आधुनिक नेपाली कथा–परम्पराको ’यथार्थवादको युग’ (सं. १९९१–२०१९) मा कथाकार परशुराम रोका (सन् १९१८–९५) देखा परेका हुन् । उनको पहिलो प्रकाशित कथाको शीर्षक हो ’पैसा’ (सं. २००१) जुन बनारसबाट प्रकाशित हुने ’उदय’ पत्रिकाको वर्ष ७, अङ्क ११ मा छापिएको थियो । बी.ए., बी.टी. गरेका उनले नेपाल र भारतमा गरी ५२ वर्षसम्म शिक्षण कार्य गरे। उनी समाजसेवी हुनुका साथै एक कुशल शैक्षिक प्रशासक पनि थिए । उनको पुस्तकाकारमा प्रकाशित कथासङ्ग्रहहरू हुन् १) पञ्चामृत (सन् १९५०) र २) नौगेडी (सं. २०६२ : कथासङ्ग्रह) ।
परशुराम रोका नेपाली लघुकथाको प्रारम्भिक अवस्थाका अभ्यासी मात्र हुन् । 'पञ्चामृत’ कथासङग्रहको भूमिकामा सम्पादन पारसमणि प्रधानले 'चाखलाग्दा छोटकरी कथा’ भन्ने संज्ञा दिँदै लेखका छन्, ''यस्ता कथा लेख्नमा विद्वान् लेखकको कलमले कहाँसम्मन् सफलता प्राप्त गर्न सकेको छ सो ता यस पुस्तिकाको प्रचारले प्रमाण गर्ला ।“ निश्चय पनि सङ्गृहीत पाँचै कथाहरू आकारमा छोटा–छोटा नै छन् (त्यसैले ’छोटकरी कथा’ भनिएको होला), तर ती कथाहरू विशुद्ध लघुकथाको शैलीमा नभएर पनि नजिकको बान्कीमा संरचित भने छन् । प्रारम्भिक प्रयासमा यस्तो देखिनु स्वाभाविकै पनि हो । जे भए पनि कथाकारले यस सङ्ग्रहमा जुन 'मोडेल’ लाई मानक मानेका छन्, त्यसलाई नेपाली लघुकथाको एक ऐतिहासिक सत्य मान्नै पर्दछ ।
’कालेलाई डोलीमा’ दार्जिलिङमा बसोबास गर्ने निम्नवर्गका नेपालीहरूको दुर्नियतिको दुःखान्त कथा हो । रातदिन कडा परिश्रम गरेर कमाएको धेरथोर पैसाले आफ्नो छोरा कालेको बिहे मज्जासँग गरिदिने बाबुको सपना एक दिन अप्रत्याशित रूपले कसरी चकनाचूर भइदिन्छ ?
कथाको अन्तिम अंशमा भनिएको छ :
घाम डाँडामा पुगिसकेको थियो, वरिपरिका साथीहरू कसैलाई पनि बिरेले देखेन । रामु पनि त्यहाँ थिएन । दुईचार जना मानिसहरू हस्याङ र फस्याङ गर्दै पहराको फेदीतिर झर्दै थिए । बिरेले पहराको फेदी, तल मैदानमा मानिसहरू झुरुम्म थुप्रिएको पनि देख्यो, केको तमासा ? बिरेको उत्सुकता जाग्यो औ हतियार त्यहीं राखेर ऊ पनि झर्यो – तलतिरै ।
केही बेरपछि बिरे पनि तल पुग्यो मानिसको भिड अझ ठुलो भइसकेको थियो । बिरेलाई देखेर सबै जना उसैलाई उत्सुक भएर हेरिरहे । बिरे भिडभित्रै पुग्यो औ एउटा कालो मैलो लुगाको अघिल्तिर पुगेर ठिङ्ग उभियो । विस्मय चित्त, क्लान्त शरीर लिएर बिरे उभिरह्यो निकै बेर बोलेन, कसैलाई केही सोधेन, किन हो कुन्नि । एक क्षणपछि, सपनामा हिँडेझै बिरे दुई पाइला अघि बढ्यो औ त्यसले आफ्ना अघिल्तिर भएको त्यो मैलो लुगा पन्छायो । के थियो ? त्यहाँ थियो रगतमा मुछिएको उही आफ्नो काले … आँखाको तारा जीवनको सहारा ।
बिरे रोएन, कहालिएन, चटपटाएन पनि; औ त्यो पन्छाएको लुगा हातको हातैमा लिएर त्यसले निर्निमेष दृष्टिले छोराको लासलाई हेरिरह्यो सायद त्यस लासमा बिरेले खाँडीको दौरा सुरुवाल लगाएर डोलीमा चढेको आफ्नो कालेलाई देख्यो ।
कसैले त्यसलाई कानैमा पछिल्तिरबाट भन्यो – “दाइ ! खुट्टा चिप्लेर काले पहराबाट लडेछ ।“
फर्केर बिरेले देख्या रामुलाई – मैलो दौराको फेरले आँसु पुछिरहेको ।
मानवीय संवेग र संवेदनाद्वारा आख्यानको रूप प्रदान गर्न सक्ने कथाकार परशुराम रोकाको सिप यस कथामा पाउन सकिन्छ । उपर्युक्त अन्तिम वाक्यले यस कृतिलाई लघुकथाको शक्ति प्रदान गरेको छ, किनभने त्यसबाट प्रतिध्वनिको सिर्जना भएको छ ।
'कल्याण प्रतीक्षामा’ दार्शनिक चिन्तनमा आधारित कथा हो । बौद्ध दर्शनलाई कथ्य बनाएर कथाकार परशुराम रोकाले यस कथामा कल्पनाद्वारा बडो मिठो आख्यानको निर्माण गरेका छन् । गौतम बुद्धका साथ महात्मा गान्धीलाई पनि पात्र बनाइएको यस कथामा चामत्कारिक ढङ्गबाट कथाकारले मानव कल्याणसम्बन्धी गहन विचार व्यक्त गरेका छन् ।
दर्शनलाई आख्यानीकरण गर्ने कथाकारको कल्पना शक्ति अत्यन्त सशक्त छ, यो कथांश हेरौं :
“अनि के म सफल हुन सकें र ? त्यसको प्रमाण दिन्छन् मेरा देशवासीहरूले“ – एउटा काँतर स्वरका साथसाथै सौम्य मूर्ति एक जना वृद्ध अघिल्तिर देखा परे । छातीमा गोली लागेको घाउ, रगत झर्दै थियो, तपतप तर तिनी हाँसिरहेका थिए । ज्योतिर्मय पुरुषले स्नेहपूर्वक ती वुढालाई अँगालो हाले ।
रानुको विस्मित कण्ठबाट आवाज निस्क्यो “बापुजी !“ बापुजीले भने – “अँ … मेरो आदर्श पूर्ण नहुन्जेल मैले शान्ति पाउने छैन, संसारको मुक्ति छैन ।“ भगवान् बुद्धले भने ’जबसम्म मानिसले दुःखकष्टदेखि छुटकारा पाउँदैनन् तबसम्म मैले शान्ति पाउने छैन, संसारको मुक्ति छैन … मुक्ति छैन ।“ विस्मित रानुका आँखाको अघिबाट लोप भए भगवान् बुद्ध र बापुजी । अलि परबाट आएको त्यो क्षीण आवाज मात्र त्यसका कानमा बज्न लाग्यो – मुक्ति छैन … मुक्ति छैन …।
यस कथामा कथाकार परशुराम रोकाले समसामयिक भारतीय परिवेशको चित्राङ्कन गर्न दर्शनको सहायता लिएका छन् ।
परशुराम रोकाका दुई कथाहरू ’मेरो पुरानो स्कुल’ र ’ट्रेजेडी’ ठट्यौली मात्र हुन् । ठट्यौलीको लक्ष्य अन्ततः हाँसो हो जसमा कुनै प्रतिध्वनि (भ्अजय क्यगलम) हुँदैन अथवा पाठकका निमित्त थप चिन्तन गरिरहनुपर्ने कुनै प्रावधान रहँदैन । प्रसङ्ग सिद्धिनुका साथै केवल हाँसोमा ठट्यौलीको आकर्षण पनि विलयन हुन्छ । ’मेरो पुरानो स्कुल’ मा परीक्षामा नराम्रो र लज्जास्पद अङ्क ल्याएकोमा छोरालाई बेसरी गाली गर्ने बाबुले जब अन्तमा त्यो लब्धाङ्क–पत्र त आफ्नो भएको कुरा थाहा पाउँदछ, त्यही नै पाठकमा लागि हाँसो वा मनोरञ्जनको बहाना भएको कुरालाई कथात्मक ढाँचामा लिपिबद्ध गरिएको छ। त्यसरी नै ’ट्रेजेडी’ मा पनि तीन जना जँड्याहाहरू कलकत्ताको एउटा ६ तले रेस्टुराँको सबैभन्दा माथिल्लो तलामा पुग्नका लागि बडो मुस्किलले जसोतसो बल्ल पाँचौँ तलामा पुग्न लागेका हुन्छन्, कोठा खोल्ने ताल्चा तल म्यानेजरको टेबुलमै छुटेको कुरो थाहा पाउँछन् र पाठकका निम्ति हाँसोका सामग्री बन्दछ । कथात्मक ढाँचा हुनु मात्रले लघुकथा बन्दैन, न त कोरा हास्य तत्वले यस विधालाई पृष्ठपोषण गर्दछ । मुख्य कुरो यस विधामा जुन गम्भीरता हुन्छ, त्यसले पाठकलाई पाठ (त्भहत) को अदृश्य चिन्तक (ग्लकभभल त्जष्लपभच) बनाउन सक्नुपर्दछ । यो कुरो हामी यी दुवै ठट्यौलीमा किमार्थ पाउँदैनौं । एउटा कुरोचाहिँ के सत्य हो भने यी दुवैमा कथाकारले आख्यानात्मक संस्पर्श दिने प्रयास गरेका छन, तर सत्य कुरो के हो भने ठट्यौलीको परिष्कृत रूप पनि लघुकथा होइन ।
परशुराम रोकाको ’मृत्युको मुखेन्जी’ प्रायोजित कथा हो। यस कथाको अन्तिम अनुच्छेदले यस गद्यको सम्पूर्ण सौन्दर्यलाई बिटुल्याइदिएको छः
अब त्यो युवक बसेको ठाउँबाट जुरुक्क उठ्यो औ उसले गम्भीर स्वरमा मेचमा हात बजार्दै जोड दिएर भन्न लाग्यो ’वकिलसाहेव ! खालि यही कुराको निमित्त नै म यति बेर तपाईंसँग यताउताका लम्बा–चौडा कुरा गरिरहेथें। हेर्नोस् । तपाईंले तपाईंका स्त्री बालबच्चालाई बेहाल र बिचल्ली हुनुदेखि बचाउनलाई तपाईंले एउटा ’लाइफ–इन्सोरेन्स पोलिसी’ लिनुपर्छ । म स्नोपिक लाइफ–इन्सोरेन्स कम्पनीको एजेन्ट हुँ। यी कागजपत्र हेर्नोस् अनि लौ भन्नुहोस् तपाईं कति हजारको पोलिसी लिनुहुन्छ ? दश हजार ? बाह्र हजार ? पन्ध्र हजार ?
कुनै कम्पनी वा संस्थाको विज्ञापन लघुकथाको रचनाधर्मिता होइन । यसमा भएको कथात्मकता अन्तमा प्रायोजित प्रमाणित भएपछि ’डकुमेन्ट्री’ पढेको अनुभव पाठकलाई हुनु लघुकथाको उद्देश्य किमार्थ होइन ।
निष्कर्षमा के भन्न सकिन्छ भने परशुराम रोकाका लघुकथाहरू नेपाली लघुकथा–परम्पराको प्रारम्भको अवस्थाका स्वरहरू भएकाले बोलीमा केही स्पष्टता र केही अस्पष्टताहरू पनि पाइन्छन् । उनको आख्यान शैली कमजोर छैन, बरु उनले लघुकथाको मानक ’मोडेल’ पाउन नसकेका मात्र हुन् । तर पनि त्यस कालखण्डमा पनि उनको कलमले जेजस्ता तागतहरू प्रदर्शन गर्न सक्यो, त्यसको ऐतिहासिक मूल्य भने ठुलो छ ।
साभारः नेपाली लघुकथा र कथाकारहरूबाट
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


No comments:
Post a Comment