Wednesday, May 6, 2026

लघुकथा (अङ्क ३४ मा प्रकाशित)

बिहानीको पाखा ।

डाँडाको टुप्पोमा अड्किएको घाम बिस्तारै उज्यालो बगाउँदै तल झर्दै थियो । चिसो सिरेटो हावासँगै माटोको सोंधो गन्ध उड्दै आइरहेको थियो— तर त्यो गन्धमा पहिलेको जस्तो गाउँको चहलपहल, त्यो जीवितस्पन्दन कहीं हराउँदै गएको अनुभूति हुन्थ्यो ।

घरको आँगनमै, कुले (घरका बाबु) बारी खन्ने काँटामा निहुरिएका थिए ।
हातमा समाएको बीँडलाई उनी ढुङ्गामा ठोक्दै, धार मिलाउँदै थिए— टक्‌… टक्‌… टक्‌…
त्यो आवाज शान्त बिहानीलाई चिर्दै टाढासम्म फैलिन्थ्यो ।

हेर्दा लाग्थ्यो— बीँडको चोट ढुङ्गामा मात्र होइन,
बिस्तारै चिप्लिँदै गएको समयको कठोर सतहमै परिरहेको छ ।

आँगनको एक छेउमा पुरानो हलो ढल्किएको थियो— धुलोले ढाकिएको,
जसलाई कसैले छोएको वर्षौँ भइसकेजस्तो ।

भित्रबाट मैतीमाया फट्फटाउँदै निस्किइन्, हातमा बिरुवाको टोकरी, अनुहारमा चिन्ता र थकानको छायाँ।
“हाउ बाबु, छिटो गर्नुपर्छ ! घाम नछिप्पिँदै आज यी बिरुवा रोपिहाल्नुपर्छ ।
खै जन छैन आज… एकदिनको लागि मात्र कोही आइदिए, समयमा नै काम सकिन्थ्यो, वर्षभरिलाई ढुक्कै हुन्थ्यो।

लाठे छोराहरू परदेशमा, खेताला पाल्न गाह्रो… "परमेहरू नाचगानमै मस्त "
उनले एकछिन रोकिन्, आँगन वरिपरि हेर्दै बिस्तारै थपिन्‌—
“पहिला त यही आँगनमा हाँस्दै–गाउँदै परमा हिँड्थ्यौं… अहिले त आवाज पनि हरायो ।”

कुलेले काँटा उठाउँदै, अलि थाकेको स्वरमा भने—
“खै मेरो दुई हात, तेरो दुई… म खन्दै जान्छु, तँ रोप्दै जा ।
एकै जना भए पनि पाइए त आज सकिन्थ्यो… तर काम गर्ने हातहरू पाउनु नै गाह्रो भयो ।”

काँटाको चोट फेरि बज्यो—टक्‌…
माटो फुट्यो, तर समय अझ कडा भयो ।
त्यसैबेला, आँगनको बाटो हुँदै एक जना भद्र, सहरी अनुहारको जवान देखा पर्छ ।

“कुले काका !”
कुलेले टाउको उठाए, घामतिर एकचोटि हेरे—
“छिटो भन बाबु, घाम चढ्दैछ ।”

जवान नजिक आयो, सिधा उभिएर भन्यो—
“मेरो नाम प्रकाश कुमार क्षेत्री । म समाजसेवक हुँ ।
आजकाल कृषि क्षेत्रमा आएको ह्रासबारे जनचेतना फैलाउँदैछु…”

ऊ बोलिरह्यो—
“हाम्रो कृषि उत्पादन बढ्यो भने हामी बाहिरका वस्तुमा निर्भर हुनुपर्दैन ।
आर्थिक उन्नति हुन्छ, शुद्ध खान पनि पाइन्छ ।
हामीले आफ्नो बारी बाँझो नराखी, आफैं कृषि क्षेत्रमा लाग्नुपर्छ… मेहनत गर्नुपर्छ…”
शब्दहरू राम्रा थिए—सत्य जस्तै ।

तर त्यतिबेला, घाम झन् माथि चढ्दै थियो ।
पछाडिबाट मैतीमायाको आवाज फेरि आयो—
“हाउ, अब अलिकति मात्रै समय छ ! ढिलो भयो भने बिरुवा सुक्छ ।

एकजना खेताला भए पनि कति सजिलो हुन्थ्यो…”
उनले टोकरी भुइँमा राख्दै, कुलेलाई हतार गरिन्‌— “ल, जाऔँ… जाऔँ !”

कुलेले काँटा एकपटक जोडले ढुङ्गामा ठोक्यो—टक् !

त्यो आवाज यसपटक गहिरो थियो ।
उसले प्रकाशतिर फर्केर भन्यो—
“हजुरको कुरा ठिक हो…
तर अहिले—हामीलाई शब्द होइन, हात चाहिएको छ ।

हामी त बारीतिर लाग्यौं…
तपाईं कता?”
आँगन एकाएक मौन भयो ।
प्रकाश केहीबेर उभिरह्यो ।

उसले आफ्ना सफा जुत्ता हेर्‍यो— माटोको एक थोपा पनि लागेको थिएन ।
अनि कुलेका च्यातिएका चप्पलतिर नजर गयो— जहाँ माटो मात्र लागेको थियो ।

बिहानीको घाम तीनै जनामाथि बराबरीसँग परिरहेको थियो ।

- गान्तोक, सिक्किम

--------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment