Monday, July 13, 2026

लघुकथा (अङ्क ३६ मा प्रकाशित)


त्यो साँझ बाहिर मुसलधारे पानी परिरहेको थियो, तर सुकेतुको मनभित्र भने एउटा अनौठो डढेलो सल्किएको थियो । उनी सोफामा बसेर भित्ताको घडी हेरिरहेका थिए । घडीको सुइले ठिक १० बजायो— ठ्याक्कै त्यही समय, जब उनको घरको ढोका बाहिर एउटा अपरिचित गाडी रोकियो ।

श्रीमती मनिषा भित्र पसिन् । उनको सारीका फेरहरू अलिकति अस्तव्यस्त थिए, आँखामा एउटा यस्तो चमक थियो जुन सुकेतुले पछिल्लो पाँच वर्षमा देखेका थिएनन् ।

“आज फेरि अबेर भयो ?’’ सुकेतुले शान्त स्वरमा सोधे ।

“हो, अफिसको काम… तिमीलाई थाहै छ नि,’’ मनिषाले नजर जुधाइनन् । उनले हतार–हतार आफ्नो ब्याग एउटा कुनामा राखिन्, जसमा एउटा विदेशी परफ्युमको मन्द सुगन्ध उडिरहेको थियो । त्यो सुगन्ध सुकेतुको थिएन ।

सुकेतुले ओछ्यानमा पल्टिएर आँखा चिम्ले । उनलाई महसुस भइरहेको थियो— एउटै घर, एउटै कोठा, तर मनिषाको शरीरमा कतै अर्को मान्छेको स्पर्श जीवित थियो । उनलाई लाग्यो, मनिषाले आफ्नो शरीर त घर ल्याइन्, तर उनको ॅलोग्ने’ को अधिकार कतै अर्कै ओछ्यानमा सुतेर आएको छ ।

“मनिषा,’’ सुकेतुले बिस्तारै बोलाए ।

“उम्‌?’’

“आज ऐना हेर्दा तिमीलाई कस्तो लाग्यो ?’’

मनिषा झस्किइन् । “किन र? केही भएको छ र मेरो अनुहारमा ?’’

“केही भएको छैन,’’ सुकेतुको स्वरमा एउटा चिसोपन थियो, “तर मलाई अचम्म लाग्छ । मेरो सिन्दूर तिम्रो निधारमा छ, मेरो नामको मंगलसूत्र तिम्रो गलामा छ, तर तिम्रो मुस्कानको स्रोत अर्कै छ । तिम्रो ओठले मेरो नाम लिन्छ, तर तिम्रो मौनताले अर्कै कसैलाई पुकार्छ ।’’

कोठामा सन्नाटा छायो । मनिषाको हातमा रहेको साँचोको झुप्पो भुइँमा खस्यो ।

“सम्बन्धको परिभाषा के हो मनिषा ?’’ सुकेतु उठेर उनीतिर हेर्दै अगाडि बढे । “कानुनी कागजमा म तिम्रो लोग्ने हुँ । समाजका लागि म तिम्रो लोग्ने हुँ । तर तिम्रो मनको त्यो अँध्यारो कोठामा, जहाँ तिमी आफ्नो असली रूपमा हुन्छौ, त्यहाँ 'मेरी स्वास्नीको लोग्ने' अर्कै कोही छ । म त केवल एउटा सुरक्षा गार्ड हुँ, जसले तिम्रो त्यो अवैध संसारलाई वैधताको खोल ओढाइदिएको छ ।’’

मनिषाका खुट्टा लगलग काँप्न थाले । उनले केही बोल्न खोजिन्, तर शब्दहरू घाँटीमै अड्किए ।

“तिमीले मलाई धोका दिएकोमा मलाई चोट लागेको छैन,’’ सुकेतुले मनिषाको आँखामा हेर्दै अन्तिम प्रहार गरे, “मलाई त यो सोचेर दया लागिरहेछ कि तिमी हरेक रात एउटा लोग्नेसँग सुतेर अर्को लोग्नेको सपना देख्छौ । तिम्रो आत्मा कति विभाजित होला? एउटा शरीरले कतिवटा झुट धान्न सक्छ ?’’

बाहिर वर्षा थामिएको थियो, तर कोठाभित्र एउटा सिंगो संसार ढलिसकेको थियो । सुकेतु अर्को कोठातिर लागे, मनिषालाई त्यही ऐनाको अगाडि छोडेर— जहाँ उनले आफ्नो अनुहारमा आफ्नै लोग्ने होइन, एउटा ॅअपरिचित’ को छाया देखिरहेकी थिइन् ।

- इटहरी, सुनसरी

--------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment