Sunday, April 27, 2025

अन्तर्वार्ता (अङ्क २३ मा प्रकाशित)


लघुकथाकार किशन पौडेलको जन्म वि.सं. २०२८ भाद्र २९ गतेका दिन मकवानपुर जिल्लाको हेटौंडामा भएको हो । बालककालदेखि नै सृजनात्मक अभिरूचि भएका किशन युवा उमेरको प्रारम्भिक समयदेखि नै पत्रकारिता, फोटोग्राफी र साहित्यमा सकृय रहे । साहित्यमा काव्य र आख्यान दुबैमा समानान्तर रूपले कलम चलाउने किशन पौडेलका 'खुसी’  र 'अन्तर्दृष्टि’ दुई लघुकथाकृति सहित केही काव्यका कृतिहरू प्रकाशित भएका छन् ।

लघुकथा चौतारी, मातृभूमि साहित्य समाज र मुक्तक मञ्चस“ग आवद्ध किशन पौडेलले क्रान्तिधारा मेरठ साहित्य साधक सम्मान लगायत स्वदेशभित्र आयोजित राष्ट्रव्यापी खुल्ला प्रतियोगीताहरूमा पुरस्कृत पनि भएका छन् । हालै लघुकथा समाजले बाटुली–खिलध्वज लघुकथा सम्मानबाट लघुकथाकार किशन पौडेललाई सम्मान पनि गरेको छ । लघुकथाकार किशन पौडेलको साहित्यिक योगदान र सम्मानको सेरोफेरमा रहेर लघुकथा संसार अनलाइन पत्रिकाको लागि दीपक लोहनीले लिएको अन्तर्वार्ता यहाँ प्रस्तुत गरिएको छ । 

**************************************************************************



किशनजी, आफ्‌नो बाल्यकालको थोरै चर्चा गर्दै, तपाईं साहित्यमा कुन अभिरूचिका साथ प्रवेश गर्नु भयो ?

नमस्कार दीपक सर ! लघुकथा संसार अनलाइन मासिक पत्रिकाका लागि आफ्ना भनाईहरू राख्ने अवसर दिनु भएकोमा हार्दिक धन्यवाद ।

मेरो जन्म २०२८ सालमा  हेटौंडा नगरपालिका वडा नं ६ पुतली बजारमा भएको थियो । मध्यम स्तरको पारिवारिक माहौलमा मेरो स्कूल जीवनको सम्पूर्ण बाल्यकाल त्यही नै बित्यो । मभित्र सानैदेखि नै साहित्यिक पत्रपत्रिका पढ्ने र लेख्ने अभिरुचि थियो भने भ्रमण गर्न रुचाउने अलि बढी घुमन्ते स्वभाव पनि थियो ।

फोटोग्राफी मेरो सोख थियो । म ५ वर्षको हुँदा हजुरबुबा – हजुरआमासँग एक वर्ष भारतको कलकत्ता बसेर आएको सम्झना छ । समग्रमा भन्नुपर्दा  बाल्यकालको जीवन अलि सङ्घर्षपूर्ण नै थियो ।

म ८ कक्षा पढ्दादेखि नै कविता, गीतिकथाहरू लेख्ने गर्दथे र २०४७ सालतिर गोरखापत्र शनिबारमा पहिलो बालकविता प्रकाशित भएको थियो । सुरुमा कविता र गीतमा बढी अभिरुचि थियो । २०४८ सालतिर दुई वटा गीत लेखेको थिएँ । उक्त गीत रेडियो नेपालबाट रेकर्डिङ पनि भएको थियो । पछि २०५४/५५ तिर मधुपर्कमा गजल र गीत प्रकाशित भएको थियो । एकाध लघुकथा पनि लेख्ने गरेको थिएँ । त्यो बेला मलाई लघुकथाको सिद्धान्त चाहिँ थाहा थिएन । लेखेर आत्मसन्तुष्टि प्राप्त हुन्थ्यो भने पत्रपत्रिकामा रचनाहरू प्रकाशित हुँदा औधी खुसी प्राप्त हुन्थ्यो ।


तपाईं पत्रकारिता सहित कविता, मुक्तक, गजल र लघुकथा लेख्नु हुन्छ । हामीलाई बताइदिनू त, कुन विधा बढी सहज र प्रिय लाग्छ ?

मेरो जीवन सदैव अस्थिर रूपमा चलिरहेको छ । त्यो अहिलेसम्म पनि उस्तै छ, म कुनै पनि एउटा निश्चित विधा र रुचिमा अडिन नसक्ने व्यक्ति हुँ । समय अनुसार उमेर अनुसार मेरा सोख र रुचिहरू परिवर्तन हुँदै गए ।

पत्रकारिता पनि जीवनको एउटा अस्थिर पाटो रहन गएको थियो । २०५० साल तिरबाट एउटा प्राइभेट कम्पनीमा जागिर खान सुरु गरेको थिएँ । त्यही समयमा पत्रकारिता पनि पढ्दै थिएँ । तर मेरो रुचि चाहिँ साहित्य नै थियो । त्यो समयमा न पत्रकारिता गरेर जीवन निर्वाह गर्न सकिन्थ्यो न साहित्य लेखेर यी सबै सोख र रुचि मात्र थिए । मलाई साहित्यका सबै विधाहरू उतिकै प्रिय लाग्छ । म हाइकुदेखि नियात्रासम्म लेख्न मन पराउँछु । अबको समय स्मार्ट युगको हो । छोटा कविता र लघुकथा लेखन नै मलाई सहज र प्रियकर लाग्छ ।


नेपाली लघुकथालाई हिन्दी भाषाको माध्यमबाट भारतीय भूभागमा फैलाउने श्रेय तपाईंलाई पनि जान्छ । तपाईंको लघुकथाको हिन्दी संस्करणले भारतीय पाठकहरूलाई कति प्रभाव छोडेको महसुस गर्नुहुन्छ ?

भारतको एकाध साहित्यिक कार्यक्रममा भाग लिन जाने अवसर मिलेको थियो । त्यहाँ गएपछि मैले महसुस गरेँ भाषा महत्वपूर्ण हुँदो रहेछ । मलाई हिन्दी भाषामा लेख्ने प्रेरणा त्यहाँबाट मिल्यो र मैले आफ्ना लघुकथाहरूलाई हिन्दी भाषामा अनुवाद गर्न थाले र दिल्लीबाट प्रकाशित पनि भयो । भारतका वरिष्ठ लघुकथाकार डा. बलराम अग्रवाल सरले भूमिका लेखिदिनु भयो । प्रचारप्रसारमा मलाई अत्यन्तै सहज भयो र धेरै ठाउँमा मेरो लघुकथा कृति 'अन्तर्दृष्टि’  पुग्न सफल पनि भयो । पछि वरिष्ठ स्रष्टा श्रीओम श्रेष्ठ  'रोदन’ सरले बंगला देश र अन्य देशको साहित्यिक कार्यक्रममा जाँदा मेरो अनूदित लघुकथा लिएर जानुभएको थियो । धेरै नै प्रचारप्रसार भयो र प्रतिक्रियाहरू पनि प्राप्त हुँदै गएको छ । भारतीय पाठक र लेखकहरूबाट राम्रो प्रतिक्रिया प्राप्त हुँदा राम्रो प्रभाव छोडेको रहेछ भन्ने लाग्छ ।


वास्तवमा भारतीय लघुकथा र नेपाली लघुकथामा समानता र भिन्नताहरू के के रहेछन् ?

भारतीय लघुकथा र नेपाली लघुकथामा समानता भनेको चाहिँ लघुकथाभित्रको कथानक विषयवस्तु प्रायः उस्तै उस्तै नै देखिन्छ । भारतीय लघुकथामा शब्द सीमा अलि बढी हुन्छ त्यहाँ भित्र कहानी र कथ्य बढी हुन्छ र गम्भीर रूपमा मनभित्र प्रभाव छोड्न सफल भएको पनि देखिन्छ । कतिपय नेपाली लघुकथामा चाहिँ अलि बढी झड्का र तड्का लगाउन खोज्दा कथा चाहिँ अलिक कम भएको महसुस हुन्छ । त्यसैले कुनै कुनै लघुकथा चुट्किला जस्तो भएको देखिन्छ । भारतीय लघुकथाभन्दा केही नेपाली लघुकथा अलिक भिन्न स्वैरकल्पना, प्रतीकात्मक र बिम्बात्मक शैलीबाट पनि लेखिँदै आएको  देखिन्छ यो अत्यन्तै सुन्दर पक्ष हो यही नै भिन्नता छ ।


हालै तपाईं लघुकथा समाजबाट सम्मानित पनि हुनुभयो । यो सम्मानले तपाईंको आगामी लघुकथा लेखनमा थप कस्तो प्रभाव पार्ने छ ?

लघुकथा समाजबाट मैले नसोचेको सम्मान प्राप्त गरेको छु । यो गरिमामय पुरस्कार ग्रहण गरेपछि मलाई लघुकथा लेखनमा थप जिम्मेवार बोध भएको छ । अब लघुकथा अलि फरक शैलीबाट लेख्नुपर्छ जस्तो लाग्छ । कसैले नसोचेको कोणबाट सोचेर लेख्नु र अलि फरक स्वाद पस्कन सकेमा मात्र अब पाठकहरूको मन जित्न सकिन्छ जस्तो लाग्छ । हाम्रो समाज र हाम्रै वरिपरि धेरै विषयवस्तुहरू छन् । राजनीतिभन्दा पनि अबको लघुकथा मानवीय संवेदना र पर्यावरणलाई छुने खालको हुनुपर्छ । पुरस्कार र सम्मानले लेखनमा प्रेरणा र थप जिम्मेवारी थपिन्छ त्यसैले पुरस्कारको प्रभाव त पर्छ नै ।


लघुकथा लेखनमा सिद्धान्तको कोरा प्रभाव कति जायज कति नाजायज देख्नुहुन्छ ?

हरेक साहित्यिक विधाको सबैको एउटा निश्चित मापदण्ड र सिद्धान्त त रहेको नै हुन्छ । गजल, मुक्तक, हाइकु त सिद्धान्त मै अडेर लेख्नुपर्ने हुन्छ । कथा, लघुकथा आख्यानमा चाहिँ त्यो सिद्धान्त पूर्णतः लागू हुनुपर्छ नै भन्ने चाहिँ मलाई लाग्दैन । लघुकथा भनेर नै लेखेपछि सिद्धान्तलाई पनि हामीले ख्याल त गर्नु नै पर्छ । एउटा निश्चित सिमानाभन्दा बाहिर गयो भने त्यो लघुकथा नभएर अर्थोक अरू कुनै विधा बन्न सक्ला । मुख्यतः लघुकथाले पाठकको मन जितेर हृदयभित्र गहिरो छाप छोड्न सक्नुपर्छ । समाजलाई सचेत गर्ने सन्देश दिने र दिशानिर्देश गर्ने मुख्य उद्देश्य हुनुपर्छ भन्ने लाग्छ । सिद्धान्तहरू बिस्तारै समय सापेक्ष परिमार्जन हुँदै जान्छन् र नयाँ सिद्धान्तहरू पनि बन्दै जान्छन् ।


लघुकथा लेखनमा अबको बाटो कस्तो हुनुपर्छ ?

अबको लघुकथा लेखन युग र समय सापेक्ष अलि फरक ढङ्गबाट लेखिनु पर्छ । एउटै विषय वस्तुहरूमा मात्र केन्द्रित हुनुहुँदैन र सबै साहित्यिक पाठकहरूको लागि रुचिकर हुनुपर्छ । अहिलेको समाज अनुकूल विज्ञान–प्रविधिको युग अनुसार लेखिनुपर्छ भन्ने लाग्छ । अहिले मानवीय संवेदनशीलता खस्किँदै गएको देखिन्छ र पर्यावरणको चिन्ता पनि थपिँदै गएको छ त्यसतर्फ पनि लघुकथाकार सचेत हुनुपर्छ भन्ने मलाई लाग्छ । पाठकहरूको सोच, बिचार र चिन्तन फरक भैसकेको हुनाले त्यसै अनुसार गम्भीर रूपमा हृदयभित्र गहिरो प्रभाव छोड्ने लघुकथा लेखिनुपर्छ भन्ने मलाई लाग्छ ।


.............................................................................
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment