लेखन एक कला हो । जसबाट विचार भावना सम्प्रेषित हुन्छ । आफ्ना भावना छापामा आएपछि आफूमा सकारात्मक भाव उजागर हुन्छ भन्ने कुरा मलाई थाहा थियो ।
केटाकेटीमा त्यो समयका पत्रपत्रिकाहरू, उपन्यास, कवितासङ्ग्रह तथा कथासङ्ग्रह काका दाजु वा अग्रजहरूले घरमा ल्याउँदा पढिन्थ्यो । पुस्तकालयको किताब घरमा ल्याएर पढिन्थ्यो । त्यसले नै लेख्न प्रेरित गर्यो । स्कूले जीवनमा रेडियोमा बालकार्यक्रममा कविता वाचन गरिन्थ्यो । अरूको गीतिकथा, कथा रेडियोमा सुनेर आफूले पनि लेखेर रेडियोमा पठाइन्थ्यो, प्रसारण हुँदा खुसी लाग्थ्यो ।
विवाह पश्चात् व्यवहारिकता, आफ्नै पढाइको निरन्तरता र विद्यालयीय शिक्षणले व्यस्त बनायो । पछिल्लो समयमा दैनिक बिहान, दिउँसो र कहिले साँझ पनि प्राध्यापन, शिक्षणमा व्यस्त थिएँ । घरमा आफ्नै श्रीमान् सृजनामा लागेका हुँदा मलाई लेख्नलाई प्रेरणा जाग्थ्यो । उहाँले विविध साहित्यिक कार्यक्रममा गएर उपहारस्वरूप ल्याएका पुस्तक पढेर पनि कलम चलाउन प्रेरित गर्नु हुन्थ्यो ! कहिलेकाहीँ पत्रिकाकामा रचना प्रकाशित हुँदा खुसी हुन्थेँ ।
अहिले आएर जागिरबाट अवकाश लिएपछि सामाजिक सन्जालमा विभिन्न रचनात्मक समूहसँग जोडिंदै गएर समयलाई लेखनीतिर ढल्काउँदै छु ।
लेखन प्रक्रियाले मन हलुको अनुभूत गराउँछ । प्रकृति, मानव, वरिपरिका गतिविधिले मभित्रको भावना नै मेरा रचना भएर उत्रिन्छन् । लेख्नु मेरो बानी हो भने समाजलाई पस्किने भावना पनि हो । साहित्य रचनाको भण्डार हो । म त्यसभित्रका गुदीहरू खोतल्न अध्ययन गर्छु । त्यसबाट मभित्र नयाँ विषयको कल्पना उजागर हुन्छ । त्यसलाई नै उतार्ने प्रयास गर्छु । जीवनमा दिनरात व्यवहारमा फसिन्छ, आफ्ना इच्छा चाहना हुँदाहुँदै पनि लेखनी कार्यलाई निरन्तरता दिन नपाउँदा पनि मन दुखी हुन्छ ।
सभा समारोहमा विद्वान विदुषीहरूबाट प्रभावित भएर मभित्र नौलो भावना सिर्जित हुन्छ । खुसी हुँदा, दुःखित भएर चोट पुग्दा पनि तरङ्गहरू उर्लिन्छन् । पूर्वीय दर्शनका नैतिक ज्ञानगुनका विषयलाई पनि म विषयवस्तुको माध्यम बनाएर साहित्यमा अंगाल्छु । यसमा वैज्ञानिक दृष्टिकोण समेटी पस्कँदा अहिलेका पिँढीमा स्वीकार्यको भाव पैदा गरोस् भन्ने हेतुले लेख्छु । लेखन एउटा कला हो जसबाट विचारका भावनाहरू सम्प्रेषण हुन्छन् ।
हाम्रा अथाह संस्कार र संस्कृति जस्ले समाजलाई एकताको सूत्रमा बाँधी एकजुट बन्न सिकायो । तर, हिजोआजका कर्णधारहरूलाई यो मार्गभन्दा भिन्न बाटोमा हिंडेको स्पष्ट देखिन्छ । ती जमातमा पनि स्वान्त सुखायका माध्यमबाट केही नैतिक आदर्शका चोटिला भावहरू पस्किन लेख्छु । नैतिक आदर्शवादी समाजको अपेक्षा गर्दै लेख्छु ।
– सुकेधारा, काठमाडौँ
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


No comments:
Post a Comment