तेस्रो दिन पनि सुन्दरीले केही खाइन ।
रुखका हाँगाहरूमा फलहरू झुन्डिएका थिए, खोलाले आफ्नै लयमा गीत गाइरहेको थियो, तर उसका लागि जङ्गलको हरियाली पनि शोककै रङमा डुबेको थियो ।
त्यही सालको रुखमुनि अझै केही रौँ र रगतका दागहरू बाँकी थिए—उसका जीवनसाथी सुन्दरका अन्तिम चिनारी । केही दिनअघि बारुदको एउटा गर्जनले उनीहरूको आश्रय मात्र होइन, एउटा प्रेमिल संसार पनि भत्काएको थियो । घाइते सुन्दर भुइँमा छटपटाइरहेको बेला सिकारीले बन्दुकको कुन्दाले उसको टाउको कुल्चेको दृश्य सुन्दरीको स्मृतिमा ढुङ्गामा कुँदिएको अक्षरझैँ अमिट थियो ।
सुन्दरी भने घना पात र हाँगाहरूको ओटमा लुकेर बाँचेकी थिई ।
तेस्रो बिहान फेरि त्यही पाइला सुनियो ।
उही काँध । उही बन्दुक । उही हिंस्रक दृष्टि ।
सुन्दरीको मौनता अचानक ज्वालामुखी बन्यो । एकाएक रूखको अग्लो हाँगाबाट ऊ बिजुलीझैँ फुत्त ओर्ली र सिकारीमाथि जाइलागी । उसका बलिया पञ्जाले अनुहार च्यातिदिए, धारिला दाँतले काँध र घाँटीमा गहिरा डाम पारिदिए । सिकारी पीडाले चिच्याउँदै लड्यो । बन्दुक हातबाट फुत्कियो । सुन्दरीले फेरि झम्टेर उसका दुवै आँखामा निर्मम प्रहार गरिन् ।
क्षणभरमै संसार उसका लागि अन्धकार बन्यो ।
आँखा गुमाएको सिकारी दिशाहीन भएर जङ्गलभित्र अलमलिन थाल्यो । जङ्गलले भने उसलाई राम्ररी चिनेको थियो । झाडीहरू मौन थिए, रूखहरू निस्पृह । केहीबेरपछि स्यालहरूको करुण हाँसो सुनियो, अनि जङ्गली कुकुरहरूको हुइयाँले जङ्गल थरथरायो ।
जङ्गल फेरि शान्त भयो ।
सुन्दरी धेरैबेरसम्म सालको सबैभन्दा अग्लो हाँगामा निस्पन्द बसेर टाढाको क्षितिज हेरिरही । उसका आँखामा विजयको उन्माद थिएन; केवल एउटा अथाह थकान थियो । त्यसपछि उसले एउटा पाकेको जङ्गली फल टिपी ।
तीन दिनपछि पहिलो गाँस मुखमा हालिन् ।
सायद भोक मरेको थिएन; न्यायको प्रतीक्षा मात्र थियो ।
वनमा त्यस दिन कसैले कुनै उत्सव मनाएन । तर हावाले रूखका पातहरू हल्का हल्लाउँदै एउटा अनकथित सत्य फुसफुसायो—
प्रकृतिले कहिल्यै प्रतिशोध लिँदैन; प्रकृतिले केवल प्रत्येक कर्मलाई आफ्नै प्रतिध्वनि फर्काइ दिन्छ ।


No comments:
Post a Comment