Sunday, March 30, 2025

लघुकथा (अङ्क २२ मा प्रकाशित)


"ओहो ! आज त एकछिन फुर्सद नै हुने भएन । कता कता भ्याउने हो ?’’ एकाबिहानै मिटिङको तालिका हेर्दै उनले योजना बनाए ।

चिटिक्क परेर उनी निस्कन लागेको देखेर मैले भनेँ,  "बिहानै बिहानै कताको साइत हो ?’’

उनले हतारो देखाउँदै भने,  "आज खान नपर्खिनू, म उतै खान्छु । दिनभरिमा ४ वटा मिटिङ भ्याउनु छ ।’’

मेरो पारो तात्यो । बेस्सरी रन्किदै भनेँ,  "दुबैजना मिलेर आज त कोदो रोपौँला भनेकी थिएँ । सबैको कोदो हरियो भइसक्यो । हाम्रो चाहिँ अत्तोपत्तो छैन ।’’

"नकराऊ न लाटी ! तिम्रो बुढाको कामै त्यस्तै ? फुर्सदका दिन सहयोग गरौँला नि ! रिसाएर हुन्छ र ?’’ भन्दै उनी बाहिरिए ।

म एक्लै फत्फताउन थालेँ,  "सधैँ नै मिटिङ् र कामको बहानामा बाहिरिनेसँग त म हैरान भएँ । होइन, घरका सबैलाई हुँदा मेरो मात्र किन यति साह्रो टाउको दुख्ने हँ ? हा, म पनि आनन्दले बस्छु ।’’

केही बेर चुप लागेर बसेँ तर फेरि भुट्भुटो भयो । लाग्यो,  "हैन, मैले पनि धर्म छाडे भने त बर्बाद हुन्छ । अहिले छोराछोरीले भोक लाग्यो आमा ! भन्छन् । वस्तुभाउ कराउन थाल्छन् ।’’

म कामकै चटारोमा अल्मलिरहेँ । मनमनै सोचेँ,  "यिनीहरुको मिटिङ उपलब्धिमूलक हुनु र देशमा परिवर्तन हुनु एकै रहेछ ।’’

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment