Saturday, August 9, 2025

लघुकथा (अङ्क २६ मा प्रकाशित)


उनका दुई छोरा बुहारी र जेठा छोरातिरका नाति–नातिना अमेरिकामा छन् । श्रीमान् बितिसकेकाले उनी एक्लै काठमाडौँमा आफू र श्रीमान्‌ले दुःख गरेर बनाएको आफ्नै घरमा बस्दै आएकी थिइन् । कान्छो छोरोको बच्चा जन्मिएकाले बच्चाको र सुत्केरीको हेरचाह गर्न र बुहारी पनि जागिरे हुँदा बुहारी जागिर जान थालेपछि बच्चा समेत हेर्न भनेर छोराले बोलाएकोले छोरा बुहारी नाति–नातिनासँग भेटघाट हुने र उतै सँगै बस्नसमेत पाउने भएपछि खुशी हुँदै उनी अमेरिका तर्फ उडिन । गएर सबैसँग भेटघाट र छोरा बुहारी नाति–नातिनासँग रमाइलो गरी बस्दै सुत्केरी बुहारी र सानो बच्चाको स्याहार सुसारमा तल्लीन भएर लागिन् । बुहारी काममा जान थाले पछि बच्चाको पूर्ण जिम्मेवारी लिएर बच्चा स्याहारिन् । यसैबीच उनी अस्वस्थ्य हुन थालिन् । रोग निदान हुँदा निकै कडा र असाध्य देखिएको र अमेरिकामा बाहिरबाट गएका मानिसका लागि उपचार ज्यादै महँगो पर्ने हुँदा अब आमालाई उपचारका लागि नेपाल पठाउनुपर्ने भन्ने सम्बन्धमा छलफल भई नेपाल आउने कुनै मान्छेको साथ लगाई आमालाई नेपाल पठाउने र नेपालमा रहेका आफन्तको सहयोगमा उपचार गराउने निधो भई उनी कसैको साथ लागी नेपाल आईन् र आफन्तको सहयोगमा उपचार गराउन लागिन् । 

रोग असाध्य हुँदा निको हुने सम्भावना कम थियो । सुरु सुरुमा आफन्तले डाक्टर कहाँ लाने ल्याउने र डाक्टरले लेखि दिएको औषधी आफैं खाँदै उनी घरमा बस्दै थिइन् । तर पछि रोगले गाँज्दै गएपछि अब आफै उठ्न सुत्नसम्म नसक्ने भइन् । आफ्नाले छोरालाई खबर गर्दा छोराहरू हाल आउन नभ्याउने हुँदा खर्च पठाउने र आफन्तले हेरचाह गर्ने मानिस खोजी राखिदिने सल्लाह भई हेरचाहाका लागि मानिसको व्यवस्था गरियो । उनको अवस्था दिनदिनै बिग्रदै गएका कारण अब, छोराहरू आउनुपर्ने भन्ने आफन्त र छरछिमेकीहरुले निधो गरी छोरालाई सोहीअनुसार खबर गरे । उनको अवस्था ज्यादै नाजुक भएको अवस्थामा कान्छो छोरो आइपुग्यो । 

छोरो आएको देखेर आमाको अनुहार खुशीले धपक्क बल्यो र आँखाबाट बलिन्द्रधारा हर्षका आँसु बगे । जे भएपनि अन्तिम अवस्थामा छोराको मुख हेर्न पाएको र आफूलाई दागबत्ती दिन र काजक्रिया गर्न छोरो आइपुगेकोमा उनी निकै खुशी भइन् । ४/५ दिनसम्म छोरासँग लुटपुटिदैँँ बसेर छोराकै काखमा उनले संसार छोडिन् ।

छोराको कामबाट छुट्टी नमिलेकाले ४/५ दिनका लागिमात्र छुट्टी मिलाएर फर्कने टिकट समेत लिएर आएकाले आमाले संसार छोड्नु र उसको फर्कने टिकट एकै दिन परेको हुँदा आमाको पार्थिव शरीर आर्यघाटतिर लाने र उसको एयरपोर्ट जाने समयसँगै पर्न गएकोले आमालाई आर्यघाटसम्म पुर्‍याई त्यहीँ छोडी दागबत्तीसम्म दिन नभ्याई छोरो विदेश लाग्यो ।

आफूलाई दागबत्ती दिन र काजक्रिया गर्न छोरो आइपुगेकोमा सन्तोषपूर्वक प्राणत्याग गरेकी आमालाई आफूलाई आर्यघाटमा छोडेर दागबत्तीसम्म नदिई छोरो विदेश हिँडेको भने थाहा नै हुन पाएन । उनी त छोराले दागबत्ती दिनेमा ढुक्क भएर प्राणत्याग गरेकी आमा अनन्तकालसम्म सन्तोषको अनुभूति गरिरहने छिन् ।

- दक्षिणकाली नगरपालिका ९, टल्कु

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment