किन लेख्छु भनुँ खै ! कस्तो अचम्मको प्रश्न है, तपाईंको ! लेख्नुको पनि कारण हुन्छ र ?
त्यसो त होला हुनेहरूको । समाज रूपान्तरण गर्ने लक्ष्य होला, आदर्श स्थापनाको लक्ष्य होला । होलान् अरू पनि । पूर्वीय काव्यशास्त्रमा भनिएकै छ साहित्यको हेतु धर्म, अर्थ, काम, मोक्ष हो भनेर ।
मलाई लाग्दैन म धर्मका निम्ति लेखिरहेको छु र धर्मका लागि लेख्छु । यदि म धर्मका लागि लेख्छु भन्छु भने मलाई लाग्छ म आफूलाई ठगिरहेको छु, हुन्छु । मेरो लेखनमा त्यस्तो के छ र जसले धर्ममार्ग प्रशस्त गरोस् ? त्यसैले मलाई लाग्दैन म धर्म प्राप्तिका निम्ति लेखिरहेको छु ।
अर्थ ? हो यदि पाउँछु भने म अर्थका निम्ति लेखिरहेको छु भनेर भन्नेछु । तर सुकैजसो पनि पो पाएको छैन त आजसम्म लेखेर । अनि कसरी भनूँ कि म अर्थका लागि लेखिरहेको छु । म यदि अर्थका लागि लेखिरहेको हुन्छु भने त्यो हुनु पनि पर्यो व्यवसायिक । बिक्दो हो त प्रकाशक उत्साहित भएरै भन्दो हो "ले भाइ गरी खा । मलाई पनि गरीखान दे । दे पाण्डुलिपि ।” मैले त आजसम्म “लौ न हजुर ! मेरो पाण्डुलिपि छापिदेऊ” भनेर करबद्ध विन्ति गर्नु परिरहेकै छ । धन्न “पैसा लगानी गर्छस्” भन्दैनन्, भनिरहेका छैनन् र मात्रै नत्र म बबुरो ‘पातालमा बिलाउने रोग’ जस्तै कहिल्यै नदेखिने गरेर हराउने थिएँ पाण्डुलिपि बोकेर । मेरो लेखाइको उद्देश्य अर्थसर्थ केही होइन, हुन सकेको छैन । कुनै दिन भएछ भने भनुँला फूर्ति लगाएर कि “हेर् भाइ ! मेरा शब्द पनि बिक्न थालेछन् । म पनि व्यवसायिक लेखक बनें । यस खुसीमा के खान्छस् ? चिया कि चियासिया ?”
काम ? हेर्नुस् हजुर ! मैले जस्तो अर्थ न बर्थको लेखेर यशको कामना गर्नु पनि डोकोमा दूध दुहुनु जस्तै त होला । अनि यस्तो कामना, यस्तो अपेक्षा किन गर्नु त मैले ? र हो भने त हुनुपर्ने हो नि केही न केही । मैले नलेख्दा ज–जसले चिन्थे चिन्छन् आजपनि त्यत्तिले…। अनि कसरी कामको प्राप्ति भयो त ? भएन भने त्यस्तो नभएको कुराका लागि म यसका लागि लेखिरहेको छु भनेर किन लाज पचाउनु । भो छाडिदिनुहोस् यस्ता कुरा । म कामका लागि लेखिरहेको छैन भनेपछि टन्टै साफ ।
मोक्ष? मैले न पाप गरेको छु, न मोक्षको कामना छ । मलाई स्वर्गप्रति विश्वास छैन । यदि स्वर्ग छ भने यही स्वर्ग हो र छैन भने मैले कामना गरेर पनि प्राप्त हुने होइन । अनि नहुने कुराको अपेक्षा किन गरूँ ! मोक्षको कामना किन गरूँ !
सम्पादक महोदय ! तपाईंलाई यस्तो अभिव्यक्तिको अपेक्षा थिएन? छापुँ कि नछापुँ भनेर कपाल कन्याउनु भएको ? नछापे नछाप्नु, के त !
ठूला कुरा गरेर मात्र हुन्छ ! हुनखान केही छैन । बड्का आदर्शका कुरा कहाँबाट गरूँ यार ! हुँदैन मबाट … ।


No comments:
Post a Comment