वास्तवमा मानिसको जीवन चाहेर पनि नचाहेर पनि सुख र दुःखका बादलहरुमाथि बसेर यात्रा गर्नुपर्ने हुन्छ । आफ्नो सामाजिक र आर्थिक जीवनभित्र गाँठो परेर बसेका थुप्रै गाँठोहरूलाई फुकाउँदै जीवनयात्रा तय गर्नुपर्ने हुन्छ । ती अनेकन यात्राहरूमा पाईला चालिरहँदा कैयौंपटक मानिसको मुटुभित्र रहेका भावनाहरूमा हलचल मच्चिन थाल्छ नै । मुटुभित्र लागेका चोटहरूले पीडा दिन थाल्छन् । बस्, त्यही हलचल र चोट अनि पीडाहरूले केही लेख्न थप्थपाई दिन्छ । त्यसैले आफ्नो मनको भावनाहरूलाई अक्षरको रूपमा प्रस्फुटित गर्दै लेख्ने गर्छु ।
आफूलाई केही लेखिसकेपछि सन्तोष भएको महशुस हुन्छ तसर्थ म लेख्छु । मैले आफूलाई ती भावुक मनहरूको पंक्तिमा उभ्याउने कोशिस गरिरहेकी छु । सफल हुन्छु हुँदिन त्यो समयले पक्कै पनि स्पष्टरुपमा प्रदर्शित गर्ने नै छ ।
साँच्चै भन्ने हो भने मैले साहित्यलाई आफ्नो जीवनको अभिन्न अंग बनाइसकेकी छु । मेरो सम्पूर्ण जीवन नै समर्पित गरिसकेकी छु । मेरो कलमले धेरै वर्ष पहिलेदेखि नै कथा, कविता, लघुकथा, संस्मरण, लेख आदि विधाहरूमा निरन्तर लेखिरहेको छु ।
आजका बालबालिकाहरू भोलिका कर्णधार हुन् त्यतिमात्र हैन भोलिका सशक्त नेपाली नागरिक हुन् । उनैका भविष्यलाई असल र सक्षम अनि योग्य बनाउन सक्ने माध्यम भनेको साहित्य नै हो । तसर्थ मैले चार दशकदेखि बाल साहित्यमा पनि कलम चलाउने जमर्को गरिरहेकी छु ।
यो विश्व ब्रम्हाण्ड अनन्त छ । यसको सिमा रेखाभित्र हामीले असंख्य रूपमा आफूहरूलाई आवश्यक भएका सजीव तथा निर्जीव सबैथोक सजिलैसँग पाइरहेका छौं । यसका साथसाथै मानिससँग भावनाका लहरहरू लहरिने गर्छ । मानिस सामाजिक र राजनैतिक प्राणी पनि हो । मानिससँग विवेक र विचार छ । प्राकृतिक वातावरणमा भएका दूषित क्रियाकलापहरू, समाजमा भइरहेको अन्याय, अत्याचार, राजनीतिमा घटित विकृति तथा अन्य विषयका बिसंगतिलाई लेखनको माध्यमबाट पाठकमा सजगता र चेतना जगाउनको लागि लेख्ने गर्छु ।
– बालकोट, भक्तपुर
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


No comments:
Post a Comment