Sunday, April 27, 2025

लेख (अङ्क २३ मा प्रकाशित)


भाषाका माध्यमले गरिने जीवनजगत्‌को कलात्मक अभिव्यक्ति नै साहित्य हो । जीवनजगत् भनेको वास्तवमा यो संसार, यसको प्रकृति र यस संसारमा रहेका मानवलगायतका प्राणीहरूको जीवन हो । यही जीवनजगत्‌को अभिव्यक्ति सौन्दर्यपूर्ण भाषाका माध्यमद्वारा विभिन्न विधामा गर्न सकिन्छ । आख्यानचाहिँ त्यस्तो साहित्यिक विधा हो जसमा कुनै यथार्थ वा काल्पनिक घटनाको आधारमा पात्र चरित्रको चित्रण गरी गद्यभाषामा जीवनजगत्‌को कलात्मक अभिव्यक्ति प्रस्तुत गरिन्छ । आख्यान शब्दले अनेक रूप र आकृतिका कृतिलाई औंल्याउँछ । एक–दुई वाक्यका छोटा–छरिता कथादेखि लिएर सामान्य लमाइका कथा, उपन्यासिका, बृहत्‌काय उपन्यास मात्र होइन, नाटक, खण्डकाव्य, महाकाव्य जस्ता नानाविध साहित्यिक पाठ आख्यानका विविध अवतार हुन् । अचेल आख्यान भन्नाले कथा र उपन्यासलाई संयुक्त रूपमा बुझ्ने बुझाउने धेर चलन चलेको छ। अतः आख्यानअन्तर्गत प्रमुख शाखा मानिने उपन्यासमा जीवनजगत्‌का बृहत् विस्तृत सेरोफेरोको व्यापक चित्रण प्रस्तुत गरिन्छ भने कथामा जीवनजगत्‌का आंशिक खण्डको प्रस्तुति पाइन्छ ।

साहित्यको एउटा प्रमुख विधा मानिने आख्यानको विधिवत् व्याख्या, विश्लेषण र विवेचना गर्ने आख्यानशास्त्रको विकास भइसकेको छ । आख्यानशास्त्री जेराल्ड प्रिन्सले न्योरेटोलजी : द फर्म एण्ड फङ्सन अफ न्यारेटिभ नामक पुस्तकमा आख्यान र यसका सैद्धान्तिक पक्षबारे गहन अध्ययन प्रस्तुत गरेका छन् । कथाका संरचनामा बृहत् घटक र लघु घटक गरी दुई मुख्य घटक पाइन्छन् । माथिल्ला वा ठूला तहका घटकलाई बृहत् घटक र तल्ला वा साना तहका घटकहरूलाई लघु वा सूक्ष्म घटक भनिएको छ । यिनै बृहत् र सूक्ष्म घटकहरूको सम्मिश्रणबाट आख्यानको निर्माण हुन्छ । आख्यानका सबै लघु घटकहरू बृहत् घटकहरूमा सङ्गठित हुने हुनाले आख्यानशास्त्रले सूक्ष्म र बृहत् घटकहरूको सङ्गठनलाई कथाको संरचना मानी आख्यानमा कम्तीमा पनि दुईवटा भिन्न र स्वतन्त्र घटना र स्थिति हुनुपर्ने, घटनाले समय, ठाउँ, व्यक्ति र क्रियाकलाप आदिलाई समेट्नु पर्ने कल्पित वा यथार्थ घटना पनि प्रयुक्त हुन सक्ने तथा घटनाहरूको कालक्रमिक विन्यासद्वारा आख्यानले घटनाहरूको प्रतिनिधित्व गर्छ भन्ने जेराल्ड प्रिन्सको विचारलाई मोहनराज शर्माले उल्लेख गरेका छन् ।’

कथाको शाब्दिक अर्थ भन्नु वा बताउनु हो र कुनै पनि समाख्यानात्मक कथालाई 'कथा’ शब्दले बोध गराउँदै आएको छ। भारतीय सन्दर्भमा, यसको व्युत्पत्ति 'प्रक्रिया’ ’कथा’ 'कहा’, 'कथन’, 'कहण’, 'कहन’, 'कहानी’ रहेको भए तापनि नेपाली साहित्यमा भने 'कथा’ शब्द नै परम्परागत र आधुनिक ढङ्गका कथाको बोधको लागि सर्वसम्मत रूढ भइसकेको छ । कथा विधाको थालनी हुँदा शुरूमा यसलाई अङ्ग्रेजीमा 'सर्ट टेल’ भनियो भने पछि 'सर्ट स्टोरी’ भन्न थालियो । बङ्गलामा यसलाई 'गल्प’ नाम राखियो भने हिन्दीमा 'कहानी’ शब्दले नै यो विधा परिचित भयो । आधुनिक नेपाली कथाक्षेत्रमा सशक्त स्तम्भपुरुष मानिने गुरुप्रसाद मैनालीले 'कथा’ शब्दले नै यस आधुनिक विधालाई सम्बोधन गरे भने रूपनारायण सिंहले 'गल्प’ शब्दको प्रयोग गरेका छन् । लक्ष्मीप्रसाद देवकोटाले कथालाई 'छोटो किस्सा’ माने भने शिवकुमार राईले 'कहानी’ शब्द प्रयोग गरेको देखिन्छ । कथालाई कहीँकतै ’कुथुङ्ग्री’ पनि भनिएको सुन्न पाइन्छ भने कसैकसैले अघाडि़ 'छोटो’ विशेष जोडी 'छोटो कथा’ पनि भनेका छन् । लेख्य रूपमा आउनभन्दा अघिदेखि नै कथ्य रूपमा कथा भन्ने–सुन्ने परम्परा समाज बसिसकेको थियो। हिजोआज आख्यानात्मक रूपमा विकसित र प्रसिद्ध हुँदै आएको कथा विधाले कथ्य–श्रव्य कथा (लोककथात्मक) भन्दा बढी लेख्य–पाठ्य साहित्यिक विधालाई बुझाउँछ ।

कथाको अध्ययन–चिन्तन गर्ने पश्चिमेली अध्येताहरूले कथाको इतिहास खोतलखातल गर्ने काममा इटली, रोम, ग्रीस र इजिप्टका पुराना आख्यानहरूलाई आफ्नो अध्ययनको आधार बनाएर आधुनिक कथाको शृङ्खला खोज्ने कार्य गरेको पाइन्छ । पूर्वमा वेद, पुराण र महाभारत तथा लोककथा र नीतिकथाको आफ्नै सुदीर्घ परम्परा रहेको छ । भामहको व्याख्या तथा वाणको हर्षचरित्रम्‌मा 'आख्यायिका’ र 'कथा’को चर्चा गरिएको पाइन्छ । तथापि आज हामी जसलाई कथा भन्दैछौं यो मूलतः पाश्चात्य साहित्यकै देन हो । कथा कुनै शास्त्रीय नियम र लक्षणहरूले बाँधिएको परम्परागत विधा नभएकोले यसले निरन्तर गतिशील हुने अवसर पाएको छ। समयको परिवर्तनका साथसाथै आफूमा आवश्यक परिवर्तन ल्याउने, अनुकूलित बन्ने, लचिलो स्वभाव भएकाले कथामा परिवत्र्य साहित्यिक–रूप भेटिन्छ। लगभग डेढ दुई सय वर्षजतिको विकासक्रममा यस विधाको बाह्य र आन्तरिक संरचनामा प्रशस्त परिवर्तन आएको देखिन्छ । सभ्यताको विकासँगसँगै विश्व साहित्यमा वैदिक, उत्तरवैदिक, लोक, औपनिषदिक, पौराणिक, नीति, रोमान्सेली र स्वैरकल्पनावाधी जस्ता विविध प्रकारका कथाहरू देखिन्छन् । कथाको परम्परा पश्चिममा भन्दा पूर्वमा अधिक व्यापक र विस्तृत रूप रहेको देखिन्छ । पूर्वीय वाङमयमा कथाको बीजाङ्कुरका रूपमा ऋग्वेदमा पाइने यम–यमीको कथा, माधव र गालवको कथा, ब्राह्मण ग्रन्थ, उपनिषद्, रामायण, महाभारत तथा बौद्धग्रन्थहरूमा वर्णन भएका प्रासङ्गिक कथाहरू, जातक कथाहरू, संस्कृत साहित्यमा देखिएका पञ्चतन्त्रका कथाहरू, हितोपदेश, कथासरित्‌सागरका कथाहरूद्वारा भएको मानिन्छ । यसका अतिरिक्त लोककथा र दन्त्यकथाहरूलाई पनि आधुनिक कथाको पृष्ठभूमिका रूपमा लिन सकिन्छ ।

आधुनिक कथाको थालनी उन्नाइसौं शताब्दीमा पश्चिमी देशहरूमा भएको हो र धेरैजसो समीक्षकहरूले अमेरिकी कथाकार एलेन पोलाई नै आधुनिक कथाका जन्मदाता र प्रथम कथ्य टिप्पणीकार पनि मानेका छन् । यिनको कथा परिभाषाले कथा विधाको संक्षिप्तता, प्रभावात्मकता, समाख्यानात्मकता, स्वयंपूर्णता र कलात्मकतामाथि प्रभाव पारेको छ । कथाकार–समीक्षक पो कथालाई आधा घण्टादेखि एक–दुई घण्टासम्म पढी सकिने गद्य–रचना मान्दछन्‌; डब्ल्यू.एच. हडसनले भने कथामा एउटै विचार वा उद्देश्य रहनुपर्ने सङ्केत गर्दै चरित्रको घुइँचो, घटनाको विविधता र क्रियाकलापको जटिलता नहुने धारणा प्रस्तुत गरेको पाइन्छ । त्यसरी नै कथालाई आह्लादपूर्ण रचना, अत्यन्त चहकिलो र मर्मस्पर्शी कला ठान्ने अङ्ग्रेजी कथाकार–समीक्षक एचजी वेल्सले कथालाई भयावह र कौतूहलपूर्ण वस्तु पनि हो भनेका छन् । आधुनिक कथामा एउटै मात्र प्रधान घटना, एउटै मात्र प्रधान चरित्र, संक्षिप्तता र ठोसपना, कथावस्तुको सुसङ्गठन र प्रभावको अन्विति जस्ता मूलभूत विशेषताहरू हुनपर्ने कुरो पाश्चात्य कथालोचक जे. वर्गइसेविनले उल्लेख गरेका छन् । अतः पूर्वीय र पाश्चात्य साहित्य जगत्‌का विभिन्न विद्वान्‌हरूले विभिन्न प्रकारले कथाको परिभाषा दिँदै कथामा हुनुपर्ने लक्षण र स्वरूपबारे आ–आफ्नो अवधारणा व्यक्त गरेको पाइन्छ । कथामा विविध परिभाषाहरू प्राप्त हुँदाहुँदै पनि अहिलेको कथा सामाजिक आदर्श, सामाजिक यथार्थ तथा मनोवैज्ञानिक सत्यभन्दा धेरै अगाडि बढिसकेको छ । यसैले अबको कथा परिभाषामा मात्र नअटाएर एवम् शिल्प–सौन्दर्यसँग मात्र सम्बन्धित नरहेर विचार र चिन्तनको फाँटसम्म आइपुगेको छ भन्ने हरिप्रसाद शर्माको विचार यहाँ उल्लेखनीय रहेको देखिन्छ ।’’

साभारः University of North Bengal को वेभ साइटबाट

--------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment