Monday, April 28, 2025

लघुकथा (अङ्क २३ मा प्रकाशित)


सोमनाथ अस्पतालको शैय्यामा छटपटाइरहेको थियो । उसलाई भयानक रोगले यसरी च्यापेको थियो कि गोहीको मुखमा शिकार छ । उसले आफ्नो रोग बिसेक हुने आशाका ढोकाहरू बन्द गरिसकेको थियो । मात्र उसले कल्पना गरिरहेको थियो कि अब सहज मृत्यु प्राप्त होस् । उसको कामना पूरा भइरहेको थिएन । 

उसलाई भेट्ने मान्छेको ओइरो लागिरहेको थियो । उसका आफन्तहरू, छिमेकीहरू, उसका शुभचिन्तकहरू सबै समय मिलाएर भेट्न गइरहेका थिए । उ आफूले यति धेरै मान्छेहरूको माया पाएकोमा खुसी थियो । उनीहरूको शुभभावले सोमनाथमा केही ऊर्जा थपिरहेको थियो । उ अब जीवनले गन्तव्य परिवर्तन गरेपनि दुःखी हुन सक्ने मनसायमा थिएन । 

रामनाथ उसको मिल्ने साथी हो । दुवैजनाले सँगै जागिरे जीवनको सुरुवात गरेका थिए । जन्ममितिको गडबडीका कारण केही समयको फरकमा उनीहरू अवकासमा गएका हुन । उनीहरूको अवकास पनि सँगै हुनेवाला थियो । उनीहरूले धेरै विद्यार्थीहरूलाई शिक्षाको ज्योति बालिदिए । सोमनाथलाई भेट्न आउनेमा धेरै उसले पढाएका विद्यार्थीहरू थिए । 

सोमनाथले काम गर्दाका तितामिठा पल सम्झियो । भुल्न गएका पलहरूमा रामनाथले बल थप्यो । दुवैजनाले उत्पादनमूलक जवानीका दिनको सम्झना गरे । उनीहरूले प्राप्त गरेको मान सम्मान सम्झिए । कहिलेकाहीँ भोगेको अपमान याद आयो । खुसीका पल आँखामा नाचे । दुःखका पलले सम्झनामै पनि बग्न भ्याए । हितचित्त मिल्ने साथी अस्पतालको शै®यामा हुँदा भेट्नमात्र होइन लामै बसाई बस्न आउँदा औधि आनन्द हुनेरहेछ । सोमनाथले त्यो अवसर भोग गर्न पायो । 

रामनाथले भन्यो, 'अब तिम्रो बुटीको ज्ञान कसलाई दिन्छौ ? बाले त तिमीलाई दिएका थिए । शिक्षणसँगै चलायौ बुटी बाँध्ने काम । अब त नरहने भयो नि सोमनाथ तिम्रो ज्ञान !’ रामनाथको कुराले सोमनाथ भावुक बन्यो । उसले विगत केलायो । 

उसको बाले बुटी बनाउन सिकाए पछि उसले कयौं मान्छेलाई बुटी बाँधिदियो । उसको घरमा मान्छेहरूको ताँती लाग्थ्यो । विद्यालय जाँदा झोलामा बुटीको सामाग्री कहिल्यै छुट्थेन । एक काठको टुक्रा, अगरबत्ति, सलाई, चक्कु, कपुर, बुटी बोक्ने माला सधैं भइराख्थे उसको झोलामा । शिक्षक तालिममा जाँदा पनि उसले बुटी ज्ञानलाई निरन्तरता दिइराख्यो । विद्यालयमा पनि पुग्थे विश्वस्त बिरामीहरू ।

'रामनाथ पुग्यो अब । कसैलाई सिकाउँदिन । मैले बानेका बुटीहरूमा हेडमास्टरलाई सुधार्न सक्ने गुण रहेन, त्यो तिमीले थाहा पायौ ।’ उसले आफ्नो घाँटी छाम्यो र भेटायो आफैले बाँधेको बुटी । खोलेर रामनाथको हातमा राख्दै भन्यो, 'सोमनाथको बुटी बाँध्ने ज्ञान पनि सकियो ।’ उसले आँखा चिम्लियो । रामनाथको आँखाबाट आँसु बग्न थाल्यो । 

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment