Monday, July 13, 2026

लघुकथा (अङ्क ३६ मा प्रकाशित)


रूख पर्वतको काखमा एउटा बूढो पीपल उभिएको थियो । प्रत्येक शरदमा त्यसका पात झर्थे, तर एउटा हाँगोमा एउटा मात्र पात अन्तिमसम्म अडिग रहन्थ्यो । गाउँलेहरू भन्थे त्यो पात कसैको प्रतीक्षा हो । वर्षौं पछि त्यही पीपलको फेदमा एक युवक अर्चिसले काई लागेको ढुङ्गा मुनि सानो काठको बाकस भेट्टायो । 

बाकसभित्र एउटा सुकेको पीपलको पात र एउटा चिठी थियो । चिठीमा लेखिएको थियो—“अनुगुञ्ज, प्रेमसँग मिलनको कुनै करार हुँदैन । नदी समुद्रसम्म पुग्छ, तर बादल बनेर फेरि त्यही पहाडमा फर्किन्छ । यदि कुनै दिन तिमी आयौ भने, यो पातसँग अर्को पात राखिदिनू । तब म बुझ्नेछु समयले शरीर छुटायो, प्रतीक्षा होइन ।’’ चिठीको मिति— तीस वर्षअघिको । 

अर्चिसको मन अनायासै काँप्यो । उसले बाकसको तल अर्को तह देख्यो । त्यहाँ पहिले देखि नै अर्को सुकेको पात राखिएको थियो । त्यसको मुनि एउटै वाक्य थियो— “म आएकी थिएँ । तिमी नभेटिए पछि यो पात राखेर फर्किएँ । त्यसपछि थाहा पाएँ— तिमी त यही पीपल बनेर मलाई पर्खिरहेका रहेछौ ।’’ अर्चिसले अकस्मात् माथि हेर्‍यो । त्यही अन्तिम पात हावामा हल्का काँप्यो, अनि बिस्तारै छुट्टिएर दुवै सुकेका पात माथि आइपुग्यो । त्यस क्षण उसले बुझ्यो— कतिपय प्रेम मानिस भएर पूरा हुँदैनन्‌; प्रकृति भएर अनन्त हुन्छन् ।

- बौद्ध कुमारीगाल, काठमाडौँ

--------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment