यिनीहरुको मिटिङ उपलब्धिमूलक हुनु र देशमा परिवर्तन हुनु एकै रहेछ ।’’
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


No comments:
Post a Comment