असारको दोस्रो सातासमेत बित्न लाग्यो, तर गाउँको आकाश नीलो काँचझैँ खाली थियो । खेतहरूमा हरियालीको गीत गुञ्जिनुपर्ने बेला चर्किएको माटोका धर्साहरूले खडेरीको कथा सुनाइरहेका थिए ।
किसान रामबहादुर हरेक बिहान सूर्योदयभन्दा पहिले खेतको डिलमा पुग्थे । टाढासम्म फैलिएको आफ्नै खेतलाई हेर्दा उनको मन पनि माटोजस्तै फाटेको अनुभूति हुन्थ्यो । हातले माटो समाउँदै उनी बिस्तारै भन्थे, “एक झरी पानी परिदिए पुग्थ्यो…”
तर उनको आवाज हावासँगै हराउँथ्यो ।
घरमा श्रीमतीले चुल्होमा आगो सल्काउँदै सोधिन्,
“धानको ब्याड राख्ने बेला त बित्न थाल्यो, अब के गर्ने?”
रामबहादुर केही क्षण मौन रहे । त्यसपछि मुस्कानजस्तो देखिने एउटा पीडा ओठमा ल्याउँदै भने, “किसानसँग आशाबाहेक अरू के हुन्छ र ?”
गोदाममा राखिएको बीउ दिनदिनै सुक्दै थियो । मलको बोरा कुनामा थन्किएको थियो । सहकारीबाट लिएको ऋणको म्याद नजिकिँदै थियो । छोराले विद्यालयको शुल्कको कुरा गर्दा उनले झ्यालतिर फर्केर हेरे—जवाफ दिन शब्द थिएनन् ।
हाल : नेपालगञ्ज
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


No comments:
Post a Comment